रिस र तनाव घटाउनका लागि राग सुन्नुस्

मंसिर १७, २०७५

काठमाडौं — तपाईंलाई ससाना कुरामा रिस उठ्छ भने राग सहाना सुन्ने गर्नुस् । यसले दिमागलाई शान्त बनाउँछ र रिस घटाउँछ । 

तनाव भइरहन्छ भने राति राग दरबारीको आनन्द लिने गर्नुस् । तनाव हराउँछ । 

अनि मधुमेह वा मुटुरोग छ भने विभिन्न रागहरूले त्यसविरुद्ध लड्न सहायता गर्छन् । 

फरक फरक रागले मानिसको मन र मस्तिष्कमा पार्ने असरका विषयमा भारतस्थित आईआईटी कानपुरको अध्ययनपछि यो परिणाम निस्केको छ । 

अध्ययनको निष्कर्षअनुसार, दिउँसो राग भीमपलासी सुन्दा दिमाग शान्त रहन्छ र तनाव कम गर्न सहायता गर्छ । 

पेटसम्बन्धी समस्या छ भने राग पूरिया धनाश्री अनि एसिडटी भएमा राग दीपक र राग जौनपुरी सुन्नुपर्छ । 

ह्युमानिटीज एन्ड सोसल सायन्सेसका प्राध्यापक बृजभूषण, इलेक्ट्रिकल इन्जिनीयरिङ विभागका प्राध्यापक लक्ष्मीधर बेहरा र अनुसन्धानकर्मी आशिष गुप्ता यो टोलीमा छन् ।

इन्स्टिच्युटका केही विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । उनीहरूले त्यसअघि कहिलेपनि राग दरबारी सुनेका थिएनन् । 

उनीहरूलाई १० मिनेट राग दरबारी सुनाइयो । अनि ईईजी टेस्ट गरियो । तीन चरणमा आएको रिपोर्टको ग्राफिकल म्यापिङ गरियो । 

राग सुनेको १०० सेकेन्डभित्र दिमागका न्युरोनहरूको सक्रियता बढेको पाइयो । राग सुनेको १० मिनेटसम्म यो स्थिति कायम रहने पाइयो । 

प्राध्यापक बेहराका अनुसार, राग सुन्दा न्युरोनहरूमा न्युरल फायरिङ हुन्छ । एक न्युरोनले अर्कोलाई करेन्ट सप्लाई गर्दा त्यसलाई न्युरल फायरिङ भनिन्छ । यसैले न्युरोनको सक्रियता दर्शाउँछ । 

केही समय मात्र राग सुन्दा पनि यो गतिविधि चरममा पुग्छ । यसले गर्दा दिमाग शरीरका विभिन्न अंगलाई सन्देश पठाउँछ । 

यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ । 

एजेन्सी
 


ADVERTISEMENT

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस