के छ ब्रह्मवैवर्त पुराणमा ?

कात्तिक १०, २०७५

पौराणिक दर्शनमा ब्रह्मवैवर्त पुराणको छुट्टै विशेषता छ । महापुराणको पंक्तिमा पर्ने यो पुराणले सारा जगतलाई भगवान् कृष्णको विवर्त मानेको छ । यस पुराणका अनुसार जगत् आफैंमा केही पनि होइन । केवल भ्रमका कारण भगवान् कृष्णमा आरोपित हुन पुगेकाले सत्य जस्तो प्रतीत भएको मात्र हो । 

अठार पुराणमा गणनाको हिसाबले यो पुराण दशौं स्थानमा पर्छ । खासगरी यो पुराण विष्णुभक्तिपरक पुराण हो । त्यसैले यस पुराणलाई वैष्णव पुराण भन्ने गरिएको छ । यस पुराणमा चार खण्ड छन्, जसमा ब्रह्मखण्ड, प्रकृतिखण्ड, गणपतिखण्ड र कृष्णजन्मखण्ड पर्छन् । यीमध्ये कृष्णजन्मखण्ड दुई भागमा विभाजित छ । यसको पूर्वार्धलाई पूर्वखण्ड र उत्तरार्धलाई उत्तरखण्ड भनिन्छ । 


ADVERTISEMENT

विषयवस्तुको हिसाबले कतिपय प्रसङ्ग श्रीमद्भागवत महापुराणसित मिल्दोजुल्दो देखिन्छ तर भिन्नताबोध गराउने प्रसङ्ग पनि त्यत्तिकै छन् । कुल २७६ अध्यायले युक्त यस पुराणको ब्रह्मखण्डमा ३० अध्याय छन् भने गणपतिखण्डमा ४६ अध्याय छन् । त्यस्तै प्रकृतिखण्डमा ६७ अध्याय र कृष्णजन्मखण्डको पूर्वार्धमा ५४ तथा उत्तरार्धमा ७९ अध्याय  छन् । नारदपुराण र श्रीमद्भागवतमा यस पुराणको श्लोक संख्या १८ हजार उल्लेख छ तर हाल उपलब्ध पुराणमा श्लोकसंख्या केही न्यून रहेको कल्याण पुराण कथाङ्कबाट थाहा हुन्छ । 

वस्तुतः ब्रह्मवैवर्त पुराणको प्रमुख प्रतिपाद्य विषय भगवान् कृष्ण र उनको अन्तरङ्ग शक्ति राधा हुन् । कृष्णभक्तिको बेजोड नमूना मानिएको यस पुराणले भगवान् कृष्णलाई पूर्णब्रह्म परमात्माको विशेष रूपमा प्रस्तुत गरेको छ । कात्तिक महिना राधा–दामोदरको महिना हो । यस महिनाका देवता दामोदर हुन् भने मासदेवीको नाम राधा हो । दामोदर भनेको कृष्णकै अर्को नाम हो । त्यसैले यो महिना भगवान् कृष्णसित विशेष सम्बन्धित छ । 

यसै महिनाको पूर्णिमाको रातमा कृष्णले राधाका साथमा रासलीला रचेका थिए । यसको प्रशंसा स्वर्गमा बस्ने देवताहरूले समेत गरेका छन् । हुन पनि यो रात भनेको त्यस्तो रात हो, जहाँ भक्तले भगवानलाई जितेका छन् भने कामदेवले हारेका छन् । सृष्टिमा अहिलेसम्म कामदेव दु्ईपटक हारेका छन् । सत्ययुगमा देवाधिदेव महादेवसित हारेका छन् भने द्वापरयुगमा भगवान् कृष्णसित । 

भागवतमा कृष्ण परमेश्वरको पूर्णावतार मानिएका छन् । भगवानका अन्य अवतार छन् १२ कलाभन्दा तलकै छन् । उनीहरूमध्ये कतिलाई अंशावतार, कतिलाई कलावतार र कतिलाई आवेशावतार भनिन्छ तर कृष्ण भने १६ कलाले  युक्त छन् । त्यसैले उनी पूर्णावतार मानिएका हुन् । अझ व्यासजीले भागवतमा कतिसम्म भनेका छन् भने कृष्ण भगवानको अवतार होइनन्, स्वयं भगवान् नै हुन् । ब्रह्मवैर्वर्त पुराणले तिनै भगवान् कृष्ण र उनको अन्तरङ्ग शक्ति राधाको विशेष गुणगान गरेको छ । यसको करीब दुईतिहाइ भाग राधा–कृष्णसितै सम्बन्धित छ । बाँकी एक भागमा मात्र पुराणका पञ्चलक्षण सम्बन्धी अन्य विषयवस्तुले स्थान पाएका छन् । 

परब्रह्म, परमात्मा तथा भगवान् एउटै अद्वैत परमसत्ताका विविध नाम हुन् । तिनै परब्रह्म वा परमात्मा नै भगवान् कृष्ण हुन् भन्ने ब्रह्मवैवर्त पुराणले निष्कर्ष छ । यसअनुसार भगवान् कृष्ण कर्तुम् अकर्तुम् अन्यथा कर्तुम् समर्थ छन् । उनी टाढाभन्दा टाढा पनि छन् । नजिकभन्दा नजिक पनि छन् । ठूलाभन्दा ठूला पनि छन् सानाभन्दा साना पनि छन् । उनी जगत् कल्याणका लागि आवश्यकता अनुसार जतिबेला जस्तो पर्छ त्यस्तै रूप धारण गर्छन् । कहिले ब्रह्मा बन्छन् कहिले विष्णु बन्छन् । कहिले शिव, शङ्कर वा महादेव र गणेश, सूर्य आदि विभिन्न रूपमा प्रकट भइरहेका हुन्छन् । 

ब्रह्म भनेका पनि उनै हुन् परब्रह्म भनेका पनि उनै हुन् । विष्णु भनेका पनि उनै हुन् महाविष्णु भनेका पनि उनै हुन् । ईश्वर भनेका पनि उनै हुन् परमेश्वर वा महेश्वर भनेका पनि उनै हुन् । सत्व, रज, तम भनेका पनि उनै हुन् । आधुनिक विज्ञानको भाषामा न्यूट्रोन, प्रोटोन, इलेक्ट्रोन भनेका पनि उनै हुन् । पदार्थका ठोस, तरल र ग्यास तीन रूप भनेका पनि उनै हुन् जाग्रत, स्वप्न, सुषुप्ति भनेका र विश्व, तैजस, प्राज्ञ भनेका पनि उनै हुन् । महाकाली, महालक्ष्मी, महासरस्वती, दुर्गा, सावित्री आदि जति पनि नारी शक्ति छन् ती भनेका पनि उनै कृष्णका अन्तरङ्ग शक्ति राधाका विविध रूप हुन् । एउटै परमतत्त्व र उनका शक्ति नै विविध रूपमा प्रकट भई चराचर जगतलाई धारण गर्दै आएका छन्  । 

यस पुराणका अनुसार, सृष्टिपूर्व उनै कृष्णरूप परब्रह्म परमात्मा बाहेक केही पनि थिएन । उनी पनि परमाणु रूपले घोर अन्धकारको गर्तमा निदाइरहेका थिए । जब सृष्टिको बेला आयो उनले आफ्नो शरीर विस्फोट गरी दुई भागमा विभक्त गरे, जसलाई प्रकृति र पुरुष भनिन्छ । उनको दाहिने अङ्गलाई पुरुष भनिएको छ भने बाँया अङ्गलाई प्रकृति भनिएको छ । मूल प्रकृतिको रूपमा प्रतिष्ठित सोही वाम अङ्ग नै राधा हुन् । तिनै ब्रह्मरूपा सनातनी शक्ति राधाले नै पाँचभागमा विभाजित भई माहेश्वरी मर्यादा पालन गर्दै आएकी छन् । शिवस्वरूपा नारायणी तथा पूर्णब्रह्मस्वरूपिणी भगवती दुर्गा वा महाकाली भनेका पनि उनै हुन्, समग्र सम्पत्तिकी अधिष्ठात्री देवी महालक्ष्मी भनेका पनि उनै हुन् । 

त्यस्तै वाणी, विद्या, बुद्धि र ज्ञानकी अधिष्ठात्री देवी महासरस्वती भनेका पनि उनै हुन्, ब्रह्मतेजसम्पन्न शुद्ध सत्त्वमयी ब्रह्मी शक्ति सावित्री तथा प्राण र प्रेमका अधिष्ठात्री देवी राधा भनेका पनि उनै हुन् । संसारमा जति पनि स्त्रीत्व शक्ति छन् ती सबै यिनै मूल प्रकृति राधाकै विविध अङ्ग हुन् राधा र भगवान् कृष्ण एक अर्कोमा अनुस्युत हुन पुगेका छन् । ब्रह्मवैवर्त पुराणको विशेषता भनेकै सरल तरिकाले यी र यस्तै यस्तै उनै भगवान् कृष्णको विशेषता बताउनु हो ।     

प्रायः पुराणहरूको नाम कि वक्ताको नामबाट राखिएको छ कि श्रोताको नामबाट तर यस पुराणको नाम भने वक्ता र श्रोताको नामबाट नभई उसको प्रतिपाद्य विषयवस्तुको आधारमा चयन भएको छ । यस पुराणले संसारमा सर्वत्र ब्रह्म नै व्यापक रूपले रहेका छन् भन्ने सन्देश दिएकाले त्यसैको आधारमा पुराणको नाम ब्रह्मवैर्वर्त राखिएको हो भन्ने विद्वानहरूको कथन छ । 

यस पुराणको वक्ता सूतपुत्र सौति रहेका छन् भने श्रोता शौनकजी । प्रायः पुराणका वक्ता सूत नै रहेका छन् । उनी अग्निकुण्डबाट निस्केका अयोनिज हुन् । यज्ञमा दिइएको देवगुरु बृहस्पतिको भाग व्यतिक्रम भई देवराज इन्द्रलाई पर्न जाँदा उनको उत्पत्ति भएको थियो । यसैकारण लक्षणाको आधारमा उनलाई सूत भनिएको हो । उनलाई पुराणको विशेष ज्ञाता मानिन्छ । व्यासजीले सर्वप्रथम पुराणहरूको अध्यायन उनैलाई गराएका थिए । 

नैमिषारण्य क्षेत्रमा पुराणवाचन गरिरहेका बेला परिबन्दवश देवकी पुत्र बलरामको हातबाट उनको मृत्यु भएकाले  बाँकी पुराण उनका पुत्र सौतिले सुनाएका थिए । प्रस्तुत ब्रह्मवैवर्त पुराण पनि यसैभित्र पर्छ । यस पुराणको उठान पनि नैमिषारण्य क्षेत्रबाटै भएको छ र समापन पनि नैमिषारण्यमै भएको छ ।  यस पुराणको हाल व्यावहारिक प्रचनल त्यति बढी नदेखिएपनि महत्त्व भने अन्य पुराणका भन्दा कत्ति कम छैन । बरू कतिपय प्रसङ्गमा बढी नै रहेको देखिन्छ ।

कात्तिक १०, २०७५ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस