फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आँखा छ हाम्रो तर देख्छ अरूले
कलम छ हाम्रो तर लेख्छ अरूले
गाउँ छ हाम्रो तर बस्छ अरूले
धर्ती छ हाम्रो तर टेक्छ अरूले
जीवन छ हाम्रो तर खेल्छ अरूले
वरिष्ठ संगीतकार चन्दन लम्जेलको यो गीत जस्तै छ देश । हामीलाई सबथोक हाम्रैजस्तो लाग्छ तर आखिरीमा हुन्छ अर्कैको । झण्डै टाट पल्टिएको नेपाल वायुसेवा निगमले ढिलै भएपनि खुशियालीको बहार ल्याएको थियो वाइडबडी जहाज किनेर तर त्यो खुशी लामो समय टिक्न सकेन । हाम्रो भनिएको थियो त्यो वाइडबडी तर रहेछ अर्कैको अर्थात् भाडाको । हामी आफैंले किनेको भनिएको थियो तर चर्को हालीमुहाली रहेछ कमिसनखोरहरूको ।
विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा ‘काले काले मिलेर खाम् भाले’ भनेर कालो वर्ण वा कालो रंगप्रति अपमान गरेको किमार्थ हैन । कागजपत्रमा मिलाएर गरिने नीतिगत भ्रष्टाचार वा पदको दुरुपयोग गरी मिलेमतोमा गरिने भ्रष्टाचारलाई ‘काले काले मिलेर खाम् भाले’ भन्न खोजिएको हो । हाम्रो राज्यको संरचना तथा सरकारी अड्डाहरूमा यस्ता कालेहरू धेरै छन् जसले मिलेर यो मुलुकलाई टाट पल्टाएका छन् ।
जस्तो कि नेपाल वायुसेवा निगम टाट पल्टिएको छ । सेता लुगा लगाएका काले कालेहरू, चोर चोरहरू, फटाहा फटाहाहरू, डाँका डाँकाहरू आ–आफैं झगडा गरेजस्तो गर्छन् तर भित्री रूपमा यिनीहरू मिलेका हुन्छन् र भाले काटेर सँगै खान्छन् । नेपाल वायुसेवा निगममा पनि यस्तै प्रवृत्तिका मनुष्यहरू देखापरेका छन् जो बाहिर देख्दा आफू आफू झगडा गरेजस्तो नाटक गर्छन् तर रात परेपछि सँगसँगै भाले काटेर खान्छन् ।
भालेजस्तो वाइडबडी
हाल चर्चाको उचाइमा छ, वाइडबडी । वाइडबडी भनेको भाले हो । यसो हेर्दा पनि भाले जस्तो नै त देखिन्छ । पखेटा पनि छ । थुतुनो पनि छ । तर लोकल भाले हो भन्ने आशा थियो । आखिर रहेछ बर्डफ्लू लागेको ब्रोईलर भाले । जे होस्, भाले त भाले नै हो । यो भालेको मासुमा दादागिरी गर्नेहरूको लुछाचुँडी उदेकलाग्दो छ । मानौं कि तिनले वर्षौंदेखि मासु खान पाएका छैनन् । देशको मासु, आमाको मासु ।
केहीले पखेटा तानेका छन्, केहीले खुट्टा तानेका छन्, केहीले टाउको तानेका छन् । बिचरा भाले वेग हान्न नसकेर हप्तौं भयो थला परेर बस्याछ । प्वाँखहरूमा जुम्रा परेका छन् । यी कुरा मैले किन लेखें भने, टेक्निकल्ली म वाइडबडीको विषयमा खासै जान्दिनँ, बुझ्दिनँ किनभने म क्याप्टेन विजय लामा हैन ।
तर समाचारहरूमा आएका टिप्पणी हेर्दा सातोपुत्लो जान्छ । हजारको कुरा हैन, लाखको कुरा हैन, करोडको कुरा नि हैन । अर्बौं खर्बौंको कुरा जोडिएर आएको छ यो भालेसँग । अरे बाबा ठकुरे, कमजोर मुटु भएकाहरूले कसरी पढ्न सक्लान् यी भयानक समाचारहरू ? बालुवाटारको मुकामभित्र यी समचारका एकथान कागज पुग्दैनन् भन्या ? के हाम्रा शासकहरूको आँखामा पट्टी बाँधिएको छ ?
पत्रकारहरूलाई खिसीटिउरी गरेको दिन
केही महिनाअगाडि विमान खरिदका मुख्य योजनाकार सुगतरत्न कंसाकारले टीभीका पत्रकारहरूलाई वाइडबडीको सन्दर्भमा गिज्याएर बोलेको हेर्दा यिनको साइकोलोजी हल्का बुझेको थिएँ । टीभीका पत्रकारलाई यिनले हाँस्दै आलटाले जवाफ दिएका थिए, खिसी गरेजस्तो । वाइडबडीको छिनोफानो गर्ने बराउनीकर्ता यिनै थिए । हाल यिनी भित्तामै पुगेका छन्, लात खाएका छन् । र ट्विटरतिर बर्बराउँदैछन् ।
तिनको कथन थियो, ‘जे जसरी भएपनि विमान ल्याएँ, अरू कुरा किन चाहियो ? प्राविधिक कुरा तिमीहरूलाई के थाहा ? मैले त विमान कम्पनीबाटै यात्रु हालेर ल्याउने भनेको तर सकिनँ,’ उनले हाँस्दै भनेका थिए । “ह्या, त्यो के रे त्यो मिडियाको नाम के रे, खेदो खनेको छ । नचाहिने प्रश्न ! खेदो खनेर बस्नुहोस्, विमान त उड्यो उड्यो ।’ कंसाकारले यसो भन्दा निगमका कर्मचारीहरू गलल्ल हाँसेका थिए ।
म पावरमा भएको भए यी कंसाकार अहिलेसम्म सदरखोरमा भइसक्थे । तर पावरमा हुनुहुन्छ केपी ओलीज्यू । कहाँको राजाराम, कहाँको हल्लुडे भण्डारी भने जस्तो यो आक्रोश मात्र हो । आक्रोशले जय गर्दैन । तर भालेको छिनोफानो गर्ने यी कंसाकारलाई राज्यले ज्वाईं मानेर पूजा गर्न मिल्दैन । वाइडबडी खरिद प्रकरणमा तत्कालीन समयमा कोको जोडिएका थिए, उनीहरूलाई तत्काल पक्राउ गर्नुपर्ने बेला भइसकेको छ ।
कतिपयले सामान्य ठानेका तिनै प्रश्नहरूले आज राष्ट्रिय प्रश्नको रूप धारण गरेको छ । र विभागीय मन्त्रीलाई जवाफ दिन हम्मेहम्मे परेको छ ।
हेर्नुहोस्, यति ठूलो राज्यदोहनको घोटला एक्लै गर्न सकिँदैन । मतलब कंसाकार एक्लैले यो घोटाला गर्न प्राविधिक रूपमा पनि सक्दैनन् । वाइडबडी भनेको वीरगञ्जमा गएर गीयरवाला साइकल किनेजस्तो हैन । बैंकले कर्जा उपलब्ध गराएको छ । सरकार जमानी बसेको छ । त्यसैले वाइडबडीको घोटालामा राज्यको पूरै संयन्त्र नै सक्रिय भएर लागेको छ । हो, यो विषय प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ ।
प्रधानमन्त्री स्वयं षड्यन्त्रकारीहरूको घेराबन्दीमा छन् कि जस्तो देखिन्छ । निकटस्थ मनुष्यहरू झट्ट हेर्दा दास र कारिन्दा जस्ता देखिन्छन् । तर पैसा अहिले नकमाए कहिले कमाउने भन्ने ध्याउन्नमा छन् तिनीहरू । आलोचकहरूलाई देखी नसहने ओलीज्यूको छाती जबसम्म सगरमाथा जस्तो विशाल हुँदैन तबसम्म असफल भइसकेको यो सरकार फेरि सफल हुने कुनै सम्भावना देखिन्न । वाइडबडीको घोटाला यसको एक कडी हो ।
हालसालै मन्त्री र सचिवहरू सहभागी बैठकमा प्रधानमन्त्री ओलीले ‘वाइडबडी किन ल्याइयो, किन उडाइएन? जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् भनेर सोधेका थिए । प्रमको प्रश्नको जवाफमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले ट्याक्सीजस्तो आउनेबित्तिकै जहाज कहाँ उडाउन सकिन्छ र भनी जवाफ दिएका थिए । ती सचिवको यस्तो गैरजिम्मेवारपूर्ण जवाफबाट नै अनुमान लगाउन सकिन्छ कि दैनिक करोडौं घाटामा जानेगरी वाइडबडीलाई घाम तपाएर राख्नका लागि ल्याइएको हो ।
वाइडबडी ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका छन् । विमानको ब्रेक सिस्टममा खराबी आएको भनिएको छ । तीन वर्षको वारेन्टी भएपनि तीन महिना नउड्दै समस्या आएको छ । खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनुनपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो ? यो टेक्निकल कुरा पनि मान्न सकिन्न किनभने जहाज महिना दिन पनि राम्रोसँग उडेको छैन । यो वाइडबडी बन्दा पहिला ल्याइएका चिनियाँ जहाजहरू पनि उडेका छैनन् । तिनमा पनि विभिन्न प्राविधिक समस्याहरू देखिएका छन् ।
वाइडबडी विमान खरिद गरेका सम्पूर्ण कागजातहरू उपलब्ध गराउन संसदीय समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले विमान खरिदको विषयमा धेरै विवाद भएको भन्दै आवश्यक छानबिनका लागि विमान खरिदका सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएकी हुन् । यता मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणका कागजपत्रहरू २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिबद्धता जनाइसकेका छन् ।
यसरी गरियो ६ अर्ब ६० करोड घोटाला
एयरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सिरिजका वाइडबडीका जहाजको खरिदमा कम्तीमा पनि ६ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम घोटाला भएको सहजै अनुमान गरिएको छ । निगमले ती जहाजहरूलाई १०८.२ मिलियन डलर रकम भुक्तानी गरिसकेको छ । त्यो पनि निगम आफैं नाफामा गएर भुक्तानी गरेको हैन । टाट पल्टिने र सरकार जमानी बस्ने गरेर किनिएको हो ।
निगमले सुनियोजित रूपमा विभिन्न बिचौलियाहरूको गिरोह खडा गरेर मिडिया र सरोकारवाला निकायहरूलाई समेत थाहा नदिने चलाखीपूर्ण बाटो भएर दुई वाइडबडी जहाज त ल्यायो तर किनेर ल्याइएको भनेर हल्ला पिटिएका उक्त जहाजहरू निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाईफ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ । मतलब ती जहाजहरू भाडामा ल्याइएका हुन् र भाडा तिर्न नसकेको अवस्थामा ती जहाजहरू फिर्ता हुन पनि सक्छन् वा निगम टाट पल्टिन सक्छ ।
टाट पल्टिसकेको निगमले भाडामा जहाज ल्याउँदा र सन्तोषजनक ढंगले उडान भर्न नसक्दा के हुन्छ ? यसको उत्तर राज्यसँग नै छैन । एक टेलिभिजन अन्तर्वार्तामा हालै पर्यटनमन्त्री मन्त्री रवीन्द्र अधिकारीले ‘भाडामा त हैन होला, हो र ? हो भने त ब्लन्डर नै भयो नि’ भनेर अनभिज्ञता प्रदर्शन गरेका थिए । त्यो जहाजमा कंसाकारको पारिवारिक सम्पत्ति हैन कि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्बसहित करीब २५ अर्ब रुपैयाँ खर्च गरिएको छ ।
यसकारण यो मिलिजुलीमा जनता र राज्यलाई नै गुमराहमा राखेर गरिएको नीतिगत भ्रष्टाचार मात्र नभएर राज्यकै अपमान र दोहन गरिएको मेरो निष्कर्ष छ । यसमा राज्यका संरचनामा बसेका ठूला पदका मानिस, निगमका मानिस, विदेशी एजेन्टहरू सबै मिलेका छन् । सबैले बाँडीचुँडी खाएका छन् । त्यसैले त यो विषयमा शासकहरू तैं चुप मै चुपको अवस्थामा छन् । ती जहाजको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अर्को दुःखको कुरा, अन्तर्राष्ट्रियतर्फ २०७३/७४ का तुलनामा २०७४/७५ मा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ ।
पहिलो सहमतिअनुसार जहाज उपलब्ध गराउन प्रस्ताव पेश गरेको कम्पनी एएआर इन्टरनेसनल कर्पोरेसनले २०१६ को मूल्यमा आधारित भएर बढीमा १०४ मिलियन डलरमा जहाज उपलब्ध गराउने प्रस्ताव राखेको थियो । यो प्रस्तावसमेत सेटिङमा आएको हुन सक्छ किनभने २०१६ को वास्तविक मूल्यमा वार्षिक मूल्यवृद्धि थप्दा निगमले किनेको जहाज ९३.०५ मिलियनमा आउँछ । अरू टेन्डर हालेका कम्पनीहरूको बारेमा निगम मौन छ । लोककल्याणकारी राज्यमा यसो हुनु दुःखद विषय हो ।
हाल नेपाल वायुसेवा निगमको अधिकृत पूँजी ३० करोड रुपैयाँ छ । अर्थशास्त्रीहरू के बताउँछन् भने वाइडबडीमा कुल लगानी ३ अर्ब १० करोड रुपैयाँ छ । जहाजले तिर्नुपर्ने कर्जा रकम मात्रै ३२ अर्ब ८७ करोड रुपैयाँ छ । जहाज नियमित सञ्चालनमा आइसकेको पनि छैन । आन्तरिक उडानमा पनि सीट फ्याक्टर २०७४÷७५ मा औसत ८३ प्रतिशत थियो । २०७५ साउनमा ६६ र भदौमा ७३ प्रतिशत रह्यो । विना तयारी जहाज ल्याउँदा त्यो जहाज कसले उडाउने हो भन्ने पनि हचुवाको भरमा जानकारी दिइएको छ । विभिन्न कारण देखाएर जहाज ग्राउन्डेड गराइएको छ । जहाजले उडेपनि, नउडेपनि कर्जाका लागि वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तान गर्नुपर्छ । यसको जिम्मा कसले लिन्छ ?
स्रोतका अनुसार, नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको टेन्डरमा १० वटा कम्पनीहरूले प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावको मूल्यांकन गर्ने समितिले २०१६ को एयरबस ३३०-२०० को मूल्य करीब ८८.१ मिलियन (८८,०९९,३१७) डलर उल्लेख गरेको देखिन्छ । र मूल्याङ्कन समितिले पनि प्रभावमा परेको सहजै अनुमान गर्न सकिन्छ । दुई वाइडबडीको शुरूको ४५ दिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । काले काले मिलेर खाम् भाले भनिएजस्तै कंसाकार, सरकारका उच्च अधिकारीहरू तथा कथित मूल्याङ्कन समिति नै आर्थिक प्रलोभनमा परेको देखिन्छ ।
एयर फ्रेमको मूल्य जम्मा ७३.४ मिलियन र इन्जिनको मूल्य अमेरिकी डलर १४,६९९,३१७ उल्लेख गरिएको छ । मूल्यांकन समितिले पाँच वर्षको औसत मूल्यवृद्धि २.७६९९ प्रतिशत निकालेको छ । सोही मूल्यवृद्धि राख्दा पनि २०१८ मा किन्ने वाइडबडीको मूल्य ९३.०५ मिलियनभन्दा बढी हुँदैन । पछिल्ला दुई हरफका यी आँकडाहरू अध्ययनका लागि विभिन्न मिडिया स्रोत र वायुसेवा सम्बन्धी जानकारहरूबाट लिइएको हो र यो स्टोरीमा समावेश गरिएको हो । वायुसेवा निगमलाई भार पर्ने यस्तो कदम किन चालियो ? त्यो रहस्यमय छ ।
विमान त विवादमा फस्यो नै । खरिद प्रकरण समेत शंकास्पद भयो । विमान भाडाको हो कि नेपाल वायुसेवा निगमको हो त्यो पनि थाहा भइसकेको छैन । शायद अब यो विषयले निचोड पाउला । दुःखको कुरा यो हो कि विमानको बारेमा अन्योल त छ नै, साथसाथै वाइडबडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ पर्छ । ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ हुन आउँछ । कमिसनखोरहरूले टाट पल्टाएको यो घाटा कसले बेहोर्छ ?
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...