दलदलमा फस्दै सरकार, प्रहारको केन्द्रमा ओली

पुस ६, २०७५

हालै बसेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र सचिवालयका अन्य सदस्यबीचको द्वन्द्व निकै चर्किएको समाचारले राष्ट्रिय राजनीतिलाई अप्रत्याशित रूपमा तताइदिएको छ । ओलीमाथि पार्टीका वरिष्ठ नेता वामदेव गौतमको आक्रोश र आरोप कम गम्भीर प्रकृतिको छैन ।

त्यसैगरी युवा नेता धनश्याम भुसालले ओलीमाथि लगाएको गुटबन्दीको आरोप र ओलीलाई नेता स्वीकार नगर्ने अभिव्यक्ति अर्थपूर्ण छ । गौतम र भुसालको अभिव्यक्तिबाट मात्र होइन, सचिवालयका अन्य नेताहरू भीम रावल र योगेश भट्टराईको भनाइबाट पनि ओलीले पार्टीभित्र पकड गुमाउँदै गरेको र फुत्किन नसक्ने गरी घेराबन्दीमा पर्दै गएको सतहमा देखिन थालेको छ । 


ADVERTISEMENT

पार्टी जीवनमा बढ्दो असन्तुष्टिको प्रहारको केन्द्र ओली बन्दै गएका छन् । ओलीका लागि आगामी दिनहरू निकै चुनौतीपूर्ण बन्ने पृष्ठभूमि तयार हुँदै गएको छ । 

पार्टी जीवनमा प्रधानमन्त्री ओली यसरी एक्लिँदै गएका छन् भने आम जनताको नजरमा पनि उनी गिर्दै गएका देखिन्छन् । केही महिना अघिसम्म ओली सिंह जस्तै स्थितिमा रहेका थिए र पार्टी जीवनमा मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उनलाई चुनौती दिने कुनै व्यक्तित्व थिएन ।

उनका त्रुटिहरूलाई पनि विरोध गर्ने हिम्मत र साहस कमैले गर्दथे । ओलीको विरोध गर्नु आफ्नो राजनीति दाउमा राख्नु हो भन्ने धारणा प्रबल थियो । यस्तो पहाड जस्तो जनसमर्थनलाई ओलीले सदुपयोग गरेका भए उनी ऐतिहासिक व्यक्तित्व मात्र बन्ने थिएनन्, राष्ट्रिय राजनीतिलाई पनि सही गति र दिशा दिन सक्दथे । किन ओलीले यस्तो राम्रो अवसरको सदुपयोग गर्न सकेनन् र बलवान् ओली यति चाँडो कसरी ओरालो लागे ? यो प्रश्न राजनीतिक क्षेत्रको    लागि मात्र होइन, आम जनताको लागि पनि जिज्ञासाको विषय बनेको छ । 

पार्टी जीवनमा बढ्दो असन्तुष्टिको प्रहारको केन्द्र ओली बन्दै गएका छन् । ओलीका लागि आगामी दिनहरू निकै चुनौतीपूर्ण बन्ने पृष्ठभूमि तयार हुँदै गएको छ ।

यस सन्दर्भमा कतिपय राजनीतिक विश्लेषकहरूले विशाल अवसरको सदुपयोग गर्ने हैसियत नै ओलीमा नभएको कारणले उनी असफल भएका हुन् दाबी समेत गरिरहेका छन् । 

ओलीको सगरमाथा जस्तो व्यक्तित्व तराईका मधेशी समुदायका नेताहरूलाई उचालेर भारतीय सत्ताले लगाएको अमानवीय नाकाबन्दीका बेला बनेको हो । नाकाबन्दीको समयमा नेपाली जनतामा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको भावना मात्र होइन, भारतीय सत्ताविरोधी भावना उत्कर्षमा पुगेको थियो ।

त्यतिबेला भारतीय सत्ता रिसाउला कि भन्ने भयले कम्युनिस्ट र काँग्रेस लगायतका शीर्ष नेताहरूले आम जनतामा जागृत भएको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको भावनालाई नेतृत्व दिने हिम्मत गरेनन् । भारतीय सत्ताको नेपाली जनतामाथिको यस्तो अत्याचारमा कति नेताहरू मौन रहे भने कति नेताहरू घुमाउरो तरिकाले नाकाबन्दीको समर्थक बन्न पुगे । यस्तो अवस्थामा भारतीय सत्ताको नाकाबन्दी जस्तो अमानवीय व्यवहारको खुलेर विरोध गर्ने एकल व्यक्तित्व ओली थिए । त्यतिबेला यही कारणले ओली आम जनताको आशा र भरोसाको केन्द्र बनेका हुन् । 

गत साल  सम्पन्न केन्द्र र प्रदेशको आमनिर्वाचनमा एमाले–माओवादीको चुनावी मोर्चाले लगभग दुईतिहाइ जनसमर्थन प्राप्त गरेको पनि दुई पार्टी मिलेको कारणले भन्दा ओलीले नाकाबन्दीको बेलामा निर्वाह गरेको देशभक्तिपूर्ण भूमिका र राष्ट्रिय स्वतन्त्रताका लागि चीनसँग बढाएको मित्रताको हात नै थियो । यिनै जगमा ओली शक्तिशाली प्रधानमन्त्री बनेका थिए र उनीमाथि आम जनताको विश्वास, भरोसा र अपेक्षा अभूतपूर्व थियो ।

आफ्नो कर्म, प्रयास र क्षमताले भन्दा विशेष परिस्थितिले निर्माण गरिदिएको आफ्नो प्रभावशाली राजनीतिक व्यक्तित्वको मुल्याङ्कन गर्न उनी असफल भए । आफैं यथार्थपरक विश्लेषण र मुल्याङ्कन गर्न नसक्दा उनी भ्रमबाट निर्देशित हुन पुगे । अयोग्य ढोके, बैठके र निहित स्वार्थीहरूको प्रशंसामा आत्मरति लिने उनको प्रवृत्तिले उनी झन् फस्दै गएका हुन् । उनी प्रधानमन्त्री भएपछिका उनका अभिव्यक्ति र व्यवहार यसका उल्लेखनीय उदाहरण हुन् । विशेष परिस्थितिले बनाइदिएको आफ्नो व्यक्तित्व र आफ्नो योग्यता र क्षमताको सही आँकलन र तालमेल गरी अघि बढेका भए ओली यति चाँडो यसरी असफल हुने थिएनन् । 

ऐतिहासिक जनसमर्थन प्राप्त गरेका ओलीको चीनसँगको निकटताबाट भारतीय सत्ता निकै चिन्तित बनेको थियो । दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा अगावै ओलीलाई आफ्नो अनुकूल बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाई र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको खातिरदारीबाट यो कुरा सहज रूपमा बुझिन्थ्यो ।

प्रधानमन्त्री भएपछिको पहिलो भारत भ्रमणको क्रममा भारतीय सत्ताले दिएको उच्च सम्मानको राप र तापबाट ओलीको राष्ट्रवादी छवि मैन झैं पग्लिसकेको थियो । यो यथार्थ नबुझेका आम जनतामा ओलीबाट राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा धोका नहुने विश्वास रहेको थियो । भारत भ्रमणपछि आम जनताले उनीप्रति देखाएको सद्भाव र विश्वासले यही कुराको पुष्टि हुन्छ । पहिले हप्काउने, दप्काउने र त्यसबाट नभए फकाउने भारतीय सत्ताको नेपाल नीतिलाई बुझ्न नसक्दा आफूले भारतसँगको सम्बन्ध सुधार्न सफल भएको उनीलाई भ्रम भयो र राष्ट्रिय हितका अडानबाट उनी चुक्दै गए । 

नेपाली जनतामा रहेको भारतविरोधी भावनालाई मत्थर गर्न र नेपाललाई चीननिकट हुन नदिन भारतीय प्रधानमन्त्री मोदीले गरेको जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री ओलीमा देखिएको हाउभाउ र अभिव्यक्तिबाट उनले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको नेतृत्व गर्न खुट्टा कमाउने हुन् कि भन्ने शंका, उपशंका आम जनतामा पैदा भइसकेको थियो । ओलीलाई घेराबन्दी गरेर बसेकाहरूलाई नै प्रयोग गरेर भारतीय सत्ताको मशिनरीले ओलीको राष्ट्रवादी छविलाई धमिल्याउन सफलता हासिल गरिसकेको थियो । यसरी ओलीप्रतिको जनविश्वासमा आँच पुग्दा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको नेतृत्व गरेबापत बनेको ओलीको व्यक्तित्वमा पहिरो जान शुरूआत भएको हो । 

लामो राजनीतिक अस्थिरताका कारणले क्षतविक्षत बनेको राष्ट्रिय अर्थतन्त्रलाई पुनर्निर्माण र आम जनताका समस्याको सम्बोधन प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने जनविश्वास रहेको थियो । यसका लागि तत्कालीन र दीर्घकालीन नीति बनाउन असफल हुँदा ती क्षेत्रमा उल्लेखनीय काम भएन । बढी बोल्ने, काम कम गर्ने ओली प्रवृत्तिबाट जनविश्वासमा चाँडै धमिरा लाग्न थालेको थियो ।

आफ्ना मन्त्रीहरूलाई नेतृत्व दिन र काबुमा राख्न ओली असफल हुँदै गएपछि उनको क्षमताप्रति पनि प्रश्नचिह्न खडा हुँदै आएको छ । दिनप्रतिदिन बढ्दै गएका यस्ता प्रश्नको थुप्रोमा ओलीको व्यक्तित्व छोपिँदै गएको छ । क्रमशः ओलीबाट पनि देश र जनताको लागि केही हुँदैन भन्ने जनधारणा प्रबल  बन्दै गएको छ । यो जनधारणालाई तोड्न युद्धस्तरमा काम गरेर देखाउनुपर्ने हुन्छ, तर त्यस्तो सम्भावना ओलीबाट देखिँदैन । 

पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पद प्राप्त गरेका ओलीका अगाडि उल्लेखनीय कार्य गरेर देखाउने अनुकूल सम्भावना धेरै रहेका थिए । थोरै मेहनतबाट धेरै जस पाउने उपयुक्त स्थितिलाई पनि ओलीले सदुपयोग गर्न सकेनन् । राष्ट्रिय राजनीतिका अनुकूल सम्भावनाहरूलाई समयानुसार पक्डन नसक्दा र पार्टीलाई अस्तव्यस्त र गुटबन्दीको अखडा बनाउँदा पार्टी जीवनमा ओलीका प्रतिस्पर्धी र विरोधीहरू मात्र होइन, उनलाई सहयोग र समर्थन गर्दै आएका नेता र कार्यकर्ताहरूमा पनि उनीप्रति चरम असन्तुष्टि बढेको हो ।

केही दिनयता उनका समर्थकहरूको घेरा दिनप्रतिदिन साघुँरिदै गएको छ भने विरोधीको घेरा दिन दुईगुणा, रात चौगुणा बढ्दै गएको छ । ओलीको पार्टी भित्रैबाट हुन थालेको आलोचना र विरोधले यही कुराको संकेत गर्दछ । विरोधका कारणहरूलाई सम्बोधन गरेर पार्टीभित्रको द्वन्द्व समाधान गर्ने भन्दा पेलेर नै अगाडि बढ्ने प्रवृत्तिबाट उनको पार्टी जीवन झन् संकटग्रस्त हुँदै जाने बढी सम्भावना छ । 

नेपालमा अस्थिरता सिर्जना गरी चीनलाई प्रहार गर्ने र भारतलाई नियन्त्रण गर्ने योजनाका साथ नेपाली भूमि प्रयोग गरी आवरणमा आएका पश्चिमा अस्थिरताहरूलाई बुझ्न नसक्दा ओली नराम्ररी विवादमा मुछिएका छन् । प्रधानमन्त्री ओलीको नेतृत्व र संरक्षणमा विवादस्पद क्रिस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पीस फाउन्डेसनको काठमाडौंमा भएको सम्मलेनले यही कुरा पुष्टि गर्दछ ।

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन नसक्ने परिस्थिति विकसित हुँदै गएको छ । मन्त्रीहरू र कर्मचारीहरू विना लगामका घोडा जस्ता बन्दै गएको स्थितिबाट प्रधानमन्त्री ओलीको लागि राज्यसत्ता सञ्चालन फलामको चिउरा चपाउनु सरह हुँदैछ । पार्टीका नेता तथा कार्यकर्तामाथिको पकड गुमाउँदै गएका ओलीबाट पार्टी सञ्चालन हुन नसक्ने धारणा पार्टीभित्र प्रबल बन्दै गएको छ ।

वामदेव गौतम लगायतका नेताहरूले ओलीमाथि गरिएको खुला चुनौतीबाट यही कुराको संकेत मिल्दछ । सरकार र पार्टी सञ्चालनमा असफल भए पनि दरो जनसमर्थन हुँदा नेताहरूले आफ्नो हैसियत पुनःस्थापित गर्न सक्ने स्थिति हुन्छ । आफ्ना मन्त्री, सांसद र पार्टीका सहकर्मी नेताहरूले अवरोध खडा गर्दा पनि जनसमर्थन र लोकप्रियता भएमा नेताहरूले आफ्नो राजनीति भविष्य बचाउन सक्दछन् तर लोकप्रियता गुमाउँदै गएका ओलीका लागि यस्तो अवसर पनि दुर्लभ हुँदै गएको छ । 

नेपालका महत्त्वपूर्ण र संवेदनशील छिमेकी मुलुक भारत र चीन हुन् । यी दुई देशबीच कति कुरामा मतभिन्नता छ र दुवैलाई सन्तुलनमा राख्ने कूटनीति मात्र मुलुकको राष्ट्रिय हितमा हुन्छ । परिस्थितिअनुसार नेपाल कहिले चीननजिक, कहिले भारतनजिक भए पनि सन्तुलनको मूल सीमारेखा उल्लङ्घन गर्दा राष्ट्रिय विपत्तिहरू आउने गरेको पाइन्छ ।

नेपालमा अस्थिरता सिर्जना गरी चीनलाई प्रहार गर्ने र भारतलाई नियन्त्रण गर्ने योजनाका साथ नेपाली भूमि प्रयोग गरी आवरणमा आएका पश्चिमा अस्थिरताहरूलाई बुझ्न नसक्दा ओली नराम्ररी विवादमा मुछिएका छन् । प्रधानमन्त्री ओलीको नेतृत्व र संरक्षणमा विवादस्पद क्रिस्चियन धर्मप्रचारक संस्था युनिभर्सल पीस फाउन्डेसनको काठमाडौंमा भएको सम्मलेनले यही कुरा पुष्टि गर्दछ ।

हाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको अमेरिका भ्रमणका क्रममा भएका गतिविधिबाट ओलीको परराष्ट्रनीति आफ्नो देशको लागि मात्र होइन, छिमेकी मुलुकको सुरक्षामा पनि प्रतिकूल असर पर्ने गरी पश्चिमा अस्थिरतावादी शक्तिलाई नेपाली भूमि प्रयोग गर्न दिइने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ । यसबाट ओलीको परराष्ट्रनीति राष्ट्रिय हितविपरीत हुँदै गएको छ । 

प्रधानमन्त्री ओलीको स्थिति दलदलमा फसेको हात्ती जस्तो बनेको छ । जति दलदलबाट बाहिर निस्कन कोशिश गर्‍यो, झन् झन् फस्दै जाने घटनाक्रमहरू विकसित हुँदै गएका छन् । राजनीतिक दलदलबाट बाहिर निस्कन ओलीलाई कम अप्ठेरो छैन । यस्तो स्थितिमा उनका लागि पार्टीको सहयोग र समर्थन संजीवनी बुटीसरह हुन्छ । तर पार्टीभित्रको द्वन्द्वमा यसरी ओली फस्दै गएका छन् कि सम्पूर्ण पार्टीपंक्तिको समर्थन र सहयोग जुटाउन सक्ने स्थितिमा उनी छैनन् । 

ओली राजनीतिक दलदलबाट बाहिर निस्किन नसक्ने अनि अर्को विकल्प पनि तत्काल नदेखिने स्थितिबाट राष्ट्रिय राजनीति दुर्घटनाउन्मुख हुँदै गएको छ । विकसित यी घटनाक्रमबाट प्रधानमन्त्री ओलीका साथै राष्ट्रिय राजनीति पनि महासङ्कटमा  फस्ने सम्भावना बढ्दै गएको छ ।

पुस ६, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

कार्की वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस