जन्मथलोलाई हेला गर्नेले बुझुन्, ‘अन्तिम श्वास’ लिने यतै हो !

कात्तिक १०, २०७५

जनकपुरधाम – तराई–मधेशमा सामान्यतया प्रायःजसो सबै गाउँ उजाड अवस्थामा रहन्छन् । कतिपय व्यक्तिको घरमा त ताला नै लागेको हुन्छ । वर्षमा १ पटक विजयादशमी वा महत्त्वपूर्ण चाडपर्वको बेला बन्द रहेका घरको ढोका खुल्ने गर्छ ।

विजयादशमीभन्दा पनि मधेशतिर दूर्गापूजा वा दशहरा वा नवरात्रा भनेर मान्छेले बढी भन्ने गर्छन् । दूर्गापूजा, दीपावली, छठ, होली लगायत महत्त्वपूर्ण चाडपर्वका बेला काठमाडौंबाट आ–आफ्नो जन्मस्थलमा फर्किने गर्छन् ।
पाहुना बनेर २–४ दिनका लागि गाउँ फर्किने व्यक्तिले गाउँको रौनकता बढाएका हुन्छन् । ‘वाचम्यान’झै घरको पहरेदारी गरिरहेका बृद्ध आमाबुवाको जीवनमा त्यही २–४ दिनको लागि भएपनि जीवनमा उर्जा थपिने गर्छ ।


ADVERTISEMENT

बृद्ध आमाबुवाले चाडवाडका बेला परिवारसँगै बसेर मिठा खानेकुरा खान पाउने अवसर पाउँछन् । चाडपर्व सकिएपछि उजाड जीवन जिउन गाउँका बृद्धबृद्धा बाध्य हुन्छन् । वैदेशिक रोजगारीमा गएकालाई नेपालको चाडपर्वका आधारमा बिदा नदिने र कार्यकालको आधारमा बिदा दिने प्रचलनका कारण दशैंमा वैदेशिक रोजगारीबाट गाउँ फर्किनेको संख्या अत्यन्तै न्यून हुन्छ । तर, देशमै काठमाडौं लगायत अन्य शहरमा काम गर्न पुगेका व्यक्तिहरू आ–आफ्ना गाउँ र शहर फर्किएका थिए ।

गाउँ फर्केका व्यक्तिलाई गाउँमा बसोबास गर्नेहरूले राम्रै सम्मान दिने गरेका छन् । कोही डाक्टर, कोही इन्जिनियर, कोही सरकारी जागिरे त कोही ठूला ओहोदामा रहेका व्यक्ति भन्दै गाउँका मानिसले प्रसंसा गर्ने गर्छन् । तर, कर्म थलो शहर बनाएकाले जन्मस्थान  गाउँका लागि केही गरेको उदाहरण कमै पाइन्छ । बरु, उल्टै गाउँका मानिसलाई हेला गर्ने, आफ्नो वर्ग उनीहरूसँग मिल्नै नसक्ने गरी कतिपयले व्यवहार गरिरहेको पनि पाइन्छ । 

काठमाडौंमा बस्नेहरू विजयादशमीको पर्वको मौका छोप्दै थातथलोमा आ–आफ्ना बालबच्चासहित फर्किए । पर्वमा पूजाआजा गर्नुका साथै आ–आफ्नो काम, प्रतिष्ठा, जीवनशैली, रहनसहनबारे बखान गरे । थातथलो छोड्न नचाहेका जनकपुरवासीलाई कतिपय कर्मथलो काठमाडौं बनाएकाले आफ्नो नक्कली खुशी र मेट्रो सिटीको ऐशआराम तथा विभिन्न सेवासुविधा, व्यस्त दिनचर्या, अति नै व्यस्त जीन्दगीको बखान गर्दै समय बिताएर फर्किए । 
अधिकांशले आफ्नो परिवारसँग समय गुजार्न पाएकोमा खुसी नै थिए । तर केही ‘नव संभ्रान्त’ले भने आफ्नो जन्मथलोलाई हेयको दृष्टिले हेरेको पाइयो । जन्मदिने आमा र जन्मभूमी स्वर्गसमान हुन्छन् भन्ने धार्मिक मान्यता विपरित यस्ता ‘नव संभ्रान्त’को यो दृष्टिकोण कुनै रुपमा पनि सही मान्न सकिँदैन । 

बढ्दो महंगी, बेरोजगारी, गुणस्तरहीन शिक्षा, स्वास्थ्योपचारको असुविधा, महंगो ट्युसन शुल्क तथा डाक्टरको शुल्कले ढाँड सेकिरहेकै बेला मिसावटयुक्त खाद्यपदार्थ उपभोग गर्ने जनकपुरवासीले आफ्ना घर आगनमा आएका आफन्त र सन्तानबाट नै जन्मथलोमाथिको नकारात्मक टिप्पणीले चाडवाडमा उनीहरुको आगमन सुखद् भन्दा पीडादायीरुपमा कतिपयले लिएको देख्न र सुन्न पाइयो । बड्बोलापन ‘काठमाडौंबाज’ ले ‘जनकपुरबाज’ लाई ‘इनफ्रिटी कम्पलेक्स’ अर्थात हीनतावोध गराएर झन् निराशा थप्ने काम गरे ।

जन्मथलो छोडेर बाहिरिएकाले यही केही गर्न सकिन्छ भन्दै बसेका र गरिरहेका माथि अप्रत्यक्ष रुपमा हेयका दृष्टिले हेर्ने प्रवृति बढेर गएको छ । दक्ष जनशक्ति जनकपुरमा नबस्ने, क्वालिटी नभएका र असक्षम व्यक्तिमात्र जनकपुरमा बस्ने भन्दै जनकपुरमा बसोबार गरिरहेका रोजगारी, व्यापार, व्यवसाय गरिरहेकामाथि  गिज्याउनेहरु पनि पछिल्ला दिनमा बढेर गएका छन् ।

गाँउमा वृद्ध वुवा–आमालाई छोडेर श्रीमती र सन्तान सहित बसाई सरेकाहरु आफना आमा–बुवाको सेवा गर्दा ‘इगो’ मा पर्ने प्रवृति त झन् खतरनाक तरिकाले व्यक्ति–व्यक्तिमा बढेको छ ।

वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा.राजेन्द्र विमल भन्छन्, ‘फूल जहाँ जन्मिएको हो त्यहीं फूलाउनु पर्दछ, फूलमा सूगन्ध छ भने भँवरा जहाँबाट पनि फूल भएको ठाउँमा आउँछ ।’ अर्थात व्यक्तिमा इच्छाशक्ति र ज्ञान छ भने जन्मेकै धर्ती वा आफ्नो थातथलोमा पनि धेरै काम गर्न सकिन्छ । अहिलेको इन्टरनेटको यूगमा गाउँपालिका वा नगरपालिकाको क्लस्टर (समूह) बनाई स्वदेश तथा विदेशका महानगर ‘मेट्रो सिटी’हरुमा अपनाइने शिक्षा, स्वास्थ्यसहितका पद्धति अपनाएर दक्ष जनशक्तिको विकास गर्न सकिने उपाय डा. विमल सुझाउँछन् । 

‘पानी निश्चित तापक्रमसम्म मात्र पानी रहन्छ , त्यसपछि वाष्पीभूत भएर उचाई लिंदै जान्छ ।  उचाइबाट तल हेर्ने ‘उत्कृष्टबाज’हरुको दृष्टि नै परिवर्तन हुनु स्वभाविक हो ।’ यूवा अर्थविद् डा.विरेन्द्र कुमार मिश्र भन्छन्, ‘सजातिय गुण भएकाहरु एकत्रित  भई अन्तरक्रिया गरेर गतिशीलता पैदा गर्छन् त्यसैले गाँउका मानिस जनकपुर, जनकपुरका मानिस काठमाडौं, काठमाडौंका दिल्ली वा अमेरिका हानिनु त गणितीय नियम नै हो ।’
मिश्र के पनि भन्छन् भने जनकपुरलाई यदी उत्कृष्टवाजहरुले साँच्चिकै हेपेका छन् भने हामी पात्र पनि त त्यही लायकका हौं । दामोदर प्रधानको नगरपञ्चायतदेखि बजरंग साहको नगरपालिका र हाल संघीय लोकतान्त्रिक गणतन्त्रको जनकपुर उपमहानगरपालिकामा लालकिशोर साह सम्म आई पुग्दा पनि के नै ठूलो विकास भई सकेको छ  ? 

सह–अस्तित्वको सिद्धान्तलाई नमान्नु, कुनै पनि विधि–व्यवस्थाको कुरा गर्दा कुनै पनि ‘हाइपोथेसिस’ वा काल्पनिक प्रयोग हुनु भन्दा अगावै असफल भइ सकेको घोषणा गरिने अपसंस्कृतिका बीच रुपान्तरण नै एक उपाय रहेको मिश्रको तर्क छ । 

‘गुगल अर्थ’मा जनकपुरलाई माथिबाट हेर्दा सुन्दर–सुन्दर पोखरी तथा मठ–मन्दिरको शहर लाग्दछ तर विकास–प्रविधिको कुरा गर्ने हो भने विश्वकै कही पनि नभएको कुरा जनकपुरमै अपनाइएको पाइन्छ । मिश्र भन्छन्,‘जनकपुरको कुरा गर्नुहोस् वा अन्य गाउँका ,पहिले सडकको कालोपत्रे गरिन्छ त्यस पछि मात्र त्यहाँ ढल बनाइन्छ । परिणाम स्वरूप त्यही कालोपत्रे ग्रेभलमा परिणत हुंदै फेरि कच्ची सडकमा रुपान्तरण भइरहेको छ ।’ 
‘बाहिर बस्नेहरुले मलाई पनि तपाई जनकपुरमा के बस्नु हुन्छ , तपाई त बिग्रनु हुन्छ यहाँ भनेर धेरैले भने,’ बरिष्ठ साहित्यकार डा.विमल भन्छन् , ‘मैले पनि  उनीहरुलाई भने– म जनकपुर छोडेर कहिँ जान्न र म गइन पनि । उल्टै अमेरिका होस् वा अन्य कुनै मुलुकका व्यक्तित्व जनकपुरमै मलाई भेट्न आउनै पर्यो, मा कहीं पनि गईनँ ।’

‘जनकपुरमै पढेर गएकाहरु काठमाडौंमा अहिले आफूलाई सम्भ्रान्त भन्छन् तर वास्तविकता हेर्ने हो भने तिनीहरु भन्दा पनि बढी  गुण भएका व्यक्तिहरु जनकपुरमा छैन भन्ने कुरा सोच्नु गलत गलत हो,’ वरिष्ठ अर्थविद् प्राध्यापक डा. भोगेन्द्र झा भन्छन् , ‘उनीहरु काठमाडौं गए, साधन प्राप्त भए पछि सक्रियता बढाएर दौडधुपमा लागे र ‘एक्सपोजर’ पाए ।’ जनकपुरका व्यक्तिहरुले उपयूक्त ‘अवसर’ र ‘एक्सपोजर’ मात्र नपाएको झा बताउँछन् । 
हुन त काठमाडौंमा नै  अब ‘मिनी मिथिला’ भइसके पछि तिहार, छठमा जनकपुर नफर्कनेहरुले रत्नपार्क मै छठ मनाउन थालिसकेका छन् । अर्थविद डा. सुरेन्द्र लाभ भन्छन्,‘ ‘गुद्या’ अर्थात क्रीम हुनेहरु काठमाडौंमा र ‘सिठ्ठी’ भइसकेका मात्र जनकपुरमा छन् भन्ने धारणा विकसित भएकै हो । एउटा नयाँ वर्ग उत्पन्न भएको छ जसले भविष्यमा ‘रिफ्ट’ पैदा गर्न सक्छन् ।’

’उच्चत तहका व्यक्तिहरु काठमाडौंमा, मध्यमतहका व्यक्तिहरु पहाड–तराईका शहरहरुमा र निम्न बर्गमा मानिसहरुमात्र गाउँमा रहन्छन्’ भन्ने संस्कार विकसित हुनु निश्चय पनि दुःखद रहेको भन्दै लाभ भन्छन्,‘पहिले त्यो संस्कारलाई रुपान्तरण गर्नु पर्दछ अनि मात्र सामाजिक, राजनीतिक संस्कारको रुपान्तरण हुन सक्ने छ ।’

‘भारतको विहारमा पनि त्यही समस्या थियो , नितिश कुमारले केही पनि नयाँ गरेका छैनन् आफ्नो पुरानो अस्मितालाई ‘रिभाइभ’ गर्ने क्रममा छन् । त्यहाँ लोकल गभर्नेन्सलाई मात्र उनले ध्यान दिए ,’ अर्थविद डा.मिश्र भन्छन्,‘ठीक त्यसै गरी आशावादी भइ निरन्तर सकारात्मक अभ्यासको आभाष गर्नका लागि गरिने संघर्षलाई नेतृत्व प्रदान गर्न सफल ड्राइभरको मात्र खाँचो छ ।’

हुन त पूर्व राजा महेन्द्रले ल्याएको गाउँ फर्क अभियान पनि गाउँकै विकास गर्नका लागि थियो तर अभियान विफल भयो र अहिले सम्म यथास्थितिमा रहेका गाउँहरु उक्त ड्राइभरको पखाईमा समय काट्दै छ ।

संघियता भए पछि पलाएको आशा

देश संघीयतामा गई सकेको छ । संघिय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार समेत भईसकेका छन् । अब संघिय सरकार भन्दा पनि प्रादेशिक र स्थानीय सरकारको जिम्मेबारी र उत्तरदायित्व पनि बढेको छ ।  अब नयाँ चालकको रूपमा चुनिएका प्रतिनिधिहरूले आफ्नै थात थलोलाई विकास गर्न अगाडि बढ्नु जरूरी छ । त्यसै पनि काठमाडौंबाज हुनुमैं बिगतमा रमाउनेहरू नयाँ परिवेशमा काम गर्न तयार पनि नभएका होइनन् । कर्मचारीतन्त्र मात्र तल फर्किन नमान्दा समस्या देखिएको हो । केही मानिस काठमाडौं बाट तल झरेका पनि छन् । 

वैदेशिक रोजगारीमा गएकाहरूलाई आफ्नै थात थलोमा रोजगारीका अबसर सिर्जना कसरी गराउन सकिन्छ, त्यस तर्फ ध्यान पुर्याउन जरूरी छ ।

‘मोफसलबाज’हरूलाई गाली गरेर ‘काठमाडौंवाज’हरुले पनि उन्मुक्ति पाइहाल्ने ठाउँ छैन । आफ्नो जन्मस्थललाई माथि उकास्नका लागि अनुग्रह र सहानुभुति राखि सहयोगका लागि हात अगाडि बढाउनु आवश्यक छ ।
हो, हिजोको जनकपुर अब आधुनिक जनकपुरधाम बन्ने बाटोमा अगाडि बढेको छ । सडकहरू बन्दै छन् । रेल्वे संजाल जोदिदैछ । सहरलाई सफा र स्वच्छ राख्न ‘क्लिन जनकपुर, ग्रिन जनकपुर’ अभियान पनि चल्दैछ । स्थानीय जनकपुरियाले साप्ताहिक रूपमा शहरको सरसफाईका कार्यक्रमहरू अभियान स्वरूप चलाउँदै आएका छन् । 

यहाँका युवाहरूमा पनि केही जोश र जाँगर नपलाएको होइन । तर, अब थातथलो छोडेकाहरुको आवश्यकता जनकपुरलाई छ । ती नव संभ्रान्तहरुलाई पनि आर्थिकरुपमा अझ संवृद्धशाली बन्न आफ्नो थातथलोको आवश्यकता पर्ने निश्चित छ । संघीयताको विकास राम्रोसँग भइसकेपछि काठमाडौंमा बस्दै आएकाहरुले विकल्प खोज्न बाध्य हुनेछन् । 

आखिर रिटायर्ड अवस्थामा ती तथाकथित सम्भ्रान्तहरु फेरि पनि गाउँकै ‘थोत्रो’ फार्म हाउसमा फर्किने हुन् । गाउँका लागि केही पनि नगर्ने हो भने रिटायर्ड अवस्थामा त्यही फर्म हाउसमा फर्केर एक्लो जीवन बिताउँनु पर्ने हुन सक्छ । त्यसैले सोचौं पछिल्लो जीवनमा सामाजिक, एक्लोपनको अन्त्यका लागि थातथलोमा केही गरौं, अपमान होइन । 
 

कात्तिक १०, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस