‘म जिउँदै छु’ : नाइजेरियाका राष्ट्रपतिले दिए स्पष्टीकरण

मंसिर १७, २०७५

काठमाडौं — नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफ्नो मृत्यु भएको र एकजना सुडानी व्यक्तिले आफ्नो भेष धरेर शासन चलाएको दाबीलाई खारेज गरेका छन् । 

सामाजिक सञ्जालमा महिनौंसम्म यो अनर्गल हल्ला चलेपछि बुहारीले स्पष्टीकरण दिएका हुन् । 

बुहारीले सन् २०१९ को फेब्रुअरीमा हुने निर्वाचनमा भाग लिने बताएका छन् । उनी अघिल्लो वर्ष एक अज्ञात रोगको उपचार गराउन बेलायतमा पाँच महिनासम्म बसेका थिए । 

त्यसपछि सामाजिक सञ्जालमा अनि बुहारीका केही राजनीतिक विपक्षीहरूले उनको ठाउँमा उनीजस्तै देखिने सुडानका जुब्रिल नामक व्यक्तिले शासन चलाएको हल्ला चलाए । 

यो दाबीलाई पुष्टि गर्ने कुनै पनि प्रमाण पेश गरिएन तर दाबीको भिडियोमा युट्युब र फेसबूकमा हजारौंपटक हेरिएको छ । 

‘यो म नै हो, म सुनिश्चित गराउन चाहन्छु । म छिट्टै आफ्नो ७६औं जन्मदिन मनाउँदैछु र अझै बलियै छु,’ बुहारीले पोल्यान्डको एक सभागृहमा भेला भएका नाइजेरियालीहरूलाई बताए । 

‘धेरै मानिसले म बिरामी भएपछि मर्छ कि भनी आश गरेका थिए । म मरेको अनुमान गर्दै उनीहरूले उपराष्ट्रपतिलाई भेटेर डेपुटी बनाउन आग्रह पनि गरेका थिए । त्यसले गर्दा उनलाई लाजै लाग्यो अनि म लन्डनमा आराम गरिरहँदा
उनी मलाई भेट्न आए,’ उनले भने । यस्तो हल्ला फैलाउनेहरू अज्ञानी र विधर्मी रहेको उनले थपे ।

द गार्डियनबाट


ADVERTISEMENT

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस