मुख्यमन्त्रीकै अगाडि प्रदेश २ को सरकारलाई प्रचण्डको चेतावनी : ओभरटेक नगर्नुहोस्

फाइल तस्बिर
कात्तिक ६, २०७५

जनकपुरधाम– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्र सरकारलाई ओभरटेक नगर्न प्रदेश नम्बर २ सरकारलाई ‘चेतावनी’ दिएका छन् । 

मंगलवार जनकपुरमा आयोजित नेकपा प्रदेश नम्बर २ को कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले केन्द्र सरकारलाई ओभरटेक नगर्न प्रदेश सरकारलाई चेतावनी दिएका हुन् । 


ADVERTISEMENT

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत समेत सहभागी कार्यक्रममा प्रचण्डले प्रदेश प्रहरी ऐन बनाउन प्रदेश सरकारले केन्द्र सरकारलाई ओभरटेक गर्न खोजेको भन्दै त्यसले दुर्घटना निम्त्याउन सक्ने बताए । 

‘यहाँ प्रदेश प्रहरी ऐन बनाउने विषय राष्ट्रिय रुपमा चर्चामा आएको छ । संविधानले पहिला संघीय प्रहरी ऐन बनाउने र त्यसअन्तर्गत प्रदेशले आवश्यकताअनुसार प्रदेश ऐन बनाउने व्यवस्था गरेको छ,’ प्रचण्डले भने, ‘संघीय प्रहरी ऐन बनाउन केही ढिला भएको पक्कै छ । तर, नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ । म मुख्यमन्त्री ज्यूलाई भन्न चाहन्छु तपाईँले ओभरटेक गर्न थाल्नुहुन्छ भने दुर्घटनाको खतरा हुन्छ ।’

नेकपा अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीको मागप्रति आफू गम्भीर रहेको बताउँदै दुर्घटना हुने गरी केन्द्र सरकारलाई ओभरटेक नगर्न राउतलाई अग्रह गरे । 

सबै प्रदेशलाई कर्मचारीको अभाव भएको उल्लेख गर्दै प्रचण्डले त्यसप्रति आफू गम्भीर भएको बताए । केही मानिसहरु अझै पनि संघीयतालाई असफल पार्नका लागि प्रदेश सरकार ‘निकम्मा’ भएको भन्दै प्रचार गर्नमा उद्द भएको प्रचण्डको भनाइ थियो । 
 

कात्तिक ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस