सुरक्षा निकायले हत्या हुन दिन्नौं भनेपछि पुस्तक छाप्ने निर्णय गरेँ – प्रा. डा. संग्रौला

पुस १३, २०७५

काठमाडौं - 'काठमाडौं स्कूल अफ ल'का प्राध्यापक एवं पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाको पुस्तक 'साउथ एसिया चाइना जिओ-इकोनोमिक्स' शुक्रवार सार्वजनिक भएको छ ।

५७६ पृष्ठको उक्त पुस्तक १५ वर्षको अथक प्रयासपछि तयार भएको प्राध्यापक संग्रौलाले बताए । सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पुस्तक प्रकाशन पूर्व आफूले नेपालका तीनवटै सुरक्षा निकायसँग छलफल गरेको उनको भनाइ छ ।


ADVERTISEMENT

‘पुस्तक प्रकाशन भएपछि मलाई मार्छन् कि झैं लागेको थियो । मैले यस बारेमा तीनवटै सुरक्षा निकायसँग सल्लाह गरेँ,’ संग्रौलाले भने, ‘हामी तपाईंलाई मर्न दिन्नौं भनेपछि मैले किताब छाप्ने निर्णय लिएको हो ।’

चीन र भारतको सम्भावित उदय रोक्न नेपाली भूमि प्रयोग गरी पश्चिमाहरूले के-कस्ता गतिविधि गरे र त्यसको मारमा नेपाल कसरी फस्यो भन्ने विषयमा पुस्तक केन्द्रित । पुस्तकमा सन् १९८० को दशकपछि चीन र भारत कसरी विकसित हुँदै गए र नेपाल कसरी अधोगतिमा धकेलियो भन्ने विषयलाई सुक्ष्म ढंगले केलाइएको छ ।

‘चीनको प्रगतिका कारण शुरू भएको नयाँ विश्व संरचना र शक्तिको परिवर्तित समीकरण समेतलाई पुस्तकमा सविस्तार प्रस्तुत गरिएको छ,’ संग्रौलाले भने, ‘यो पुस्तकमा पूर्वीय र त्यसमाथि पनि एसियन संस्कृति र व्यवहारमा आधुनिक राजनीतिले वकालत गर्ने कानूनी राज्य, समता विकास लगायतका अधिकांश धारणाहरूको सघन आत्मसात रहेको छ ।’

पश्चिमाहरूले विभिन्न एनजीओ र आईएनजीओ मार्फत् नेपाली समुदाय, रहन सहन, संस्कृति, मौलिकता खल्बल्याउने काम गरे भन्ने विषयलाई विभिन्न आंकडा, तथ्य, उद्धरणसहित गहिरो विश्लेषण यस पुस्तकमा गरिएको छ ।

पुस्तक विमोचन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य झलनाथ खनालले यस्ता पुस्तकहरू अझै लेखिनुपर्ने बताए । ‘नेपालको बारेमा लेख्दा विदेशी किताबको सन्दर्भ लिने प्रचलनलाई कम गर्नुपर्छ,’ खनालले भने, ‘मैले धेरै समयपछि एउटा यस्तो किताब पढ्न पाएँ, जुन किताब नेपाली पाठकका लागि मात्र नभएर विदेशी पाठकका लागि पनि उत्तिकै उपयुक्त छ ।’

पुस्तकमाथि समीक्षा गर्दै काठमाडौं स्कूल अफ लका सह-प्राध्यापक अतिन्द्र दाहालले लेखकले अमेरिकाको वर्तमान अन्तर्राष्ट्रिय राजनीतिका बारेमा विराट चर्चा गरेको बताए । ‘अमेरिकाको अन्तर्राष्ट्रिय नीतिप्रति आशावादी नरहेका लेखमा चीनको अन्तर्राष्ट्रिय नीति र घरेलु अभ्यास दुवैले सकारात्मक उत्प्रेरणा भरेको देखिन्छ,’ दाहालले भने ।

कार्यक्रममा वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र युवराज घिमिरे, अधिवक्ता विश्वकान्त मैनाली लगायतले पुस्तक अहिलेको पुस्तालाई मात्र नभएर आगामी पुस्ताका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

पुस १३, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस