कर्मकाण्डी कर्मचारी : सेवाभन्दा बढुवा र सुविधामा ध्यान !

कात्तिक १५, २०७५

नेपालको निजामती सेवामा देशविदेशमा पढेलेखेका प्रतिभा बढ्दै गएपनि सार्वजनिक सेवा प्रवाहमा त्यसको पुष्टि हुन सकेको छैन । कर्मचारीमा बिस्तारै अतिवृत्तिवादी प्रवृत्ति देखिन थालेको छ । सेवा प्रवेशपछि प्रमोशन, परीक्षा र वृत्ति विकासका पक्षमा बढी नै ध्यान दिने प्रवृत्तिले नागरिक सेवा वितरणमा प्रतिकूल प्रभाव परी निजामती सेवाको छवि गिर्दै गएको छ ।

एकातर्फ सरकारले लगानी गरी तयार गरेको जनशक्ति उपयोग गरी सेवा प्रवाह र सरकारी नीति कार्यान्वयन गर्न नसक्नु र अर्कोतर्फ छिटो–छिटो वृत्ति खुट्किला चढ्नेमा पनि माथिल्लोे पदमा पुगेपछि छिट्टै अवकाश हुने चिन्ताका कारण कर्मचारीमा स्वयम् उत्साह जगाउन नसक्नुको दोहोरो मारमा निजामती सेवा पुगेको छ । तेस्रो मार पनि छ, त्यो हो आस्था र आग्रहले अनुशासनहीनता पनि हुर्किएको छ ।


ADVERTISEMENT

निजामती सेवाभित्र ज्ञान र विज्ञता भएका प्रतिभा बढ्दै गएपनि त्यसलाई सीपमा परिणत गरी कार्यरूपमा उतार्न नसकिएकाले समग्र प्रणाली नै अकर्मण्य बन्दै जाँदा समग्र राज्य सञ्चालन कुँजो बन्न सक्छ र यसले शासन प्रणाली र विकास व्यवस्थापनलाई सिधै चुनौती दिन्छ । भनिन्छ, निजामती सेवाले अनुमति दिएभन्दा उत्तम राज्य प्रणाली हुनै सक्दैन ।

निजामती सेवा आफैंमा राष्ट्रसेवाको अवसर पनि पाउने र वृत्ति अवसर पनि पाउने दोहोरो फइदाको वृत्ति प्रणाली हो । यसभित्रको प्रवेशले सामाजिक प्रतिष्ठा र सुरक्षाको सुनिश्चितता पनि दिन्छ । मुलुुकको विभिन्न भूगोल र संस्कृतिसँग घुलमिल हुने, सामाजिक सम्बन्ध कायम हुने र कार्य परिवेशबाट माझिँदै जाने अवसरका कारण निजामती सेवा जिम्मेवारीभन्दा पनि अवसर पनि हो । तर यसलाई अवसरका रूपमा मात्र लिँदा सेवाका आदर्श, निष्ठा र नैतिकताजस्ता पक्ष ओझेलमा पर्ने गरेका छन् । कर्मचारी सधैं कर्मको आचरण गर्दछ । कामबाहेक उसको नाम वा पहिचान केही छैन भन्ने आदर्श स्थापित छ । तर यदि उसले सामाजिक अपेक्षा अनुसार कार्यसम्पादन गरेन भने कर्मचारी नामजस्तो कर्मको आचरण गर्ने वर्ग बन्दैन, जुन अहिले देखिएको छ । 

कर्मचारीमा अहिले किन अतिवृत्तिवादी प्रवृत्ति हुर्कियो वा किन पेशागत अनुशासनमा रहेनन् भन्ने सन्दर्भमा हामीले छानेको निजामती सेवा कस्तो हो भन्ने पृष्ठभूमिको सापेक्षमा रहेर विश्लेषण गर्नुपर्ने हुन्छ । नेपालले अवलम्वन गरेको निजामती सेवा ‘नर्थकोट ट्रेभेलियन’ प्रतिवेदनपछि संस्थागत हुँदै आएको निजामती सेवा हो । जसका २ प्रमुख विशेषता छन् : पहिलो – योग्यता प्रणाली, जसले सेवा प्रवेश र त्यसपछिका वृत्तिगतिशीलतालाई उसको क्षमतासँग आवद्ध गर्दछ । दोस्रो – राज्य नैतिक रूपमा मूल्य तटस्थ निजामती सेवा, जसले जुन राजनैतिक विचारधारा बोक्ने दल शक्तिमा पुगेपनि जनतामा पुग्ने सेवा विना भेदभाव सुनिश्चित गर्ने साथै पेशागत विशिष्ठताका आधारमा राजनैतिक कार्यकारी समाजसँग सम्बन्ध कायम गर्दछ । राजनीतिक कार्यकारी सूचना, परामर्श र आवश्यक पर्दा व्यावसायिक चेतावनी पनि दिने गर्दछ । 

वैयक्तिक प्रतिभा बढ्ने (बढुवा हुने) तर कार्यसम्पादन उपलब्धी चाहिँ दिन नसक्ने अवस्था पनि नागरिकप्रतिको अन्याय हो । यस अवस्थामा निजामती कर्मचारीको वृत्ति प्रणालीमा आमूल परिवर्तन गरिनुपर्छ ।

नेपालको निजामती सेवा ऐनका प्रावधानले कार्यसम्पादनमुखी र योग्य निजामती कर्मचारीको कल्पना गरेको छ, जसले स्तरीय र जनमुखी सेवा दिन सकोस् । पेशागत आचरणका सन्दर्भमा करारीय दायित्व र सामाजिक दायित्व निर्वाहको अपेक्षा गरेको देखिन्छ । तर भर्ना छनौट क्षमता र सीपभन्दा सूचना र ज्ञानमुखी छ । यसले गरेकोभन्दा गरेकोजस्तो देखाउने कर्मचारी नै राम्रा भन्ने प्रभाव पार्दै आएको छ । वैयक्तिक प्राज्ञलाई महत्त्व दिने प्रणालीका कारण कार्यसम्पादन क्षमता बिस्तारै पातलिँदै गएको र सीमित रूपमा आर्जित क्षमता पनि संस्थाले आफ्नो बनाउन सक्ने गरी कार्यविनियोजन र प्रोत्साहन पद्धति अवलम्वन गर्न सकेन ।

निजामती सेवामा भर्ना तथा वृत्ति व्यवस्थित गर्ने २ पद्धति (क) ज्येष्ठतामूलक र (ख) प्रतिस्पर्धामूलकमध्ये नेपालले दुवै पद्धतिको आदर्श मिश्रण गरेको छ । यसको आशय कार्यसम्पादन क्षमता उम्दा भएका र अनुभवले खारिएका वरिष्ठहरू पनि वृत्ति तह चढून् र प्रतिस्पर्धात्मक क्षमता राम्रा भएका मेघावी प्रतिभा पनि प्रशासनिक नेतृत्वमा पुगून् भन्ने हो । अनुभव र प्रतिस्पर्धात्मक क्षमताका समागमले सधैं राम्रो नतिजा दिन्छ भन्ने सोच नीति निर्माताले राखेको देखिन्छ । यसले प्रणालीभित्र अनुभव र प्रतिभाको समवेशीकरण र सिर्जनात्मक तनाव पैदा गर्ने उद्देश्य राखेको देखिन्छ । यसर्थ निजामती सेवामा यी मूल्य स्थापना गर्दा निजामती सेवा वास्तवमै उम्दा, इमान्दार, व्यावसायिक, नतिजामुखी र जनमुखी हुन्छ भन्ने निष्कर्ष हो । संगठनलाई सहभागितात्मक मान्यताअनुरूप लैजान युनियनले सहयोग गर्दछ भन्ने मान्यता पनि राखिएको हो । 

उद्देश्य र प्रावधान जेजस्ता भएपनि अभ्यास र उपलब्धीका आधारमा नै प्रणालीको मूल्यांकन हुने हो । निजामती प्रणाली कति योग्यतामूलक र मूल्यमा आधारित छ भन्ने कुरा कार्यसम्पादन उपलब्धी र उसप्रतिको सर्वसाधारणको सम्बन्धमा देखिने हो । अहिलेको अवस्था हेर्दा निजामती सेवाले न राज्य इच्छालाई संस्थागत गर्ने क्षमता र निष्ठा देखाउन सक्यो, न सेवाग्राही नागरिकलाई सन्तुष्टि दिन सक्यो । न राजनैतिक कार्यकारीको विश्वास जित्न सक्यो, न राज्यसंरचना बाहिरका पात्रसँग सहकार्य गर्ने क्षमता देखाउन सक्यो । न खुला प्रतिस्पर्धाबाट आएका व्यक्तिले प्रणालीभित्र सिर्जनात्मक तनाव ल्याउने सामथ्र्य नै देखाउन सके । केवल पदलाई अवसरका रूपमा लिई वृत्ति शृंखलामा निरन्तर अघि बढ्ने र सुविधामुखी सोच मौलाउँदै गएको देखियो । यसलाई एक प्रकारको विकृति नै भने हुन्छ ।

प्रश्न उठ्न सक्छ – के अतिवृत्तिवादी प्रवृत्ति हानिकारक हो ? के गरेर यो प्रवृत्ति सुधार (विकृति नियन्त्रण) गर्न सकिन्छ ? निजामती सेवा क्षमता, इमान्दारिता, निष्ठा र नैतिकताका आधारमा क्रियाशील हुने प्रणाली हो । क्षमता मात्र भएर निष्ठा र नैतिकता भएन भने यसको अर्थ रहँदैन भने क्षमताविहीन निष्ठा र नैतिकताले पनि प्रणाली निर्माण गर्न योगदान गर्न सक्दैन । कर्मचारीको क्षमताविहीनता वा कुण्ठाले सेवाग्राहीको अपेक्षा पूरा नहुनु प्रणालीगत अपराध नै हो । वैयक्तिक प्रतिभा बढ्ने (बढुवा हुने) तर कार्यसम्पादन उपलब्धी चाहिँ दिन नसक्ने अवस्था पनि नागरिकप्रतिको अन्याय हो । यस अवस्थामा निजामती कर्मचारीको वृत्ति प्रणालीमा आमूल परिवर्तन गरिनुपर्छ । अन्यथा कार्यमूलक, मूल्यमा आधारित, व्यावसायिक र जनमुखी निजामती सेवा निर्माण गर्न सकिँदैन ।

देखिएको प्रवृत्तिलाई सुधार गर्न केही महत्त्वपूर्ण कार्यहरू निरन्तर गरिनु आवश्यक छ, ताकि यसले स्वचालित मार्ग प्रशस्त गर्न सकोस् । पहिलो, निजामती सेवाको परीक्षण विधि नै सुधार गर्नु आवश्यक छ । अहिले लोकसेवा आयोगले निष्पक्ष परीक्षा प्रणाली अवलम्वन गरेपनि व्यक्तिको ज्ञानको मात्र परीक्षण भएको छ, सीप र स्वभावको परीक्षण हुन सकेको छैन । कार्यविधिगत निष्पक्षता आवश्यक छ, सबैथोक होइन । लिखित परीक्षा, त्यहाँभित्रको ब्लाइन्ड सिस्टम र परीक्षण विधिले अमूक पदका लागि चाहिने क्षमता र स्वभाव आकलन गर्दैन । यसर्थ पहिलो कुरा पाठ्यक्रमलाई सीपमा आधारित बनाउने, दोस्रो कुरा दोस्रो चरणमा स्वभाव र क्षमताको स्तर परीक्षण गर्ने र तेस्रो चरणमा कार्यजिम्मेवारी पाएको निश्चित अवधिपछि वैधता परीक्षण गर्ने चरणवद्ध विधि अवलम्वन गर्न सकिन्छ । व्यवस्थापनका उच्च तहमा छनौट गर्नुअघि नेतृत्व क्षमता र परिस्थितिबोध क्षमता पनि त्यत्तिकै आवश्यक छ । अहिले पहिलो चरणको परीक्षण मात्र भएकाले पढेर नै माथि पुगिन्छ भन्ने मनोवृत्ति विकास भएको हो । 

उम्मेदवार सेवामा प्रवेश गर्ने बित्तिकै खटिएको कार्यालयसँग सामाजिकीकरण र कामको अभिमुखीकरण गरिनु जरुरी छ । अहिले सामाजिकीकरण त गरिँदैन नै, स्टाफ कलेजले गर्ने सेवाप्रवेश तालिमले कार्यअभिुमुखीकरणभन्दा अनुशासनहीनता र काम नगर्दा पनि हुन्छ भन्ने सन्देश गएको छ । सेवाप्रवेश तालिमले व्यक्तिलाई सेवा अभिुमुखीकरणबाट अलग्याएको छ । कोर्स मोडुल, प्रशिक्षण विधि र प्रविधि परिवर्तन गर्नु आवश्यक छ । ताकि काम नै कार्यप्रेरणा हो भन्ने आन्तरिक भावना जगाउन सकियोस् ।

विधि र व्यवस्थालाई निर्मम विवेकशीलताको सिद्धान्तमा अवलम्वन गरिनु पर्दछ । निजामती सेवाको पद हरेक दिन, महिना र पदमा परीक्षित हुँदै वृत्ति चढ्ने पद हो, त्यसको आधार कार्यसम्पादन क्षमता मात्र हो ।

व्यक्तिलाई पदस्थापन गरी कार्यजिम्मेवारी दिएपछि उसलाई खास कामको नतिजाप्रति जिम्मेवार बनाउने गरी कार्यविवरण दिनुपर्दछ र संगठनभित्र दह्रिलो कार्यसम्पादन प्रणाली लागू गरिनु पर्दछ । प्रत्येक आर्थिक वर्षमा पुनर्ताजगी तालिम र अनुभव आदानप्रदान कार्यक्रममार्फत् नयाँ प्रविधि, नीति, निर्देशिकाका विषयमा जानकारी दिनुपर्दछ । कुन प्रकारको पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय व्यक्तिको जिम्मेवारी, स्वभाव, सीपको स्तर, कार्यमुकाम र उमेरजस्ता आधारमा निर्धारण गरिनुपर्दछ । 

हाल रहेको बढुवा प्रणालीमा परिवर्तन गर्नुपर्दछ । प्रतिस्पर्धात्मक परीक्षालाई परिमार्जनसहित अपनाउनु आवश्यक छ । कुनै पनि पदको एउटा वृत्तिचक्र (७ वर्ष) लाई उपल्लो पदमा परीक्षाको पूर्वशर्तका रूपमा लिनु पर्दछ । ३० वर्षलाई अधिकृत सेवा प्रवेशको उमेर कायम गरी त्यसपछि प्रत्येक ७ वर्षपछि मात्र माथिल्लो पदको प्रतिस्पर्धात्मक कार्यसम्पादन बढुवाको योग्यता शर्त कायम गरी यो क्रम त्यसपछिका पदमा पनि कायम गर्नु उचित हुन्छ । बढुवा हुनका लागि निश्चित ब्राकेटभित्र परेका (नकारात्मक सूचीमा नपरेका) लाई व्याच प्रणाली लागू गरिनु पर्दछ । 

सेवाग्राही नागरिकसँग निरन्तर अन्तर्क्रियाको स्वचालित प्रणाली बसाइनु पर्दछ । कतिपय कार्यमा नागरिक पहुँच विस्तार र सहउत्पादनको प्रक्रिया पनि अवलम्वन गर्न सकिन्छ । यस प्रकारको व्यवस्थाले निजामती सेवालाई सुध्रिने स्वभाविक मनोवैज्ञानिक दबाब पर्दछ । उत्कृष्ठ कार्यसम्पादन गर्नेका लागि मात्र मान, पदवी पुरस्कारबाट प्रोत्साहन गरिनुपर्दछ । पुरस्कार वा सम्मानबाट प्रोत्साहनको आधार सेवाग्राही सन्तुष्टिलाई पनि लिनु पर्दछ भने प्रस्तावित व्यक्ति उपर सिकायत र सुनुवाईको च्यानल खुला गरिनु पर्दछ । एक जना मात्र गलत व्यक्ति पुरस्कृत भएमा पूरै प्रणाली दण्डित हुन्छ, जसरी अहिले भएको छ । 

युनियानिज्मको कार्यप्रणाली व्यवस्थित गर्न बेलायतको जस्तो ह्वीट्ले काउन्सिल विधि अपनाउन सकिन्छ । युनियन एउटा मात्र हुनुपर्दछ र त्यसले प्रणाली सुधार र निजामती सेवाका गरिमा विस्तार गर्न काम गर्नुपर्दछ । यसको कार्यसम्पादन विधि बनाई सम्पादित कामको तेस्रो पक्ष समेत भएको परीक्षण संयन्त्र बनाइनु पर्दछ । विधि र व्यवस्थालाई निर्मम विवेकशीलताको सिद्धान्तमा अवलम्वन गरिनु पर्दछ । निजामती सेवाको पद हरेक दिन, महिना र पदमा परीक्षित हुँदै वृत्ति चढ्ने पद हो, त्यसको आधार कार्यसम्पादन क्षमता मात्र हो । यसर्थ प्रणाली निर्माण सहज होइन, तर असम्भव पनि छैन । मात्र वास्तविक इच्छाशक्ति चाहिन्छ ।

mainaligopi@gmail.com

कात्तिक १५, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस