राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना

कात्तिक २३, २०७५

काठमाडाैं -राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ । तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो । 


ADVERTISEMENT

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री 
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारको अवसरमा बिहीबार एक शुभकामना सन्देश दिंँदै उहाँले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।” हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । 

“सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ, “हामीसँग सक्रिय जनसङ्ख्याको बाहुल्यता छ । यस अनुकूलताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउँदैछौँ ।”

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस