सावधान !  कुण्ठित नहोस् है सूचना र अभिव्यक्तिको स्वतन्त्रता

मंसिर १, २०७५

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको सकृयतामा हिजो शुक्रवार दिउँसो आयोगको सभाकक्षमा ‘अभिव्यक्ति स्वतन्त्रता अवस्था र चुनौती’ विषयमा भएको विचार-विमर्श समयोचित पहल हो । प्रधान न्यायाधीशको पदमा रहेर मुलुकको न्यायपालिका हाँकेको शर्माको पृष्ठभूमि र अनुभवलाई ध्यानमा राख्दा उहाँको अहिलेको कदमलाई थप महत्वका साथ हेरिनु उचित हुनेछ । यसै परिप्रेक्ष्यमा, अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सुरक्षा संयन्त्र गठनको उहाँको सोचलाई स्वागतयोग्य मानिनु पर्छ । 

अभिव्यक्तिको स्वतन्त्रता हरेक व्यक्तिको नैसर्गिक अधिकार हो । त्यसै हुनाले लोकतान्त्रिक परिपाटी भएका देशका संविधानमा यसलाई नागरिकको मौलिक अधिकारको रूपमा उल्लेख गरिएको हुन्छ । मानव अधिकारको विश्व घोषणापत्र अनुमोदन गरे अनुरुपको दायित्व निर्वाह गरेको देखाउने प्रयोजनकै लागि भए पनि विचार र अभिव्यक्तिसम्बन्धी स्वतन्त्रतालाई तानाशाही शासनशैली भएका कतिपय देशका सरकारले समेत मान्यता दिने गरेका छन् । संविधानप्रदत्त यस्ता अधिकारको भोग-चलनलाई सहजीकरण गर्न ऐन नियमहरू नै तर्जुमा गरिएको हुन्छ । 


ADVERTISEMENT

प्रतिस्पर्ध्दात्मक राजनीतिमा प्रवेश गरेको माओवादी र एमाले एकीकृत भएको पार्टी सत्तारुढ हुनाले अहिलेको सरकार संविधानत: उपलब्ध नागरिक हक प्रचलन गराउन प्रतिबध्द नै रहेको मान्नुपर्ने हुन्छ यद्यपि हालैका महिनामा विचार,प्रकाशन/प्रसारण र सूचनाको हक कुण्ठित भएको मानिन सक्ने नीति-निर्देशनहरूले नेपाली प्रेसलाई झस्काएको छ । मन्त्रिपरिषद्का निर्णयहरू सातामा एकपल्ट मात्र सार्वजनिक गर्ने निर्णय यस प्रसङ्गको ताजा दृष्टान्त हो । 

सञ्चार प्रविधिको सुगमताको उपयोग गरेर मन्त्रिपरिषद्को सञ्चालन नै ‘कागजविहीन’ तुल्याइएको परिप्रेक्ष्यमा निर्णयहरू चाहिँ एकसाता खोपामा राख्ने कार्यशैली आलोच्य हुने नै भयो । पत्रकार सम्मेलन सात दिनमा एक दिन गरे पनि जनचासोका नीति-निर्णयलाई तुरुन्तै वेबसाइटमा राख्न कुनै व्यवधान नहुनु पर्ने हो । प्रेस जगत्‌लाई छिटो-छरितो ढङ्गले सूचना उपलब्ध गराउन साविकमै व्यवस्था गरिएको सूचना तथा प्रसारण विभागलाई सकृय भूमिकामा लगाउन पनि अप्ठेरो नपर्ला ।

मुलुकी ऐन विस्थापित गरेर केही महिनाअघि जारी गरिएको संहिता, छापाखाना र प्रकाशन सम्बन्धी प्रचलित नेपाल कानूनले संविधान अर्थात् मूल कानूनले दिएका नागरिक अधिकारको कटौती गर्न सरकारले सक्दैन । कदाचित् त्यसो गर्ने धृष्टता गरे सर्वोच्च अदालतको ढोका घच्‌घच्याउन पाउने बाटो खुला छ यद्यपि न्यायपालिकाको स्वतन्त्रता खुम्च्याउने अनेक प्रयत्न भएको सन्दर्भमा चिन्तामा परेको नागरिकलाई ढुक्क गराउन गाह्रो छ ।

प्रेस स्वतन्त्रता खुम्चिनु वा कुण्ठित हुनु भनेको अखबार, अन्लाइन, रेडियो र टेलिभिजन लगायतका माध्यमलाई मात्र असर पर्ने हो भन्ने मानसिकताको झलक पनि यदाकदा देखिन्छ । तर यो गलत निर्क्योल हो किनभने प्रत्यक्ष असर सेवा सञ्चालन गर्ने संस्था, निकायहरूलाई परे तापनि अन्ततोगत्वा ताजा सूचना, जानकारीको अभावले प्रभावित हुनुपर्ने जनसाधारणले नै हो । यस यथार्थबारे जनचेतना अभिवृध्दि गराउने अभियान चालिनु पर्छ, र यो काम प्रभावकारी ढङ्गले गर्नसक्ने भनेको पनि प्रेसकै विभिन्न अङ्गले हो । 

मंसिर १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस