राजनीतिमा मुकुटविनाका ठुटे राजाहरूको बिगबिगी

मंसिर २५, २०७५

नेपालको राजनीतिमा जतिसुकै उन्नत परिवर्तन आएपनि यथार्थ धरातलमा अझै पनि परिवर्तनको आभास दिने कुनै संकेत र लक्षणहरु देखापरेका छ्रैनन् । त्यसका बिभिन्न कारणहरु भएपनि मूलतः काँग्रेस काँग्रेस जस्तो रहेन र कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट जस्ता भएनन् । 

सत्तामा पुगेपछि ती राणा, शाह वंश आदि प्रबृत्तिकै पदचिह्नमा हिँडे र हिँडिरहेका छन् । फलतः वास्तवमा जुन नीतिले मुलुकको राजनीतिमा परिवर्तन ल्यायो त्यो नीतिको रक्षा, विकास र विस्तार गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । 


ADVERTISEMENT

उल्टै, त्यो विचारलाई पूरै उपेक्षा गरियो । त्यसले गर्दा परिवर्तनको बाटो बिराइयो । अनि त मुलक दिशाहीन भएर झाडीमा पस्छ र फस्छ नै । यसरी कदापि गन्तब्यमा पनि पुगिदैँन  । अहिले यस्तै राजनीति भइरहेको छ । त्यसैले आममानिसहरुले राजनीति भनेको जालझेल, तिकडमबाजी, अपवित्र साँठगाँठ गरेर कमाउने धन्धाचलाउने कुरो रहेछ भन्ने बुझेका छन् । कोही कतै अपवादमा जनता र राष्ट्रको तत्कालीन र दीर्घकालीन हितमा खडा हुन पुगेछ भने त्यो शक्ति, ब्यक्ति, समूह या दल किनारा लाग्यो भन्ने बुझे हुने भएको छ । त्यसैले अहिलेसम्म सत्तामा गएकाहरुले ब्यवहारिक राजनीतिको जब कुरा गर्दछन् त्यो अरु कुनै कुरा नभएर आदर्श, विचार, सिद्धान्त र नीतिबाट च्यूत हुने कुरालाई सहजरुपमा लिने भन्ने बुझिन थालेको छ ।

आफूलाई काग्रेस र कम्युनिष्ट भन्नेहरुले हाम्रो ७० बर्षको निरन्तरको संघर्ष के को लागि भएको थियो भन्ने कुराबाटै बिमुख भएपछि वास्तवमा परिणामतः यस यथास्थितिको चक्रब्यूहमा पर्ने बाहेक अरु केही हुने आशापनि गर्न सकिँदैन र गर्नु पनि हुुँदैन ।

आजको राजनीतिलाई विचारले होइन, बजार र बिज्ञापनले हाक्ने गरेको छ । त्यसैले यो निरन्तर परमुखापेक्षी र पराश्रित हुँदै आएको छ । जसको दुष्परिणाम हिजोदेखि नै हामीले भोग्दै आएका थियौ र अहिले त्यो निकै भयावह रुपमा हामीले भोग्नु बेहोर्नु पर्‍यो, परिरहेको छ ।

तर फेरि यस्तो समस्याको बोझ बोक्नु, बेहोर्नु नपर्ने स्थिति निर्माण गर्न जुन राष्ट्रिय एकता चाहिन्छ, जुन राष्ट्रिय नीति चाहिन्छ र जुन राष्ट्रय नेतृत्व चाहिन्छ त्यसको चौतर्फी अभाव आज खट्किरहेको छ । राजनेता बिनाको राजनीतिक रजाइ जस्तो भएको छ । यसका निराकरणको निमित्त आवश्यक पहलपनि कतैबाट भएको देखिदैन । त्यसले गर्दा हाम्रा मूख्यमूख्य कुराहरुमा नै राष्ट्रिय तत्कालीन र दीर्घकालीन ठोस नीति नभएको कुरा सधैं खट्किने गरेको छ । राजनीति राष्ट्र र जनताको सर्बतोमुखीप्रगति र हितमा नभएर दलगत संकीर्णता र गुटगत स्वार्थको सेरोफेरोमा केन्द्रितभएर चल्ने, चलाउने गरेपछि नै यस्तो स्थिति निरन्तर रहँदै आएको हो । आफूलाई काग्रेस र कम्युनिष्ट भन्नेहरुले हाम्रो ७० बर्षको निरन्तरको संघर्ष के को लागि भएको थियो भन्ने कुराबाटै बिमुख भएपछि वास्तवमा परिणामतः यस यथास्थितिको चक्रब्यूहमा पर्ने बाहेक अरु केही हुने आशापनि गर्न सकिँदैन र गर्नु पनि हुुँदैन ।

यद्यपि यो समस्या समाधानको मूलबाटो होइन । मूलबाटो हो — नेपाली जनतालाई एकताबद्ध गर्ने, उनीहरुका साझा समस्या उठाउने र समाधानको बाटो देखाउने तथा राज्यको ध्यान सम्पूर्ण रुपमा त्यसैमा केन्द्रितगर्ने, बिकासका बकम्फुसे बकबक होइन ठोस, बस्तुगत र मूलतः आत्मनिर्भर बाटो अबलबन गर्ने र श्रोत साधनको स्वामित्व र परिचालनमा रहेका समस्याहरु हलगर्ने प्राथमिकता र अग्रसरता लिने अनि उत्पादन र बितरण बीच निरन्तर रहँदै आएका अन्तरबिरोधको हलगर्ने नीति र प्रभाबकारी कार्य योजना ल्याउने र कार्यान्वयन गर्ने । यसो नगरीकन लोकतन्त्र भनेको चुनावमा बढी मत ल्याउनेले सत्ता चलाउने र कम ल्याउनेले प्रतिपक्षमा बस्ने मात्र बनाउनु हुँदैन  ।

चर्को महँगी जस्ताको तस्तै छ । जनतालाई कुनै सुबिधा र राहतको अनुभुति हुन सकिरहेको छैन । अहिलेसम्म त केवल आफूलाई शोषण र शासनगर्ने शासक बर्गको अनुहार फेर्ने काममात्रै भएको छ जनताको लागि

देश र जनताको आवश्यकता, समस्या र भावी सन्ततिको भबिष्य प्रति उदासीन रहने गलत परिपाटीको तत्काल अन्त्यगर्नै पर्दछ । अन्यथा राणा शासन र पञ्चायतभन्दा केही फरक पर्दैन । राणा शासनमा सत्ताका लागि परस्परमा काटमार थियो नै तै पनित्यो निरंकुश शासन १०४ वर्ष चल्यो । स्थिरताले बिकास हुने भए त्यतिबेला ब्यापक विकास हुने थियो ।

जनतालाई दमन गरेर आपसमा ङ्यारङ्यार ङुरङुर गर्दै राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थापनि झण्डै तीस वर्ष चल्यो । त्यसपछि आएको बहुदल र गणतन्त्र चलेको पनि २६ बर्ष भइसक्यो । तर प्रबृत्ति, परिपाटी, परम्परा पटक्कै फेरिएन । प्रशासन उस्तै दलहरुको दलदल उस्तै । न भ्रष्टाचार रोकिन्छ न कमिशनखोरी, न तस्करी न कालो बजारी कम भइरहेको छ । चर्को महँगी जस्ताको तस्तै छ । जनतालाई कुनै सुबिधा र राहतको अनुभुति हुन सकिरहेको छैन । अहिलेसम्म त केवल आफूलाई शोषण र शासनगर्ने शासक बर्गको अनुहार फेर्ने काममात्रै भएको छ जनताको लागि । मुकुट लगाएको राजाको ठाउँमा मुकुटविनाका ठूटे राजाहरुको बिगबिगी ! मात्र देखिएको छ । के जनताले यसैका निमित्त संघर्ष, त्याग र बलिदान गरेका हुन् ? के महान शहीदहरुले राष्ट्र र जनताको यस्तै गए गुज्रेको स्थितिका निमित्त सुन्दर जीवन परिवर्तनको बेदीमा उत्सर्ग गरेका हुन् ? यी गम्भीरतम् प्रश्नको सही उत्तर कसले दिने ?

जबसम्म देशका जनता अबाञ्छित भय, भ्रम र भ्रष्टाचारबाट मुक्त हुँदैनन् उनीहरु एकताबद्ध हुुनपनि सक्तैनन् बिकृति र बिसंगतिका बिरुद्धमा सशक्त आवाज पनि उठाउँन सक्तैनन् । यो एकदमै अनुभव सिद्ध र यथार्थ कुरा हो । त्यसैले आजको पहिलो राष्ट्रिय आवश्यकता नै सबै प्रकारका भ्रम, भय र भ्रष्टाचारबाट मुलुकलाई मुक्तगर्ने राष्ट्रिय जनजागरण, जन आन्दोलन र संघर्षको बिकास गर्नु हो । यसबाट बिमुख रहेर परम्पराबादी पारा र नाराले आमजनताका निम्ति प्रगति, बिकास र समृद्धिको कुनै अर्थ हुदैन । जनता सँधै ‘ताबाबाट उम्किने र भुँग्रोमा पर्ने’ मात्र स्थितिले निरन्तरता पाउँदछ । अरु केही हुँदैन । 

वास्तवमा हिजोदेखि आजसम्मको कुरालाई सर्सरी केलाउँने हो भने यो भन्दा अर्को कुनै सकारात्मक निष्कर्श निस्कदैन । अवसरवाद, उपभोक्तावाद, नातावाद, कृपावाद, भ्रष्टाचार सबै कुराले नेतृत्वलाई गाँजेको छ  र त्यो रोग माथि सिंहदरबार, पार्टी कार्यालयदेखि तल वडा–वडासम्म फैंलिएको छ । अनि दलहरुको गुटगत वर्चश्वकालागि बजेट हत्याउने, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुमा आ–आफ्ना मान्छे भर्ने गरेपछि ‘मेरिटोक्रेसी’ पनि भनिने लोकतन्त्रमा गुण, क्षमता, दक्षताको कुरा समाप्त भएर जान्छ । अनि त्यहाँ विचार, नीति, सिद्धान्तको कुरा पनि केही बाँकी रहँदैन ।

जुन कुरा आफुलाई काग्रेस र कम्युनिष्ट भन्नेहरुका लागि बिल्कुलै अमान्य र अस्वीकार्य हुनुपर्ने हो । तर बिरलै एकाधलाई छोडेर ती सबै कुरा आज हराएर गएका छन् र जसले जे नाम राखे पनि जस्तो झण्डा बोके पनि त्यो जनतालाई बेबकुफ बनाउनका लागि गरिएको पाखण्डपूर्ण प्रदर्शन मात्र हुने गरेको छ । त्यसैले मानिसहरुमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, आत्मनिर्भरता र समृद्धि जस्ता कुरा पनि निरर्थक लागिरेका छन् । राजनीतिप्रति नै बितृष्णा बढेको छ ।

यो वास्तवमा लोकतन्त्र, समानता, समुन्नतिका निमित्त जन सकृयता र आत्मबिश्वास बढाउने कुरा बिल्कुलै होइन । अनि यो  लोकतन्त्रलाई सबल, सक्षम, जन उत्तरदायी तुल्याउने कुरा पनि किमार्थ होइन । यस्तो स्थितिमा त्यहाँ न कग्रेस न कम्युनिष्ट केही पनि रहेको हुँदैन । लोकतन्त्र भ्रष्टतन्त्रमा परिणत हुन्छ । यो एकदमै यथार्थ कुरा हो । रंगरोगन गरिएको नयाँ कलेबरमा यथास्थितिबादी पुरानै राजनीति !

मंसिर २५, २०७५ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार