बलिउड कलाकार कादर खानको मृत्यु

पुस १७, २०७५

काठमाडौं — बलिउडका उम्दा कलाकार कादर खानको मंगलवार निधन भएको छ । उनका छोरा सरफराज खानले मृत्युको खबर पुष्टि गरेका छन् । 

क्यानडाको एक अस्पतालमा उपचार गराइरहेका कादरको मृत्यु भएको हो । 

केही दिनअघि मात्र कादरको मृत्युको हल्ला फैलिएको थियो । 

सास फेर्न अप्ठ्यारो भएपछि चिकित्सकहरूले उनलाई नियमित भेन्टिलेटरबाट हटाएर बाईपीएपी भेन्टिलेटरमा राखेका थिए । तर उनलाई बचाउन सकिएन ।

कादर खान बहुप्रतिभाशाली अभिनेता थिए । उनी अभिनेता हुनुका अलावा निर्देशक, लेखक र निर्माता समेत थिए । 

उनका कमेडी फिल्महरू स्मरणीय छन् । गोविन्दा र उनको जोडीलाई दर्शकले खुबै रुचाएका थिए । 

दरिया दिल, राजा बाबु, कुली नम्बर १, आँखे, हिरो नम्बर १ लगायतका उनका फिल्म सुपरहिट भएका थिए । 

कादरले केही फिल्ममा खलनायकको भूमिका पनि निर्वाह गरेका थिए र अनेकौं फिल्ममा चरित्र भूमिका गरेका थिए । अनेकौं फिल्ममा उनले दमदार संवाद लेखेका थिए । 

विगत केही समयदेखि अस्वस्थताका कारण उनले फिल्मी जगतबाट दूरी कायम गरेका थिए । 

एजेन्सी


ADVERTISEMENT

पुस १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस