'भोकानाङ्गा'हरूको देशमा २० करोडको चियापान

कात्तिक १८, २०७५

बीस करोडको चियापान भन्ने शब्द लेख्दा आवाराहरूले यो दिल निशानी मगर भन्ने मनुष्य त खुस्किएछ भन्लान् । तर डाक्टरको रिपोर्ट अनुसार, म खुस्किएको छैन । च्यालेन्ज भयो कि, यो स्तम्भको अन्तिम सम्ममा २० करोडको चियापानबारे पुष्टि गर्नेछु । केही आवाराबाहेकका, जो घरमा तरकारी केलाएर, बाबुनानी भुलाएर बसेका मनुष्यहरू छन्, तिनको भने यो २० करोडको चियापानको किस्सा पढ्दा हंसले ठाँउ छाड्न सक्छ । तर यो २० करोडको चियापानमा एक कोसा केरा समेटिएको छैन जुन केरालाई इतिहासमै पहिलोपटक चियामा चोपेर खाइएको थियो ।

एक गिलास तातोपानीका लागि मानिसहरू नाइल नदीभन्दा लामो लाइन बस्न सक्दा रहेछन् । क्याल्सियम धेरै नखाएसम्म यसरी लाइन बस्न त सकिँदैन । कहाँ पाइन्छन् होला यार, यस्ता क्याल्सियमका दुकानहरू, जुन दुकानको क्याल्सियम खाएपछि घण्टौं घण्टासम्म खडा हुन सकियोस्, केवल एक गिलास तातोपानीका लागि । तर विगतमा पूर्वयुवराजाधिराज सरकारको बिहेमा चाहिँ यसरी हप्तौंसम्म लाइन बस्न रैतीहरू राजीखुशी हुन्छन् भन्ने सुनेको थिएँ । 
तपाईंहरूलाई एउटा किस्सा भनूँ, जंगबहादुर राणा बेलायत भ्रमण सकेर स्वदेश फर्किएपछि आफ्ना रैतीहरूलाई भेला गरेर टुँडिखेलमा ठूलो सहभोज खुवाएका थिए । त्यतिखेर थालको विकास भइसकेको थिएन । ती रैतीहरूले सालको टपरीमा राँगाको मासु र घैया चामलको भात खुब मीठो मानेर खाएका थिए भन्ने कथन छ । तर त्यतिबेला गणतन्त्र आइसकेको थिएन । समाजवादको गन्ध फैलिएको पनि थिएन ।


ADVERTISEMENT

ओलीवंशको भेला तथा सहभोज सरकारी निवास बालुवाटारमा भएको त सबैलाई जाहेर नै छ । यो सन्दर्भमा जग हाँस्यो कि हाँसेन, थाहा छैन । आफू प्रम भएको खुशियालीमा केपी शर्मा ओलीले बालुवाटारमा भोज दिएका सूचनाहरू बाहिर आएपछि एकजना लोभी कार्यकर्ताले फेसबूकमा बडो चिन्ताका साथ लेखेका थिए, ‘यो बालुवाटार हो कि पार्टी प्यालेस हो ? तर ती लोभी कार्यकर्ताको चिन्ता बालुवाटारमा भोज गरेर गरीब जनताको पसिना रित्याइएकोमा पटक्कै थिएन, त्यो चिन्ता त सेल्फी र सामूहिक फोटो खिच्दै मीठोमीठो खान नपाएकोमा प्रकट भएको थियो ।

यो स्तम्भ घटनाप्रधान, आग्रह तथा तरंगित भएर तयार पार्दै छैन म । तपाईंहरूलाई एउटा घतलाग्दो एउटा किस्सा पेश गर्छु ।  चाणक्यको किस्सा । को हुन् चाणक्य ? र तिनको अर्थनीति के हो ? त्यो प्रस्ट पार्नतिर म लाग्दिनँ किनभने म अनपढ मान्छे । तर  एकदिन चाणक्यको सरकारी निवासमा एकजना विदेशी पाहुना मित्र भेट्न गएछन् । चाणक्यले टुकी बालेर केही लेखपढ गरिरहेका रहेछन् । ती विदेशी मित्र चाणक्यको नजिक पुग्नासाथ चाणक्यले बालिरहेको टुकी निभाएर अर्को टुकी बाले ।

विदेशी पाहुनाले सोेधे, ‘किन यस्तो गर्नुभएको हो, म आउँदासाथ यो टुकी निभाएर अर्को टुकी किन बाल्नुभएको ?’ चाणक्यको जवाफ थियो, ‘अघि म जनताको काम गर्दै थिएँ, टुकीमा जनताको पसिना बालिरहेको थिएँ । तपाईं मेरो मित्र मलाई भेट्न आउनुभयो, यो हाम्रो निजी भेटघाट हो, जनताको काम हैन, त्यसैले म जनताको पसिनाको टुकी बाल्न चाहन्नँ । अनि मैले मेरै कमाइको टुकी बालेको हुँ ।’

हाम्रो देशमा कतिजना चाणक्य होलान् ? त्यो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा ठाउँ सानो भएको घटनाले प्रस्ट पार्छ । तर हाम्रो देशमा चूडामणिहरू चाहिँ पक्कै पनि लाखौंको संख्यामा छन् । त्यसैले शासकका लिगेसीहरूमा ठूलै परिवर्तन नआएसम्म युवाहरूले भनिरहनेछन्, यो देशमा बाँच्न गाह्रो छ । जन्मिँदा सजिलै जन्मेको मान्छे आखिरमा यो देशमा किन बाँच्न गाह्रो छ भन्छ त ? यति धेरै बोटबिरुवाको अक्सिजन हुदाँहुदै पनि यो देशमा किन बाँच्न गाह्रो छ त ? यो देशमा बसियो भने मरिन्छ भनेर देश छाडेर भाग्ने नौजवानहरूको अनुहार नियालेर हेर्नुभएको छ कहिल्यै ?

नेकपा नामको जिनिसले चियापानको नाममा पचास लाख रुपैयाँ जनताको करको रकम स्वाहा पारेको छ । काठमाडौंमा मात्र होइन, देशका विभिन्न ठाउँमा यस्तै चियापान भयो । एक गिलास तातोपानी र एउटा केरा खानका लागि हजारौं मानिसहरू लाइन बसे ।

चियापानको चियामा चिनी कम हुनु सबैभन्दा खतरनाक कुरा हैन । बोकाको मासुमा बोसो कम हुनु पनि सबैभन्दा खतरनाक कुरा हैन । आफ्नो भागमा परेको केरा र स्याउ अलिकति कुहिएको पर्नु पनि सबैभन्दा खतरनाक कुरा हुँदै हैन । सबैभन्दा खतरनाक कुरा हो, जुन देशको माटोमा चार हातगोडा टेकेर उठ्न सकियो त्यही देशसँग डर लाग्ने । सबैभन्दा खतरनाक कुरा हो, जुन देशको हावाले फोक्सो भरियो, त्यही देशमा बस्दा मर्छु कि जस्तो लाग्ने । यस्तो परिस्थिति किन आयो ?

चियापसलमा होस्, भट्टीपसलमा होस्, पत्रिकापसलमा होस्, यो देशमा बाँच्न गाह्रो छ भन्ने युवा हजारौं भेटिन्छन् । सुरुप्प चिया पिउँदाबित्तिकै भन्न थालिहाल्छन्, यो देशमा बाँच्न गाह्रो छ । यस्तो लाग्छ, चियापत्तीको रंगमा कुनै रसायनको मिसावट छ जसले यो देशमा बाँच्न गाह्रो भएको भ्रम पैदा गरिदिन्छ । मानिसहरू समाचारका एक हरफ पढ्छन् र निर्णय निकाल्छन् । यो देशमा बाँच्न गाह्रो छ । मानिसहरू एक गिलास मदिरा पिउँछन् र ठोकुवा गर्छन् –यो देशमा बाँच्न गाह्रो छ ।

चियापानको नाममा ब्रह्मलुट

मन्त्रालयहरूमा करोडौंको अनियमितता भएको छ । तर त्यो भन्न मानिसहरू डराउँछन् किनभने तिनीहरूलाई यो देशभन्दा पार्टी सदस्यता प्यारो छ । देश जेसुकै होस् तर पार्टी सदस्यता नखोसियोस् । करोडौंको रकम मनमौजी तरिकाले मिडियाहरू, एफएम रेडियोहरूलाई दशै खर्चस्वरूप खर्च बाँडिएको छ । यसरी सत्यको मुख बुजो लगाइएको छ । कम्युनिस्ट भनिएका आफ्ना बफादार कार्यकर्ताहरूलाई पनि बोकाको मासु खाने सरकारी रुपैयाँ बाँडिएको छ ।  

यस्तो नमूना देशमा कसरी बस्न मन लाग्छ ? कसरी बाँच्न मन लाग्छ ? आदरणीय रवीन्द्र मिश्र दाइले लेख लेख्दैमा कोही नेपाल फर्कनेवाला छैनन् । यो देशमा ब्रह्मलुट रोकिनेवाला नि छैन । यिनका लुटका धन्दाहरूको रमिते बन्नुभन्दा बरू लाजले आँखा छोपेर विदेश नै बस्दा त्यो अनुकूल हुने पढेलेखेकाहरू तर्क गर्छन् । घनश्याम भूसाल र राम कार्कीहरू पनि बेलाबेलामा आफूलाई लाज लागेको कुरा गर्छन् । यो कुरा साँचो हो – मोहन वैद्य किरणलाई मदिरा पिउने पैसा प्रचण्डले दिन्छन् । 

ब्रह्मलुटका धेरै किस्सा छन् । सबै लेख्दा महाभारत हुन्छ । यो त सानो कोलम हो । दिल निशानीको लेख लामो भयो भनेर सम्पादक झर्को मान्छन् । शब्द थुतेर फाल्दिन्छन् । ताजा घटनाका रूपमा हेरौं,  विमान खरीद प्रकरणमा ब्रह्मलुट छ । यो कंसाकार हुन् कि हंसकार, बडो चलाख अनि निडर परेछन् । झ्वामझ्वाम, निगम नै डुब्ला जस्तो भयो । विभागीय मन्त्री तिनै हंसकारको खास्सा दोस्त भएका छन् आजकल । धेरै चुमचुम गर्ने पत्रकारहरूलाई घुमाइदिने, बीयर पिलाइदिने काममा सिपालु यिनी । 

अब मुख्य कुरा पेश गरौं । भोका नाङ्गाहरूको देशमा शुभकामना आदानप्रदानको बहानामा यो दशैंमा कम्तीमा २० करोड सरकारी रुपैयाँ दुरुपयोग हुने रहेछ । यो अनुमान हैन, तथ्य हो । अझ सालाखाला यसभन्दा धेरै नि खर्च हुनेगर्छ । तपाईंहरूलाई सुन्दा लाग्ला, हैन होला यो हावा कुरा हो, कहाँ २० करोड खर्च हुन्छ भन्ने जस्तो । तर यो सत्य हो । फर्जी बिल बनाएर कुम्ल्याएको हिसाब गर्ने हो भने त अन्दाजी ५० करोडजतिको चियापान हुनेरहेछ ।

शुभकामना आदानप्रदान केवल मञ्चमा उभिएर भाषण गर्नेलाई मात्र भनिँदैन, भुँडी भर्नेलाई पनि शुभकामना आदानप्रदान भनिन्छ । आखिर हुन्छ के भने हरेक जिल्लामा जिल्ला प्रमुखहरूले सरकारी पैसामा शुभकामाना आदानप्रदान गर्छन् । त्यो भनेको के भने आफ्ना मान्छेहरू बटुलेर, आफैंले सरकारी खर्चमा किनेको खादा राम्री केटीलाई आफ्नै गलामा लगाउन लगाएर दशैंको शुभकानमा, सबैको जय होस् आँटेको पुगोस् भन्छन् । मानौं कि ती भगवानका अवतार हुन् । मञ्चमा गजधम्म बसेका अतिथिगणले माइकबाट पालैपालो आफ्ना मनको तुष पोख्छन् । 

जब साँझ ढल्न थाल्छ, अनि बल्ल शुरू हुन्छ वास्तविक शुभकामना आदानप्रदान । सरकारी गाडीमा हाकिमसाहेबहरू ओहोरदोहोर गर्छन् । रात परेपछि दशैंको उपलक्ष्यमा बँदेलको मासु र महंगो रेड लेबल खान्छन् । तर तिनले बँदेलको मासु र रेड लेबल खाएका हैनन्, यो देशको काट्टो खाएका हुन् । र यस्तो हर्कत देशैभरि हुन्छ । अनि चियापानको नाममा दशैंमा यो मेरो देशलाई २० करोडको चुना लाग्छ ।
अहिले यो खर्च बढेको छ । जिल्ला प्रशासन कार्यलय र मातहतका सबै कार्यलयका आ–आफ्नै शुभकामनाका भोज । अरे, यिनीहरूको शुभकामनाले के हुन्छ यार, बजेट मात्र सत्यानाश हुन्छ । केन्द्र र क्षेत्रको खर्च त कति हो कति । सेनाको ब्यारेक र प्रहरीको पूजाआजाको खर्च नियमित जस्तो हो । यसपाली यो गाँउपालिका, नगरपालिका, महानगरपालिका भन्ने जिनिस थपिएको छ । यी जिनिसहरू मिलेर २० करोडको भन्दा धेरै शुभकामना आदानप्रदान गरेका छन् । 

नेकपा नामको जिनिसले चियापानको नाममा पचास लाख रुपैयाँ जनताको करको रकम स्वाहा पारेको छ । काठमाडौंमा मात्र होइन, बुटवलमा समेत प्रचण्डको उपस्थितिमा चियापान भयो । एक गिलास तातोपानी र एउटा केरा खानका लागि हजारौं मानिसहरू लाइन बसेका छन् । र यिनीहरू समाजवादी भएका छन् । खाँटी कम्युनिस्ट भएका छन् । यो भोकानाङ्गाहरूको देशमा यिनीहरूले जुन हर्कत गरेका छन्, त्यो पनि काट्टो खाएकै बराबर हो । यस्तो देख्दा चुनावमा आश्वासनका पुलिन्दासहित भोट माग्न पुगेका न्यूनतम अवसरबाट समेत वञ्चित दूरदराजका मतदाताले के भन्दा हुन् ? कम्युनिस्टहरूले त चियामा केरा चोपेर हँस्याइलो मुख पार्दै हसुर्ने, गरीब दुःखीले के खाने ? बरमझियामा गएर पुरानो बाजेको पेडा खाने ? यो देशका चेतनशील युवालाई डिप्रेसनमा, फ्रस्ट्रेसनमा पार्ने काम गर्ने ?

यो देशमा किन बस्न मन लाग्दैन ?

उत्तरी छिमेकी देश चीनको ग्रेटवाल साना दुःखले आर्ज्याको सम्पत्ति हैन । ग्रेटवालको हरेक दुई किलोमिटरमा चिनियाँ नौजवानका चिहान छन् भनिन्छ । त्यो भनेको के भने ग्रेटवाल निर्माण गर्ने इँटा बोक्दा बालक नै रहेको त्यो चिनियाँ केटा इँटा बोक्दाबोक्दै युवा भइसक्थ्यो, वयस्क हुन्थ्यो, बूढो हुन्थ्यो अनि मर्थ्यो । जहाँ मर्थे तिनीहरू, तिनका सहकर्मीहरूले त्यहाँ नजिकै खाल्डो खनेर गाडिदिन्थे । तर तिनले ग्रेटवाल निर्माणका निम्ति इँटा बोक्न चाहिँ बिर्सिदैनथिए ।

त्यसैले त ग्रेटवाल चन्द्रमाबाट पनि देखिन्छ भन्छन् । (हुन त यो कथा मात्र हो, तैपनि मीठै कथा हो ।) ती नौजवानहरूले हड्डी खियाएर, वैंशका उत्तेजनाहरूलाई काबुमा राखेर, घरपरिवारसँग रमाउने मीठा सपनाहरूलाई बिर्सेर इँटा नबोकेको भए शायद ग्रेटवाल चन्द्रमाबाट देखिँदैनथ्यो । मलाई त यस्तो लाग्छ कि चन्द्रमाबाट ग्रेटवाल देखिएको हैन, चन्द्रमाबाट ती नौजवानहरूका सजीव सपनाहरू पो देखिएका हुन्, चन्द्रमाबाट ती नौजवानहरू मुस्कुराएका हुन् । 
हामी पनि भन्छौं, साना दुखले आर्ज्याको मुलुक हैन हो । पढ्यौं, लेख्यौं, घोक्यौं । तर चन्द्रमाबाट देखिने चीज हामीले निर्माण गर्न त सकेनांै । हामी नौजवानहरू ग्रेटवाल जस्तै निर्माणका लागी हड्डी खियाउन सकेनांै । मतलब के हो भने, लौ भन्नुहोस्, हामीले हाम्रो देशको कुन चाहिँ विकास निर्माणको लागि सयौं वर्षसम्म योगदान गर्‍यौं ? खासगरी युवावर्गलाई प्रश्न हो यो । विकास भनेको मर्ने भनेको त हैन, तर हामी देश विकासका लागि काम गर्दागर्दै मर्‍यौं त ?
हिजोआजकै समाचारमा पढ्नुभएकै होला, चीनले समुद्रमाथि कैयौं किलोमिटर लामो पुल निर्माण गर्‍यो । विश्वकै लामो पुल हो भनिन्छ । हो पनि । तपार्इंहरूमध्ये धेरै मानिस काठमाडौंको सातदोबाटो भएर यात्रा गर्नुभएको होला, त्यहाँ चिनियाँ नागरिकहरूले बाटो सफा गरेर पिच गरिरहेका देखिन्थे, केही महिना अगाडिसम्म । भन्नुहोला, ती इन्जिनीयर हुन् । तर हैनन्, ती चिनियाँ कामदार हुन् किनभने ती कामदारहरूमा कम्युनिजमको छाप छ । काम सानोठूलो हुन्न भन्ने छाप छ ।

वास्तवमा कुनै पनि देशमा बाँच्न गाह्रो हुँदैन । जब त्यस देशका शासकहरूले आफ्ना नागरिकहरूलाई साँच्चै आफ्ना ठान्छन् र सुखी होऊन् भन्ने देख्छन् भने । चीनले लुम्बिनीमा चलाउन दिएको दुईवटा नाथे इलेक्ट्रिक बसलाई स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चढेर उद्घाटन गर्छन् भने यसभन्दा दुःखको कुरा, पीडाको कुरा अरू के हुन सक्ला । आम मान्छेहरू त खुशी होलान् तर यो बदनामीको कुरा हो, हाम्रो प्रधानमन्त्रीको स्तर दुईवटा अनुदानको बससँग दाँजिने थिएन । 

जनताहरू, नौजवानहरू खुशी बनाउन बिस्तारामा लगेर भात दिन पनि पर्दैन । बेलाबेलामा शासकहरूले भातकै मात्र कुरा गर्छन् । शासकहरूका मुकामहरूमा कोको छन्, तिनका चेतनाहरू, तिनका अध्ययनका गतिहरू केके छन्, म जान्दिनँ तर धेरै नेपालीहरू, अझ युवाहरू ‘एकथाल भातको’ चेतनाबाट माथि उठिसकेका छन् । तिनीहरूले बुझिसकेका छन्, एकथाल भात हैन, एक्काईसौं शताब्दीका सुनौला विकासहरू जेजे छन् विश्वमा त्यो चाहियो ।
शासकहरूले यो गर्छौं, त्यो गर्छौं भनेर ढाँटेर पुग्दैन अब, युवाहरूले युट्युबमा देखिसके ।

मोनोरेल भनेको के हो मेयरलाई नै थाहा छैन होला, यसको नाक कस्तो हुन्छ, आँखा कस्तो हुन्छ, पुच्छर कस्तो हुन्छ उपमेयरलाई त झन् थाहा हुने कुरै भएन । तर बच्चा–बच्चाले गूगल गरेर, युट्युब हेरेर मोनोरेल हेरिसक्यो, सपना देखिसक्यो । छलकपट गर्दा हजारौं विद्यासुन्दर शाक्यहरू जन्मिन्छन् । र जन्मिएका हजारौं विद्यासुन्दर शाक्यहरू नै यो देशका भाइरस हुन् । 

यो विचार ओली सरकारलाई केन्द्रित गरेर तयार गर्दै गरेको हैन । किन को हो र ओली सरकार, के गरेको छ र त्यस्तो विकास यसले ? केही छैन । यो विचार नेपालको आम शासकवर्गको प्रवृत्तिका बारेमा हो । साना दुःखले आर्ज्याको मुलुक हैन त भन्यौं हामीले पनि तर के चाहिँ आर्जन गर्‍यौं ठोस रूपमा त्यो बुझ्न सकिएको छैन । गुलामी नहुनु भनेको केवल त्यो भूगोलको कुरा हैन, यहाँका नौजवानहरूको आत्मसम्मान गुलामी भएको छ कि छैन मुख्य कुरा त्यो हो ।

म इतिहासको आलोचना गर्न चाहन्नँ । पंक्तिकार त अनपढ मान्छे हो । बिचरा के थाहा छ र उसलाई ? तर विषय वा प्रसंगले अन्य अर्थ नलागेमा हाम्रा नौजवानहरू किन देशमा बाँच्न, बस्न सकिरहेका छैनन्, कसले, किन, के कारणले लखेटिरहेको छ भन्ने भाष्यलाई पूर्णता दिन कहिलेकाहीँ इतिहासका पानाहरू पनि पल्टाउनुपर्ने रहेछ । हाम्रा पूर्वज शासकहरूले सयौं वर्ष यो मुलुकमा राजकाज चलाए । तिनले पनि आफ्ना नौजवानहरूलाई भाडाको सिपाहीको रूपमा किन युवा अझ खासगरी जनजाति अनुहारका युवाहरूलाई बेचे, त्यो विचार गरौं ।

हामीले गणतन्त्र त ल्यायौं तर जनताको खुशियालीलाई सीमित घेरामा कैदी गरायौं । पूर्वजहरूले जे जति कारणवश राम्रा नराम्रा काम गरेपनि अब दोष तिनका टाउकोमा हाल्यौं भने हामीहरू बाँचेको र मरेकोमा कुनै भिन्नता छैन ।

त्यो प्रसङ्गको सानो हरफ विस्तारमा लेखेपछि वर्तमान स्थतिको बारेमा व्याख्या गरौंला कि किन, कसरी गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रा नौजवानहरूलाई सरकारले योजनाबद्ध रूपमा लखेट्दैछ भन्ने कुरा । जस्तो कि, जनजातिका छोराहरू जब दश कक्षा पास गर्छन् तब उच्च शिक्षा हासिल गरेर डाक्टर, पाइलट, इन्जिनीयर हुने सपना देख्दैनन् । अधिकांशको रोजाइ के हुन्छ भने बेलायती वा भारतीय सेनामा भर्ती हुने । झट्ट हेर्दा यो जनजातिको केटा पढ्न सक्दैन, भर्ती भयो, गयो भन्ने जस्तो देखिन्छ, तर गहिरो गरेर यसको भाष्य बुझ्नुहोस् त, हाम्रा नौजवानहरू कसरी भाडाका सिपाही भएका छन् । ती बेचिएका हुन् ।

हामीले गणतन्त्र त ल्यायौं तर जनताको खुशियालीलाई सीमित घेरामा कैदी गरायौं । पूर्वजहरूले जे जति कारणवश राम्रा नराम्रा काम गरेपनि अब दोष तिनका टाउकोमा हाल्यौं भने हामीहरू बाँचेको र मरेकोमा कुनै भिन्नता छैन । त्यसैले राजनीतिक र सामाजिक परिवर्तनसँगै ती लिगेसीहरू परिवर्तन हुन जरूरी छ । युवाहरू देशका लागि मर्न तयार हुन्छन् । यहाँ देशका लागि मर्ने भनेको आन्दलोनमा पुलिसको गोली लागेर मर्ने भन्ने बुझिन्छ । देशका लागि मर्ने भनेको त चीनको ग्रेटवाल बनाउँदा बनाउँदै मर्नेहरू जस्तै नेपालको ग्रेटवाल बनाउँदा बनाउँदै मर्नुपरेको छ ।

यहाँ चोक र गल्लीहरूमा कोरियाली भाषाकक्षाहरू खोलिन्छन् र सरकारले नौजवानहरूलाई कोरिया पठाउन कोटा माग्छ । इजरायलले कृषि तालिम दिन किसानलाई बोलाउँदो रहेछ, मन्त्रालयका सचिवहरू आफैं जाँदा रहेछन् इजरायल । बरा किसान रासायनिक मल नपाएर आन्दोलन गरेर बस्छ । भैंसीलाई के रोग लाग्या हो थाहा छैन । सरकार जान्दैन । यतिसम्म कि इजरायलमा किसानको अध्ययन भ्रमणमा मन्त्रीकै छोराहरू जाने । लाजको पसारो । प्रमुख शहरमा बकाइदा नौजवानलाई गुलामी बनाउने भर्तीकेन्द्र खोलेर बसेको छ यो कम्युनिस्ट सरकार । पुनर्विचार गर्दैन, बरू भन्छ — मन्त्री गोकर्ण विष्टले मलेसियासँग महान श्रम सम्झौता गरेछन् हगि ?

कात्तिक १८, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस