प्रवेश परीक्षा नै नदिएका विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउने योजनामा अदालतको रोक, जानकी र किस्ट मेडिकल कलेजको रिट खारेज

मंसिर १९, २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त मेडिकलेजहरुले प्रवेश परीक्षाबिनै विदेश विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि भर्ना गर्न पाउने गरी अन्तरिम आदेश जारी गर्न गरेको माग अदालतले अस्वीकार गरिदिएको छ । 

काठमाडौंको किस्ट मेडिकल कलेज र धनुषास्थित जानकी मेडिकल कलेजले एनईईटी र एसएटी (स्याट) परीक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई सिधै भर्ना गर्न पाउनुपर्नेभन्दै त्रिविअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा आवेदन दिएका थिए । 


ADVERTISEMENT

आईएमले एमबीबीए र बीडीएसमा भर्ना हुने विदेश विद्यार्थीले अनिवार्य रुपमा प्रवेशिका परीक्षामा सहभागी हुनुपर्ने जवाफ पठायो । 

एनईईटी र एसएटी परीक्षा उत्तिर्ण विद्यार्थीले प्रवेश परीक्षा दिनै पर्ने त्रिविको नियम विरुद्ध किस्ट मेडिकल कलेजले २४ माघ २०७४ र जानकी मेडिकल कलेजले २८ माघ २०७४ मा उच्च अदालत पाटनमा रिट दायर गरे । 

त्रिविको निर्णयले आफूहरुको व्यवसाय नै चौपट पर्ने भन्दै उक्त निर्णय बदर हुने गरी अन्तरिम आदेश जारी हुनुपर्ने दुवै मेडिकल कलेजले दायर गरेको रिटमा माग गरिएको थियो । 

किस्ट कलेजको रिटमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायाधशि प्रकाश कुमार ढुंगानाको इजलाशले २५ माघ २०७४ मा तथा जानकी मेडिकल कलेजको रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलाशले २० माघ २०७४ मा प्रवेश परीक्षा नलिइ विदेशी विद्यार्थी भर्ना गर्न नपाउने बारे आईओएमका नाममा कारण देखाउ आदेश जारी गर्यो । 

उच्च अदालतको कारण देखाउ आदेशमा आईओमएमका डिन जगदिशप्रसाद अग्रवालले निवेदक (किस्ट र जानकी मेडिकल कलेज)को माग कानून बमोजिम नभएको जवाफ पठाए । 

रिटमाथिको सुनुवाइका लागि ९ पटक पेशीमा चढेपनि बुधवार उच्च अदालतका न्यायाधीशद्वय गुणराज ढुंगेल र टेकनारायण कुँवरको इजलाशले रिट खारेज गरिदिएको छ । 

निवेदक मेडिकल कलेजले विदेशी विद्यार्थीलाई भर्ना गर्न दिनु, दिलाउनु तथा पठनपाठन नरोक्नु भन्दै विपक्षी (आईओएम)का नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । तर, उच्च अदालत पाटनले अन्तरिम आदेश जारीग हुनुपर्ने अवस्थाको विद्यमानता नभएको भन्दै रिट खारेज गरिदिएको छ । 

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस