विराटनगर महानगरपालिकाको इजलास तयार, न्यायिक समितिद्वारा सेवा शुरु

कात्तिक १६, २०७५

विराटनगर– विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा शुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण शुरु गरेको हो ।

न्यायिक समितिमा पर्ने मुद्दाको सुनवाइ साप्ताहिक रुपमा इजालसबाट प्रत्येक बुधबार मुद्दामाथिको सुनवाइ गरिने उपप्रमुख कार्कीले बताइन् । बिहीवार महानगर प्रमुख भीम पराजुली, उपमेयर एवं न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले इजलासको शुभारम्भ गरका थिए । न्यायिक समितिका अन्य सदस्यमा विनोदकुमार बस्नेत र तिर्थेन्द्र न्यौपाने रहेका छन् ।


ADVERTISEMENT

विराटनगर महानगरपालिको न्यायिक समितिमा एक वर्षको अवधिमा ७१ वटा मुद्दा परेको उपप्रमुख कार्कीले जानकारी दिइन् । स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका २३ वटा मुद्दा परेको छन् । त्यसमा १५ वटा मुद्दा मोरङ जिल्ला अदालतमा सिफारिस गरिएको छ । दुईवटा मुद्दालाई मेलमिलाप गराइएको छ भने ६ वटालाई तारेखमा राखिएको कार्कीले बताइन् ।
 

कात्तिक १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस