नेपाल आइडलका अन्तिम ४ प्रतिस्पर्धीको भोट ‘गोप्य’ राखियो

पुस ६, २०७५

काठमाडौं– चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता कञ्चनपुरका रवी ओड बनेका छन् । 

फाइनलमा पुगेका  अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । यद्यपी उनले कति भोट पाए त्यो भने गोप्य राखिएको छ । गत सिजनमा फिनालेमा पुगेका प्रतिस्पर्धीले पाएको भोटको विवरण सार्वजनिक गरिएको थियो ।


ADVERTISEMENT

यति सम्मकी दर्शकले गरेका भोट गोप्य राखिएको भन्दै त्यतिबेला सो विषय अदालतसम्म पुगेको थियो । 

तर, सो सिजनमा न कसैले मत परिणाम सार्वजनिक गर्न माग गरे न त आयोजक ले नै सार्वजनिक गर्न आवश्यक ठान्यो । यो पटक दर्शकलाई आफूलाई मनपर्ने प्रतिस्पर्धी छान्नका लागि एसएमएस र मोबाइल एप्लिकेसनमार्फत सुविधा दिइएको थियो । 

आइडलको फिनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसको ग्राण्डमा भएको थियो । उक्त फिनाले हेर्न हजारौं दर्शक उपस्थित थिए भने युट्यूबमार्फत एकै पटक एकलाख भन्दा बढीले हेरेका थिए । 

फिनालेबाट सबैलाई पछि पार्दै विजयी बनेका रविले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।  
 
यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाए । 

यसैगरी झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् । उनले १२ लाख बराबरको चेक पाए । 

यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए । 

पुस ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस