फ्रान्स सरकारले इन्धनको कर वृद्धि स्थगित गर्ने

मंसिर १८, २०७५

काठमाडौं — फ्रान्सको सरकारले इन्धनको मूल्यवृद्धि हुने गरी कर बढाउने कामलाई स्थगित गर्ने प्रधानमन्त्री एडूआर्ड फिलिपेले बताएका छन् ।

इन्धनको मूल्यवृद्धिका कारण फ्रान्समा हप्तौंसम्म हिंस्रक प्रदर्शन भएपछि प्रधानमन्त्रीले सत्तारूढ दलका सांसदहरूलाई टीभीमार्फत सम्बोधन गरेर परिस्थितिलाई थप बिग्रन नदिने गरी जनतालाई सन्तुष्ट बनाउनतिर लाग्ने बताए । 

विरोधका कारण फ्रान्सका प्रमुख शहरहरूमा निकै क्षति पुगेको छ । 

गिलेट्स जाउनेस अर्थात् पहेंलो ज्याकेटधारीको विरोध प्रदर्शनले सरकारविरुद्धको क्रोधलाई प्रतिबिम्बित गरेको छ । 

अशान्ति बढेपछि तीनजनाको मृत्यु भएको छ र हिंसा तथा तोडफोडको व्यापक निन्दा भएको छ । शनिवार आर्क दे ट्रिओम्फका मूर्तिहरू भत्काइएका थिए । 

राष्ट्रपति इम्मानुएल म्याक्रोंले प्रचण्ड बहुमतका साथ दुई वर्षअघि चुनाव जितेका थिए र व्यापक परिवर्तनको कार्यादेश पाएका थिए । तर यो विरोध प्रदर्शनसँगै उनको लोकप्रियता स्वात्तै घटेर गएको छ । 

म्याक्रोंले राजनीतिक विपक्षीहरूलाई आन्दोलनमा घुसपैठ गरेर सुधार प्रक्रिया बिथोल्न खोजेको आरोप लगाएका छन् । 

बीबीसीबाट


ADVERTISEMENT

मंसिर १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस