भन्सार छल्न खोज्ने ट्रकसहित १५ लाख बढीको सामान बरामद

असोज ३१, २०७५

बुटवल – सशस्त्र प्रहरी बल नेपाल, राजस्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधवार भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । 

पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।


ADVERTISEMENT

भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १ सय ४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २ सय ९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिएको हो । 

पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो । 

सामान ढुवानीमा प्रयोग गरेको ट्रकसहित भन्सार मूल्य १५ लाख ३४ हजार ३ सय रुपैयाँ मूल्य बराबरको सामान तथा सवारीसाधन बरामद गरी बुधवारै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

भन्सार चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाएको नम्बर ३८ गुल्म रुपन्देहीले पहिल्लो आर्थिक वर्ष २०७५÷०७६ को ३ महिना साउनदेखि असोजसम्म ९१ लाख ५८ हजार ८ सय ३६ रुपैयाँ मूल्य बराबरको अवैध सामान नियन्त्रण गरी भन्सार चलान गरेको छ । 

असोज ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस