मादल बेचेरै डेढ लाख बचाउँथिन् विन्दा, भन्छिन्– 'अहिले त भाडा तिर्नै धौधौ'

कात्तिक २१, २०७५

काठमाडौं –  ‘दिदी मादल बनाउँदै हुनुहुन्छ ?’

‘हजुर बहिनी ! तिहार आयो । मादलको सिजन, त्यसमाथि पेशा नै यही भएपछि त बनाउनै पर्‍यो नि !’ उनले मादलमा खरी दल्दै जवाफ दिइन् । 


ADVERTISEMENT

नवलपरासीकी विन्दा कुलुले ताहचलको विष्णुमति ट्र्याक रोडछेउमा मादल पसल खोलेको ७ वर्ष भयो । तिहार लागेसँगै विन्दा र उनका पति राजकुमार नयाँ मादल बनाउन र पुराना मादलमा खरी दल्न व्यस्त छन् । एक छोरा एक छोरीसहित ४ जनाको परिवार अलिहेसम्म यही मादल पसलले धानेको छ । 

मादल सबैभन्दा धेरै बिक्री हुने समयमा नै दशैंतिहार हो । तर विगतका वर्षको तुलनामा यसवर्ष मादलको व्यापार नभएको उनले सुनाइन् ।

‘मादल बिक्री हुने समय यही दशैंतिहार हो तर अहिलेको वर्ष बिक्री फिटिक्कै  छैन,’ विन्दाले भनिन्, ‘पहिलाजस्तो व्यापार अनि फाइदा नै हुँदैन ।’ 

यसपालिको तिहारका लागि २० वटा नयाँ मादल बिक्री भएको र २२ वटा मादल मर्मत्का लागि आएको विन्दाले सुनाइन् ।

‘मादल बेचेर लगानी उठाउनै गाह्रो पर्छ । मादलमा खरी राखेर कति कमाइ हुन्छ र ! बिहान दिउँसो कमायो, बेलुका खायो, रमायो यस्तै छ,’ उनले भनिन्, ‘पहिला–पहिला त धेरै बिक्री हुन्थ्यो । वर्षभरीमा एक डेढ लाख बचत हुन्थ्यो, अहिले त भाडा तिर्न र लाउन खानै धौधौ पर्छ ।’

मादल बनाउने उतिसको काठ धादिङ र जनावरको छाला सिन्धुपाल्चोक तथा भारतबाट आउने उनले बताइन् ।  मादल बनाउन लाग्ने काठ जनावरको छाला र उनीहरूको मेहनत सहित एउटा मादलको लागत २२ सय पर्ने उनले सुनाइन्  । 

उनले बनाउने मादलको मुल्य ३ हजारदेखि ३५ सयसम्म तोकेकी छन् । तर ग्राहकले बल्लतल्ल २ हजारदेखि २५ सयसम्ममा किन्ने गरेको उनी बताउँछिन् । 

विन्दाले मादल बनाउने पेशा शुरू गरेको १६ वर्ष भयो ।  काठमाडौं छिरेदेखि नै मादल पसलमा काम गरेकी उनले मादल बनाउने सीप जानेपछि आफैले पसल सञ्चालन गर्ने योजना बनाइन् । केही वर्षसम्म मादलको व्यापार राम्रै चलेको थियो ।

नयाँ–नयाँ प्रविधिको विकासले अहिले पुराना बाजा र पुराना संकृतिक परम्परा परिवर्तन हुँदै गए । गाउँ–गाउँमा समेत स्पिकर बजाएर नाचगान र रमाइलो गर्ने चलन शुरू भयो ।

देउसी भैलो खेल्न पहिला–पहिला मादल प्रयोग हुन्थ्यो त्यसैले पनि विन्दाको व्यापार दशैंतिहारको समयमा बढी हुन्थ्यो । तर अहिले मादलको सट्टामा स्पीकर बजाएर देउसी खेल्ने चलन आइसकेको छ । मानिसहरूले मादल किन्नै छाडेपछि आफ्नो पेसा नै संकटमा परेको उनी बताउँछिन् ।

‘पहिलादेखि नै यही सीप सिकियो अरु केही गर्न जानेको पनि छैन । पढेलेखेको पनि छैन,’ उनले भनिन्, ‘छोराछोरीलाई जसोतसो गरेर पढाउन पाए हुन्थ्यो । मादल बिक्री हुनै छाड्यो । खै कसरी जीविका चलाउने हो ?’

विगत केही वर्षयता पुराना बाजाको बिक्रीमा कमी आएको छ । जसले गर्दा विन्दाजस्ता मादलको मर्मत र व्यापार गर्नेहरू पेशा नै लोप हुने हो कि भन्ने चिन्तामा छन् ।

कात्तिक २१, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस