गजल - नसोध न प्रिय तिम्रो कस्तो चाल छ ?

कात्तिक ३, २०७५

नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!

उता बरु ठिकै होला,  यता झन् बेहाल छ !!


ADVERTISEMENT

 

बुढा बाबु कुर्दै होलान आगनिको डिलमा बसी 

फर्कीएन छोरो भन्दै पराइको देशमा पसी  

फर्किने त टुंगो छैन, अझै कति साल छ 

नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!

 

मरुभूमिको हावा पनी वास् वास् गनाउने 

अत्तोपत्तो हुन्न रहेछ चाडपर्व मनाउने  

वर-पीपल नी छैनन् यहाँ न त कुनै ताल छ 

नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!

 

सधैसधा याद आउछ हिमाल पहाड तराइको

हाम्रो जस्तो हुन्न रहेछ धड्कन मुटु पराइको 

सोचे जस्तो होइन  रहेछ विदेश त काल छ 

नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !! 

 

भर्ने कुरा छैन होला साझ-बिहान कराइमा 

मुटु दुख्छ विस्तारवादले सिमा मिच्दा तराइमा 

उता तिमि भन्दै छेउ नी घरमा रित्तो थाल छ 

नसोध न प्रिय तिमी, तिम्रो कस्तो चाल छ !!

उता बरु ठिकै होला,  यता झन् बेहाल छ !!


–दिलीप भुसाल, नयाँ दिल्ली 

कात्तिक ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस