विराट कोहलीले दिए यस्तो सफाई

कात्तिक २३, २०७५

काठमाडौं– देश छोड्ने सल्लाह सम्बन्धी आफ्नो विवादित भनाई ट्रोल भएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सफाई दिएका छन् ।
कप्तान कोहलीले ट्वीट गर्दै आफू हरेक व्यक्तिको रोजाईको सम्मान गर्ने व्यक्ति रहेको बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘साथीहरु मलाई लाग्छ कि ट्रोलिङ्ग मेरा लागि होइन, म ट्रोलिङ्ग भइरहन मनपराउँछु । मैले त्यो कमेन्टमा ‘यी भारतीय’ भनेकोमा बोलेको हुँ अरु केही होइन । कसैलाई मन पराउने स्वतन्त्रताको समर्थन गर्छु । साथीहरु यसलाई हल्का रुपमा लिनुहोस् ।’ आफूले त्यो कमेन्टमा व्यक्तिगत नभई ‘भारतीय’ भनिएका कारण त्यस्तो जवाफ दिएको कोहलीको भनाइ छ ।


ADVERTISEMENT

घटना यस्तो थियो 
बुधबार एक एप्लिकेशनमा एक भिडियो आएको थियो, जसमा विराटले ट्वीटर र इन्स्टाग्राममा आएका सन्देश पढेका थिए । यही क्रममा उनले एक सन्देश पढे, जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडी भनेका छन् । सन्देशमा लेखिएको थियो, ‘तपाईँ ओभररेटेड खेलाडी हो । व्यक्तिगत रुपमा मलाई खासै केही लाग्दैन । मलाई भारतीय ब्याट्सम्यान भन्दा बेलायती र अस्ट्रेलियन ब्याट्सम्यान मन पर्छ ।’

यसको जवाफ कोहलीले निकै तिखो रुपमा दिए । उनले जवाफमा भनेका छन्, ‘मलाई लाग्छ तपाईँ भारतमा बस्नु हुँदैन.. अरु कतै जानुहोस् । तपाईँ हाम्रो देशमा बसेर अरु देश किन मन पराउनु हुन्छ ? मलाई मन पराउनु हुँदैन ठीकै छ तर तपाईँ हाम्रो देशमा बसेर अरु ठाउँकै कुरा मनपराउनु मिल्छ जस्तो लाग्दैन । आफ्ना प्राथमिकता तय गर्नुहोला ।’

यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाका साथै कोहलीको आलोचना भइरहेको छ ।
 

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस