नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न पण्डितहरुको माग

कात्तिक १०, २०७५

काठमाडौँ- पाँचौँ पण्डित सम्मेलनले ९३ प्रतिशतभन्दा बढी ॐ कार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ । 

सम्मेलनले आज ११ बुँदे घोषणापत्र जारी गर्दै आन्दोलनको माग नभए पनि छलफल नभई नेपाललाई धर्म निरपेक्ष बनाइएकाले पुनःस्थापना गर्न ध्यानाकर्षण गराएको हो । सम्मेलनले दशैँमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा काग तिहारदेखि भाइटीकासम्म, रामनवमी, जनैपूर्णिमा र तीजमा दर खानेदिनदेखि ऋषिपञ्चमीसम्म बिदा दिन माग गरेको छ । 


ADVERTISEMENT

सडकमा छोडीएका गाईको अपमान र हत्या रोक्न, नाटक, चलचित्र, टेलिचलचित्र एवं सञ्चारमाध्यममा धार्मिक कृत्य तथा पण्डितप्रति अनादर फैल्याउने गरी निर्माण हुने सामग्रीको प्रसारण रोक्न पनि जोडदार माग गरेको छ । 

सम्मेलनले माध्यमिक तहसम्मको शिक्षामा सरल संस्कृत र नैतिक शिक्षाका पाठ्यक्रमको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । सम्मेलनले पण्डितलाई पनि आचार एवं निष्ठाका साथ विधिपूर्वक आफ्ना कर्म गर्न आह्वान गरेको छ । श्रीमद्भागवत सप्ताह, चातुर्मास पुराणजस्ता धार्मिक कृत्यलाई अर्थोपार्जनका रुपमा प्रयोग गरी विधिविधानलाई बेवास्ता नगर्नसमेत पण्डितलाई सचेत गराएको छ । 


 

कात्तिक १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस