सभामुख महराको पृथक शैली : गृहजिल्ला गएर दौंतारीसँग चियापान

फाइल तस्बिर
कात्तिक २२, २०७५

रोल्पा– तिहार मनाउन गृह जिल्ला रोल्पा आउनुभएका सभामुख कृष्णबहादुर महराले चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । 

रोल्पा नगरपालिका–१ मेवाङस्थित सभामुख महराको जन्म घर नजिकै रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को हलमा उक्त चियापान कार्यक्रम आयोजना गर्नुभएको होे । 

चियापान कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सभामुख महराले आफू जन्मेहुर्केको गाउँ कहिल्यै नबिर्सने बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा जिल्ला बाहिर रहे पनि आफूले सधैँ आफू जन्मेको गाउँठाउँ सम्झने गरेको बताउनुभयो । चियापानकै क्रममा सभामुख महराले आफ्ना दौँतरीहरुसँग भलाकुसारी गर्नुभएको थियो । 

चियापान कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, प्रदेश नं ५ का सदस्य दीपेन्द्र पुनमगर, पूर्व सभासद् जोखबहादुर महरा, नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री सुरेन्द्र हमाललगायत जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो । 

यसअघि सभामुख महराले आज बिहान आफूले अध्ययन गरेको बाल कल्याण नमूना माध्यमिक विद्यालय लिवाङले आयोजना गरेको एक शैक्षिक अन्तरक्रिया कार्यक्रममा समेत प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 


ADVERTISEMENT

कात्तिक २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस