मन्दिर गएर कुण्डमा नुहाउँदैमा प्रचण्डको मार्क्सवादी सिद्धान्तमाथि प्रश्न उठाउन मिल्छ ?

कात्तिक ३०, २०७५

प्रजातन्त्रको नाममा परिमार्जित पञ्चायती व्यवस्थाको आधारमा बहुमतसहित राज गर्ने लाइनमा नेताहरू रस्साकस्सी गर्दै थिए । विकासका भोका जनतालाई आश्वासनका पोका धेरै बाँडिए । तर जनताको अपेक्षा पूरा गर्न छोडेर शासक बन्ने र संसद्को फोहरी खेलमा नेताहरू चुर्लुम्म डुब्दा जनतामा बहुदलीय संसदीय व्यवस्थाप्रति घृणा पैदा हुनु स्वाभाविक थियो ।

यस्तो अवस्थामा प्रचण्डको नेतृत्वमा शान्ति, सुशासन र गणतन्त्रका लागि जनयुद्ध शुरू भयो । जनताका अधिकार स्थापित गर्दै आफ्नो संविधान आफैं लेख्ने लक्ष्यसहित रोल्पा, रुकुम, गोर्खा र सिन्धुलीबाट जनयुद्ध शुरू भएको थियो । 


ADVERTISEMENT

प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराईको मुख्य नेतृत्व रहेको जनयुद्ध शुरूआतको केही वर्षमै उत्कर्षमा पुग्यो । संसद्को पट्यारलाग्ने खेलबाट जनताले विकल्प खोजिरहेको समयमा जनयुद्धको राप बढेको थियो । 

प्रचण्ड र माओवादी आन्दोलनप्रति जनताको अपेक्षा तीव्र रूपमा बढ्दै थियो । जनताको चाहना सिंहदरबारमा पनि जनयुद्धको राप पुगोस् भन्ने थियो । युद्धको आफ्नै नियम हुन्छ । भूमिगत तवरले हुने युद्धमा बाह्य जगतको प्रभाव कमी हुनु स्वाभाविक थियो । एउटा टोली जनयुद्धको तयारीमा व्यस्त हुँदा अर्को टोली आगामी राजनीतिक कार्यक्रमबारे बहस गरिरहेको हुन्थ्यो । जनयुद्धमा फौजी कारवाही मुख्य हुनु स्वाभाविक थियो । माओवादीले सञ्चालन गरेको युद्धको समयमा कारवाहीको डरले समाजमा विकृति, विसंगति, विभेद अनि प्राशासनिक भ्रष्टाचारमा कमी आएको थियो । जनयुद्धको समयमा तत्कालीन भ्रष्ट शासकमा त्रास थियो ।

राजा ज्ञानेन्द्र शाहले राज्यसत्ता आफ्नो हातमा लिएसँगै सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे सहमति भयो जसको जगमा २०६२/०६३ सालको जनआन्दोलन सफल भयो । 

आन्दोलन सफल भएसँगै लामो समय भूमिगत रहेका प्रचण्ड सार्वजनिक भए । 

आन्दोलनको सफलतासँगै सामन्तवादको पिँजडाबाट राष्ट्र जनताको पहुँचमा आयो । यतिबेलासम्म प्रचण्डलाई आन्तरिक भन्दा बाह्य खतरा ज्यादा रह्यो ।  पार्टीका आन्तरिक बैठकमा प्रचण्डमाथि बारम्बार घेराबन्दी भएपनि ती सबै फिक्का साबित भए । प्रचण्डले जनयुद्धको जँघार तरे । शान्ति प्रक्रिया शुरूआतसँगै मोहन वैद्य र डा. बाबुराम भट्टाराईले प्रचण्डमाथि आन्तरिक घेराबन्दी शुरू गरे ।

मुलुकमा पहिलो संविधानसभाको चुनाव भयो । तत्पश्चात् मुलुक संघीय गणतन्त्रमा प्रवेश ग¥यो । मन्त्री, सांसद, सत्ता र शक्ति उपयोग गर्न नपाएको झोकमा प्रचण्डलाई धारेहात लगाउने काम खरिपाटीबाट शुरू भएको थियो । कामीडाडाँमा त्यसको मलजल भयो । पालुङटारमा विप्लवले मोहन वैद्य किरणलाई पिङमा चढाए । केही वर्ष त्यो पिङ उनले मच्चाए ।

अन्तमा वैद्यलाई पिङबाट झारेर अहिले आफैं जोडतोडका साथ मच्चिँदैछन् । स्पष्ट राजनीतिक कार्यदिशाको अभावमा विप्लवको आवेगले मात्र क्रान्ति हुँदैन । अर्कोतर्फ मध्यमवर्गको हित गर्ने ग्यारेन्टी विप्लव नेतृत्वको पार्टीले दिएपश्चात् पूँजीपति दलालविरुद्ध संघर्ष आवश्यक देखिँदैन । विप्लवको महत्त्वाकांक्षाको जालोमा फसेपश्चात् अहिले मोहन वैद्य ‘किरण’ चरम सङ्कटमा छन् ।

दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि डा. बाबुराम भट्टराईले प्रचण्डलाई धारेहात लगाउँदै ‘हिरो’ बन्ने दाउमा मधेश प्रवेश गरे । मधेशमा झण्डै भट्टराईमाथि आक्रमणको प्रयास भयो । एक समयका चर्चित व्यक्ति डा. भट्टराईको हाल नेपाली राजनीतिमा अस्तित्व नगण्य छ । अहिले डा. भट्टराईको विचार सुन्नेको संख्या घटेको छ । वैद्य सिद्धान्तको साँघुरो कुवामा पौडिन व्यस्त छन् । उनीहरूले हिजोका दिनमा भन्ने गरेको छलाङको परिभाषा आज बदलिएको छ ।

पछिल्लो समय प्रचण्डलाई आलोचना गर्नेमा थपिएका छन्, गोपाल किराँती । माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर देशमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्दा उनलाई मन परेन ।

यतिबेला किराँती अन्धजातिवादमा फसेका छन् । उनी कोठामा बसेर क्रान्तिको रथ हाँक्ने उडन्ते सपना देख्छन् । सिद्धान्तका भुसुने गफ सञ्चारमाध्यममा राख्नु किराँतीको दिनचर्या बनेको छ । अर्कोतर्फ आहुति सिद्धान्तका गफ बिसाउने चौतारी खोज्दैछन् ।

अहिले प्रचण्डलाई धारेहात लगाउनेहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई सेवा गर्नेभन्दा बिगार्ने भत्काउने ध्याउन्नमा छन् । वैद्य, बाबुराम र विप्लवलाई चेतना हुनुपर्दछ, सिद्धान्तको ज्ञान प्राध्यापकमा अधिक हुन्छ तर प्राध्यापककको काम विश्वविद्यालयमा  पढाउने हो । नेतृत्वमा सिद्धान्त र भूगोलको समायोजनसहितको गतिशीलता हुनुपर्दछ । नेतृत्वमा हुनुपर्ने गुणको अभावले आज प्रचण्डको नेतृत्वमा लामो समय काम गरेका सहयोद्धाहरू कुण्ठा लिएर ‘हस्तिनापुर को वास नभई चपरीमुनिको वास’ बस्ने अवस्थामा छन् । जसले इतिहासमा स्वर्णिम अक्षर लेख्छन् भन्ने अनुमान थियो तिनै आज मरिचजस्तै चाउरिएका छन् ।

प्रचण्डबारे मिसनरीहरूले, कृषि फर्मको कार्यक्रममा गएर भैंसीपूजा गरे भन्दै कोलाहल मच्चाए । केहीले बनावटी फोटो सार्वजनिक गरे । अहिले तिनै मिसनरीहरू फेरि सल्बलाएका छन् । देशभित्रका पौराणिक मठमन्दिर जाँदा र तातोपानी कुण्डमा नुहाउँदैमा प्रचण्डको मार्क्सवादी सिद्धान्तमाथि प्रश्न उठाउने निकृष्टहरू पनि छन् यो देशमा । त्यस्ता मान्छेको संकीर्ण सोच र मिसनरी योजनाले केही दिनको गुजारा राम्रैसँग चल्नेमा भने शंका छैन ।  

    
वर्तमान समयमा प्रचण्ड नेकपाको प्रमुख छन् । प्रचण्ड अझै पनि क्रान्तिप्रति प्रतिबद्ध छन् । मुलुकको शासकीय व्यवस्थामा कार्यकारी प्रमुखको आवश्यकताबारे गहिरो बहस गरिरहेका छन् । प्रचण्ड जनताका अपेक्षा छिट्टो पूरा हुनेमा विश्वस्त छन् । क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउने मिसनलाई कूटनीतिक तवरले प्रचण्डले निभाइरहेका छन् । प्रचण्डले आफ्नो जीवनकालमा जनतासँग गरेका वाचा पूरा गर्ने समाजवादी व्यवस्थाउन्मुख संविधान निर्माण गर्न अहं भूमिका निभाए । 

अब प्रचण्ड वैज्ञानिक तवरको समाजवादी व्यवस्था निर्माण गर्दै त्यसैको नेतृत्वमा मुलुकलाई वास्तविक समुन्नत बनाउन चाहन्छन् । यो योजनलाई असफल बनाउनेहरूको मुलुकमा कमी भने छैन ।

नेकपाभित्रका पनि कतिपय नेता कार्यकर्ता अध्यक्ष प्रचण्डलाई असफल बनाउन लागिपरेका छन् । प्रचण्डलाई असफल बनाउन लागेकाहरू मुसाले दुलो खन्ने शैलीमा पुराना तमसुक अझै केलाउँदैमा व्यस्त छन् । यो जडसूत्रीय चिन्तनको उपज हो।

वार्ता, संवाद, वादविवाद गर्दै प्रगतिशील वर्तमान सरकारविरुद्ध सिद्धान्तको रंग फेर्दै पूर्वाग्रही बन्नु सैद्धान्तिक रूपमा दक्षिणपन्थ नै हो । यस्तो चिन्तन गर्नुभन्दा यतिवेला प्रचण्ड र केपी ओलीलाई नेकपाभित्रबाट सिर्जनात्मक सहयोग गर्न आवश्यक छ ।

(आचार्य नेकपानिकटका विद्यार्थी नेता हुन् ।)
 

कात्तिक ३०, २०७५ मा प्रकाशित

विपिन आचार्य

ने क पाको युवा संगठनमा आवद्ध आचार्य समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार