मेरो शिरको स्वाभिमान ढाकाटोपी (कविता)

पुस १७, २०७५

अच्युत शाली घिमिरे

सूर्योदय संगै


ADVERTISEMENT

कान्तिपुरी नगरीमा

आज मलाई

मनुष्य भएर  

बाच्न,हिड्न र बोल्न 

सिकाएको छ

मेरो शिरको 

स्वाभिमान ढाकाटोपीले!!

 

भूमण्डलको नक्शा 

पल्टाउदा 

मेरो देश कतै बिलाएको हुन्छ!

यही सानो टुक्रालाई

वीर गाथा

र सगरमाथाको उचाई संग

गासेको छ

मेरो शिरको

स्वाभिमान ढाकाटोपीले!

 

रवाफ र नक्कलीपनका

भीडहरु छन् यहाँ,

छन् यही पाश्चात्य पाखण्डपनहरु,

तै पनि

चराचुरुगींका मिठा लबज संगै

प्राकृतिक भाषा 

बोल्न सिकाएको छ

मेरो शिरको

स्वाभिमान ढाकाटोपीले!

 

साघुरिदै गयो संसार 

अन्धो विवेकले,

अनि मानिसका

 सम्बन्धहरु

अनुभवहरु

सूचनात्मक मात्र हुन थाले

सेता भित्ताहरुमा!

यही संकीर्णतामा

राष्ट्रप्रेम र नेपालीपनको 

सजीव कला पस्किएको छ

मेरो शिरको

स्वाभिमान ढाकाटपीले!

 

म भित्र अमर तत्वहरु छन्,

म भित्र नवीन सन्देशहरु छन्,

म भित्र परिश्रमका पसिनाहरु छन्,

विश्व झिलिमिली पार्ने म भित्र उज्यालोहरु छन्,

विश्वप्रेम सिकाउने म भित्र मानवभावनाहरु छन्,

शेक्सपियरले लेख्ने कथाका

म भित्र पात्रहरु छन्,

विश्वलाई जादु सिकाउने 

म भित्र अनुभूतिहरु छन्,

तै पनि

विश्वको अनन्त कुनामा

मलाई 'म' हुनुको

'नेपाली' हुनुको 

आभास दिलाएको छ

मेरो शिरको

स्वाभिमान ढाकाटोपीले!!!

जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

पुस १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस