कपाल रंगाउँदा भयो यस्तो हालत

मंसिर १९, २०७५

काठमाडौं — एक फ्रान्सेली महिलाले कपालमा रंग लगाउँदा निकै क्षति बेहोर्नुपरेको छ । 

कपाल रंगाएपछि महिलालाई एलर्जी भयो र उनको अनुहार सुन्नियो । 

ती महिलाको नाम एस्टेल हो र उनी १९ वर्षकी भइन् । कपाल रंगाएपछि आफ्नो अनुहार सुन्निएर बिजुलीको बल्ब जस्तो भएको उनले बिलौना गरिन् । 

उनले भनिन्, ‘कपालमा पाराफेनीलेनेडायामाइन नामक रसायन लगाएपछि मलाई एलर्जी भयो ।’

छोटकरीमा पीपीडी भनिने यो रसायन मेकअप र कपाललाई रंगाउने उत्पादनका रूपमा चिनिन्छ । 

आफूले उक्त रसायन कमै मात्र लगाएको भए पनि त्यसको रियाक्सन तत्कालै आएको उनले बताइन् । रसायनका कारण अनुहार सुन्नियो र टाउको पोल्यो । सुन्निने रोक्नका लागि उनले औषधिहरू लगाएको भए पनि काम गरेन । 

उनको टाउको पहिलेको भन्दा दुई इन्च बढ्यो । जिभ्रो पनि सुन्नियो । 

पीपीडी प्रयोग गरेपछि एस्टेललाई सास फेर्न समेत गाह्रो भयो । अनि उनलाई तत्कालै अस्पताल भर्ना गरियो । अस्पतालमा उनलाई एड्रेनलिन शट दिइयो । 

एड्रेनलाइनले शरीरमा रक्तप्रवाह बढाउँछ । उनको सुन्निएको अनुहार बिस्तारै बस्दै गयो । चिकित्सकहरूले एक रात उनलाई निगरानीमा राखे । 

उपचारपछि एस्टेलले भनिन्, ‘म त लगभग मरिसकेकी थिएँ । अरू कसैलाई पनि यस्तो नहोस् भनी कामना गर्छु ।’

एजेन्सी
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस