नेयमार बार्सिलोना फर्कन चाहेको मार्टिन मोन्टोयाको भनाइ

कात्तिक १९, २०७५

काठमाडौं — नेयमार बार्सिलोना फर्कन चाहेको तर पेरिस सेन्ट–जर्मानबाट बिदा हुनका लागि कुनै पनि सम्झौता तत्कालै नहुने उनका पूर्व टीममेट मार्टिन मोन्टोयाले बताएका छन् । 

नेयमार स्पेन फर्कने हल्ला निकै पहिलेदेखि चलिरहेको छ । उनी बार्सिलोनाको कट्टर प्रतिद्वन्द्वी रियाल मड्रिडमा आउने हल्ला पनि चल्ने गर्छ । सन् २०१७ मा उनी नाओ क्याम्प छोडेर फ्रान्सेली क्लब गएका थिए । 

नेयमारले लियोनेल मेस्सी र लुइस सुआरेजसँगको साझेदारीलाई मिस गरिरहेको मोन्टोयाले बताए । तर बार्सिलोना र रियाल दुवैले उनलाई लिने सम्झौता तत्कालै गरिहाल्ने स्थिति छैन । 

‘मलाई थाहा छैन, यो सम्झौता हुन गाह्रो छ,’ मोन्टोयाले बताए । 

‘पेरिस पनि खतरा टीम हो र उनीहरूले नेयमारलाई सजिलै छाड्ने छैनन् । पेरिसले उनलाई किन्नका लागि ठूलो रकम खर्चेको छ अनि बार्सिलोनाले उनका लागि त्यति नै रकम खर्चला जस्तो लाग्दैन ।’

‘नेयमार बार्सा जान चाहन्छन् जस्तो लाग्छ किनकि उनी त्यहाँ साँच्चिकै सहज अनुभव गर्थे र तीन वर्ष क्लबमा बसे । उनले सुआरेज र मेस्सीसँग राम्रो सम्बन्ध बनाएका थिए । तर उनी बार्सिलोना फर्कन गाह्रो छ ।’ 

मोन्टोया अहिले ब्राइटन क्लबबाट खेल्छन् र उनले बार्सामा नेयमारसँग तीन वर्ष बिताएका थिए । सन् २०१६ मा उनी लोनमा इन्टर मिलान गएका थिए ।

एजेन्सी


ADVERTISEMENT

कात्तिक १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस