नेपाल कम्युनिष्ट पार्टीको नाममा षड्यन्त्र किन ?

कात्तिक २१, २०७५

हुन त विश्व प्रसिद्ध अग्रेजी साहित्यकार विलियम शेक्सपियरले एउटा गम्भीर प्रश्न उठाएका थिए– 'नाममा के राखेको छ र ?' उनले भनेका थिए- 'यदि गुलाफलाई कुनै अर्कै नामले पुकारे पनि त्यसले जुन बासना दिन्छ, त्यो उत्तिकै महत्त्वको र उत्तिकै गुणशील हुन्छ । त्यसको नाम गुलाफ नभएर के भो त ?'

हामीकहाँ त यति धेरै राजनीतिक स्खलन र विचलन भइसकेको र भइरहेको छ कि कुनै तर्क, विज्ञान, विवेक, प्रमाणिकता आदि कुराको केही अर्थ छैन । यद्यपि यिनै कुरालाई लोकतन्त्रको आधार भनेर मान्ने गरिन्छ । तर हामी यतिबेला अराजकताले यतिबिघ्न असर पारेको छ कि मूर्खहरूको मूढमतिले नै सर्वत्र गाँजेको छ र शासन गरिरहेको छ । 


ADVERTISEMENT

आफैंले बनाएको र उत्कृष्ट भनेर दाबी गरिएको संविधान र त्यसअन्तर्गत बनेका ऐन, कानून सबैलाई लत्याएर सत्ता जब नग्न उत्रिन्छ त्यसबेला संविधान र ऐन कानूनको मर्यादा, इज्जत केही रहँदैन र फलतः देशको पनि रहँदैन । त्यसले अराजकता निम्त्याउने वातावरण बनाउने बाहेक अरु केही गर्दैन ।

यहाँ कुरा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा (नेकपा) को नामसँग सम्बन्धित छ । यो नाम निर्वाचन आयोगमा पहिला नै विधिवत दर्ता छ । अनि त्यसै नामको अर्को दल दर्ता गर्न पाइँदैन, हुँदैन भन्ने निर्वाचन ऐन । तर जबर्जस्ती त्यही नाम राखेर दर्ता गरिन्छ र त्यसलाई सत्ताधारी पार्टीको दबाबमा निर्वाचन आयोगले पनि सहर्ष स्वीकार गर्छ । सरकारी र कतिपय गैरसरकारी सञ्चार माध्यमले पनि त्यसैलाई प्रचारप्रसार गर्दछन् र सत्य त्यही हो भन्ने महाभ्रम छर्छन् ।

कानूनको शासन भन्ने गरिएको व्यवस्थामा जब यसरी झूटको खेती गरिन्छ त्यहाँ लोकतान्त्रिक कार्य संस्कृतिको के आशा र अपेक्षा गर्ने ? जनताका समस्याहरूको समाधानमा सत्ताधारी दलहरू लाग्छन् र जनता सुखी र खुशी हुन पाउँदछन् के आधारमा भन्ने ? समाजका अरु अंगभन्दा सचेत र संगठित अनि देश र जनताप्रति समर्पित मानिने राजनीतिक दलले नै संविधान, ऐन कानून मिचेपछि अरुले ती ऐन कानून मान्नु पर्दछ भन्ने नैतिकता कहीँ कतै रहन्छ ? आज यी प्रश्नहरू उठिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपाकै नाम अर्थात नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र (नेकपा) राख्न सत्ताधारी दल किन उद्यत् भयो र त्यसैमा हठ लिएर बलजफती निर्वाचन आयोगबाट पार्टी दर्ता भएको घोषणा गरायो ? यसमा सञ्चारमाध्यम र आफूलाई लोकतान्त्रिक मूल्य, मान्यता र कानूनको शासन मान्ने दाबी गर्ने दलहरू किन चुपचाप छन् ? किन गलत प्रचारका विरुद्ध चुँसम्म बोल्दैनन् ? एकपछि अर्को प्रश्नहरू उठिरहेका छन् । तिनले उत्तर खोजिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपाकै नाम अर्थात नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र (नेकपा) राख्न सत्ताधारी दल किन उद्यत् भयो र त्यसैमा हठ लिएर बलजफती निर्वाचन आयोगबाट पार्टी दर्ता भएको घोषणा गरायो ? यसमा सञ्चारमाध्यम र आफूलाई लोकतान्त्रिक मूल्य, मान्यता र कानूनको शासन मान्ने दाबी गर्ने दलहरू किन चुपचाप छन् ?

हुन त यो भन्दा पहिला पनि नेपाली राजनीतिक वृत्तमा एउटा कुरा ठूलो चर्चामा थियो कि साना पार्टीले गर्दा मुलुकमा अस्थिरता आयो । त्यसकारण च्याउ उम्रेसरी स-साना पार्टीको केही काम छैन । जनताको माग पनि दुई दल हो । अहिलेको ध्रुवीकरण त्यसैको परिपूर्तिका लागि हो । यसको वकालत राजनीतिक सिण्डिकेट बनाएर सत्तामा खाइखेली एकाधिकार जमाएका, जमाइरहेका दल र तिनका नेताहरूले त गरिरहेकै थिए, छन् । सत्ताका चाटुकार तर आफूलाई कथित बुद्धिजीवी भन्नेहरूले पनि यही स्वरमा स्वर मिलाए । पद प्रतिष्ठा र पैसा पाउने सामन्ती नब सामन्ती चाकडीको पराकाष्ठा !

के साना पार्टीहरू अस्थिरतका स्रोत हुन् ? के उनीहरूले देशका स्रोत साधन विदेशीलाई सुम्पिने राष्ट्र र जनताको हितविपरीत सन्धि सम्झौता गरेका छन् ? के उनीहरूले भ्रष्टाचार, कर छली, कालोधन जम्मा गर्ने, उद्योग धन्धा कौडीको मोलमा निजीकरण गरेर सखाप पार्ने काम गरेका छन् ? नागरिकता विक्री गर्नेजस्ता राष्ट्रद्रोही काम गरेका छन् ? उनीहरूले के कसरी राजनीतिक अस्थितरता ल्याउन मद्दत या योगदान गरेका छन् ? गरेका छन् भने पनि त्यो ठूलो दलकै गलत र संकीर्ण स्वार्थको चक्रव्यूहमा परेर गरेका छन् ।

उदाहरणका लागि संसदको एउटा सानो दल नेपाल मजदुर किसान पार्टी हो । उसले देशमा अस्थिरता पैदा गर्न के–के गरेको छ ? कसैले भन्न सक्छ ? यस्तो आधारहीन बकम्फुसे तर्क गर्ने कथित राजनीतिकर्मी र बुद्धिजीवीहरूकै कारण देश अधोगतिमा गएको हो । कुनै अदृष्य र नभएका कुरा गरेर जनतालाई भ्रमित तुल्याउने कुरा पनि ठूलो अपराध नै हो । 

हिजो देशमा राणाशाही र शाहशाही निरंकुशता थियो । त्यसका विरुद्ध दलहरू लडेका हुन् र बहुदल ल्याएका हुन् । आज मौका पर्दा उत्कृष्ट भन्ने मौका पर्दा कसैको पनि पूर्ण सहमति नभएको संविधान भन्ने दहीचिउरे कुरा गर्ने ठूला दलहरूले पनि बहुदलीय प्रतिस्पर्धात्मक संसदीय प्राणाली भनेर संविधानमा लेखेका छन् ।

सबै दलहरूलाई अनेक किसिमले गलत फत्तुर लगाएर नामेट पार्ने षड्यन्त्र गर्ने हो भने संविधान संशोधन गरेर ‘दुई दलीय पद्धति’ लेखे भइहाल्यो नि । संविधान उल्लंघन गर्ने, मनपरी अपब्याख्या गर्ने, गलत संशोधन गर्ने पनि ठूला दलहरू नै हुन् । चाहे अन्तरिम संविधानको कुरा गरौं, चाहे अहिलेको संविधानको । अनि साना दलहरूलाई चुनाव चिह्न नदिने, थ्रेस होल्ड राखेर अंकुश लगाउने र आफू खुशी दुई दलीय व्यवस्था प्रायोजित रूपमा ल्याउने र आफ्ना कुकृत्यका दोषजति साना दलको टाउकोमा हालेर ‘पानी माथिको ओभानो’ हुन खोज्ने ? 

कुनै पनि देश र जनताप्रति समर्पित दलहरू आवश्यकताले जन्मिने हुन् र आवश्यक नपरे तिनको सान्दर्भिकता नरहेर सकिने हुन् । हिजो कांग्रेस या कम्युनिष्ट पार्टी जन्मेकै थिएनन् । एउटा कालखण्डमा ती जन्मे र देशलाई निरंकुशता विरुद्ध जनतन्त्रका लागि आ–आफ्ना ढंगले नयाँ दिशा र गति दिने कार्यमा लागे । जनतामा परिवर्तनको नयाँ उत्साह र आशा जगाए । समानता, न्याय र समुन्नतिको चेतना फैलाए । त्यसो गरिरहँदा उनीहरूले कतै चुनाव जित्नु पनि परेको थिएन र कतै दर्ता हुनु पनि परेको थिएन । 

तर परिवर्तनपछि संविधान ऐन कानून र लोकतान्त्रिक मूल्य मान्यता अनुरूप चल्नुपर्ने खासगरी सत्तामा पुगेर बसेका दलहरू जबर्जस्ती देश र जनताको श्रोत साधनमाथि एकाधिकार जमाएर मनपरी दोहन गरेर जनता र राष्ट्रको आफू मात्रै टिक्ने र अरुलाई समाप्त पार्ने सामन्ती नवसामन्ती चरित्र र चिन्तनले ग्रसित भएर चल्न थाले । तिनका यस्ता प्रतिगामी गतिबिधि र कथित नेता तथा बुद्धिजीवीहरूको पाखण्डपूर्ण बकवासले न परिर्वनका उपलब्धि जोगिए न जोगिन्छन् न परिवर्तन रोकिन्छ । कुरा ढिलो र चाँडोको मात्र हो ।

सत्तामा बसेर हालीमुहाली चलाएका केही ठेकेदारहरूको मात्र होइन यो देश । तीन करोड नेपाली जनता त्यसमा पनि बहुसंख्यक शोषित पीडित जनताको देश हो यो । उनीहरूको सचेतना, संगठित सक्रियता र समर्पण विना यो देश केही ठेकदारहरूको भरमा बन्दैन र जनतन्त्र पनि समृद्ध हुँदैन ।

भ्रमबाट जनता मुक्त हुनेबित्तिकै सही बाटो लाग्छ र आफ्नो निमित्त सही बाटो के हो भनेर रोज्न सक्छ । त्यो नेपालको राजनीतिक इतिहासले पटक–पटक दर्शाएको पनि छ । त्यसक्रममा नयाँ–नयाँ दलहरू जन्मिन सक्छन् र तिनले परिवर्तनको सही दिशालाई पक्रेर अघि बढ्न सक्छन् ।

सत्तामा बसेर हालीमुहाली चलाएका केही ठेकेदारहरूको मात्र होइन यो देश । तीन करोड नेपाली जनता त्यसमा पनि बहुसंख्यक शोषित पीडित जनताको देश हो यो । उनीहरूको सचेतना, संगठित सक्रियता र समर्पण विना यो देश केही ठेकदारहरूको भरमा बन्दैन र जनतन्त्र पनि समृद्ध हुँदैन । अहिलेसम्मको इतिहासले प्रमाणित गरेको यथार्थ यही हो । त्यसैले गलत कुरा गरेर संकीर्ण स्वार्थसिद्ध गर्ने दिशामा नलाग्नु नै बेस ! 

त्यसमा पनि जुन पार्टीहरू कम्युनिष्ट पार्टीको रूपमा जन्मेकै होइनन् बरु कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा जन्मेको नेपाल कम्युनिष्ट पार्टीका विरुद्ध खडा हुँदै र पुष्पलाललाई अनेक मनगढन्ते लाञ्छाना लगाउँदै कम्युनिष्ट पार्टीका विरुद्ध उतिबेला कसैले ‘मशाल’ त कसैले ‘माले’ पार्टी नाम राखेका हुन् र त्यसकै निरन्तरतामा पछि मशाल माओवादी केन्द्र र माले एमाले बनेका हुन् ।

अहिले उनीहरूलाई किन पुष्पलालले नाम राखेकै पार्टी – नेपाल कम्युनिष्ट पार्टी चाहियो ? ठूलो प्रश्न खडा भएको छ । किनभने राजनीतिमा धेरथोर जे परिवर्तन आएको छ, त्यो जनतालाई आफ्नो मुक्ति र प्रगतिको निम्ति एकताबद्ध गर्ने पुष्पलालले अघि सारेको संयुक्त जन आन्दोलनको नीति र त्यसलाई प्राप्त गर्ने बाटोबाट आएको छ । 

त्यसबाहेक दलहरूले जे जति ठूलो प्रचार आतंक मच्चाएर हो हल्ला गरे पनि वैचारिक राजनीतिक रूपमा उनीहरूको बाटो असफल भइसकेको छ ।

त्यसैले गाली गलौज गरेर पुष्पलालको विचारलाई परास्त गर्न नसकिने भएपछि त्यही नामको दल खडा गर्ने तथा गलत काम र गतिबिधि गरेर पुष्पलाल र सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई नै बद्नाम गर्ने बृहत षड्यन्त्रकै तानाबाना यो नामको विवादको षड्यन्त्र त होइन भन्ने कोणबाट स्थितिलाई हेर्नु र बुझ्नु पर्ने भएको छ ।

कात्तिक २१, २०७५ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस