गोरखका दुवै मृगौला फेल : न उपचार खर्च, न मृगौला दिने दाता

मंसिर २०, २०७५

काठमाडौं – दुवै मृगौला फेल भएर काठमाडौंमा उपचार गराइरहेका जाजरकोटका गोरखबहादुर शाहीले सहयोगको याचना गरेका छन् ।

जुनीचाँदे गाउँपालिका–२ जाजरकोटका गोरख अहिले काठमाडौंको बयोधा अस्पतालमा उपचार गराइरहेका छन् ।


ADVERTISEMENT

२ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका गोरखलाई मृगौलासम्बन्धी समस्या देखिएपछि उनले काम गरिरहेको कम्पनीले उनलाई फिर्ता गरेको थियो । कतारस्थित ‘जीटजी’ कम्पनीमा कार्यरत उनी २ हप्ताअघि नेपाल फर्किएका हुन् ।

कतारमा रहँदा उपचारमा १ लाख रुपैयाँ खर्च भएको उनले बताए । काठमाडौं आएको ३ हप्तामा उपचारसहित डेढ लाख रुपैयाँ खर्च भइसकेको गोरखले बताए । आफू विदेश जाँदा लिएको ऋण समेत तिर्न नसकिएको भन्दै उनले उपचारका लागि लाग्ने खर्च जुटाउने उपाय नै नभएको दुखेसो पोखे ।

उनका अनुसार मृगौला प्रत्यारोपण गर्न करीब १५ लाख लाग्ने अस्पतालले बताएको छ । ‘अहिलेसम्म औषधिको भरमा छु, अस्पतालले मृगौला हाल्न १५ लाख रुपैयाँ जति लाग्छ भनेको छ,’ उनले भने, ‘रकम कहाँबाट जुटाउनु ? कतैबाट पैसा सहयोग भइहालेपछि मृगौला कहाँ पाउने ? कुनै उपाय छैन ।’

गोरखले मृगौला दिने व्यक्ति पाएको खण्डमा सरकारले प्रत्यारोपणमा लाग्ने खर्चवापतको ५ लाख रुपैयाँ व्यहोर्ने व्यवस्था छ । गोरख कतार गएको २ वर्ष नपुग्दै बिरामी भएका थिए ।

कतारको अस्पतालमा जाँच गराउँदा दुवै मृगौला फेल भएको रिपोर्ट आएको उनले बताए । उनले सहयोगको समेत याचना गरेका छन् । सहयोग गर्न चाहनेले ९८२६५६४२१३, ९८०३५४३९०९ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

मंसिर २०, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस