पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
स्वर्गीय मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गत असार १४ गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरूलाई पुस १५-१६ गते पानीजहाज चढेर कलकत्ता जाने निम्तो दिएका थिए ।
‘मैले रेल र पानीजहाजको कुरा गर्दा मजाकमा उडाउनेले केही समयमा पानीजहाज चढ्न पाउनेछन् । मैले रेलको कुरा गर्दा खेलौना रेल बनाए । पानी जहाजको कुरा गर्दा बाल्टीको पानीमा कागजको डुंगा बनाए ।’ ओलीले भनेका थिए, ‘अब हनुमाननगर (कोशी)बाट जहाज चलाउँछौ । सन् २०१८ सम्ममा सम्भव नभए पुस १५, त्यो दिन पनि सम्भव नभए पुस १६ गते पानी जहाज चढेर कलकत्ता जान निम्ता छ, साथीहरूलाई ।’
दुईतिहाइ अंकगणित बोकेको सरकारका शक्तिशाली प्रधानमन्त्रीले त्यतिबेला दिएको निम्तो अहिले धेरैको स्मरणमा छ । अहिले सामाजिक सञ्जालहरूमा प्रधानमन्त्री ओलीले त्यतिबेला बोलेको भिडियो भाइरल बनिरहेको छ ।
ओलीले अगाडि भनेका थिए, ‘म आलोचना, टिप्पणी र विरोध सुन्न तयार छु । तर तपाईंले बोलेको कुरा रेकर्ड हुन्छन्, दश वर्षपछि मजाकको विषय बन्नु होला ।’ यद्यपि आफूले दिएको निम्तो भने अहिले प्रधानमन्त्रीलाई याद नहुन सक्छ । ओलीले दिएको अभिव्यक्ति अहिले आफैँ मजाकसरह बनेको छ ।
ओलीको बोली सफेद झूट कि सपना ?
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा जारी गरिएको नेपाल-भारत संयुक्त वक्तव्यमा ‘इनल्याण्ड वाटर वे कनेक्टिभिटी’को प्रसंग उल्लेख गरिएको छ । यस सम्बन्धमा नेपालमा र भारतमा यसका सम्भावना र अवसरहरू सम्बन्धमा छलफल तथा वार्ता गर्न भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वमा आएको टोलीसँग जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासे नेतृत्वको टोलीले जल यातायातका विभिन्न आयाम तथा सम्भावनाको सम्बन्धमा छलफल गरेको थियो ।
जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरूको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो । तर ओलीले भनेजस्तै पुष १६ गते कोशीबाट जहाज चढेर कलकत्ता जान पाइने सम्भावना भने थिएन ।
नेपालमा जल यातायात नारायणी र कोशीमार्फत गंगा नदीसँगै जोडिँदै भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुहरूसँग जोडिने प्रचुर सम्भावना रहेको र यसबाट उल्लेखनीय आर्थिक विकासमा सहयोग पुग्नेमा दुवै पक्ष सहमत देखिएको जल तथा ऊर्जा आयोगको सचिवालयले बताएको थियो ।
आफ्ना विरोधीहरूलाई जुनसुकै हालतमा तह लगाउनुपर्छ भन्ने मान्यता राख्ने प्रधानमन्त्री ओलीको माथि उल्लेखित अभिव्यक्ति ‘सफेद झूट’ नै नभएपनि हचुवाको अभिव्यक्ति हो भन्ने चाहिँ प्रष्ट छ । अध्ययन अनुसन्धान हुन बाँकी रहेको विषयलाई किटानी गरेर प्रधानमन्त्रीले बोल्नु हुँदैनथ्यो । नेपाल-भारत जलमार्गको सम्भावना ओली प्रधानमन्त्री भइसकेपछि मात्र देखिएको होइन धेरै पहिला देखिएको हो ।
प्रगति कहाँसम्म पुगेको छ ?
नेपाल-भारत जलमार्ग सञ्चालन गर्नका लागि अध्ययनमा जुटेका अधिकारीहरूका अनुसार कोशी र नारायणी नदीमार्फत् नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना चाहिँ देखिएको छ ।
जलयातायातका लागि नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी नदी बढी सम्भाव्य रहेको देखिन्छ । सहसचिव एवम् छलफलका लागि नेपाली प्रतिनिधिमण्डलका प्रमुख बेल्वासेले द्विपक्षीय छलफलबाट जलयातायात सञ्चालनको सम्भाव्यता अत्यधिक रहेको पाइएको बताएका थिए ।
भारतले हल्दियादेखि अलाहवादसम्म करीब १६ किलोमिटर लामो जलयातायात सञ्चालनमा ल्याएको छ । हल्दिया बन्दरगाहमा नेपाललाई उपलब्ध हुने स्थान र समस्यालगायत विषयमा समेत छलफलमा कुरा उठेको र भारतले चासोपूर्वक समाधान गर्ने वचन दिएको बताइएको थियो ।
द्विपक्षीय छलफलका क्रममा नेपाली अधिकारीले जलयातायातका लागि भारतको पटनास्थित कालुघाटको स्थलगत अवलोकन गर्ने सहमति पनि भएको थियो । तर आजसम्म जलमार्गसम्बन्धी कानून बनेको छैन । कानून नै पहिलो आवश्यकता भएको विज्ञहरू बताउँछन् । त्यसपछि प्राविधिक पक्ष महत्त्वपूर्ण छ । नेपालका नदीहरू वर्षामा ठूला हुने र हिउँदमा सुक्ने गर्दछन् । पानीजहाज चलाउनका लागि चाहिने न्युनतम् पानीको मात्रा कायम गर्न पनि गाह्रो छ ।
डुबानको समस्या, खेतीयोग्य जमिन मासिन सक्ने समस्या, पर्यावरणको रक्षा गर्नुपर्ने चुनौती, जहाज चल्दा हुने फाइदा र त्यसमा लाग्ने खर्च आदिको हिसाबकिताब गरेर कुनै पनि सरकारी निकायले सूचना सार्वजनिक गरेको छैन । अहिलेसम्मको प्रगति ‘टेबल टक’मा मात्र सीमित रहेको देखिन्छ । यद्यपि भविष्यमा पानीजहाज चढ्न पाउने सम्भावना चाहिँ कायमै छ ।
प्रधानमन्त्रीको बोलीको राजनीतिक अर्थ
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका सम्झौताहरू कति कार्यान्वयनयोग्य छन् ? लोकान्तरले त्यतिबेलै वामपन्थी अर्थशास्त्री हरि रोकालाई प्रश्न गरेको थियो । ‘रकेट उडाउनेबाहेक सबै सम्झौता भएको रहेछ’ भन्दै रोकाले सम्झौतालाई नै उडाएका थिए । जे जस्तो सम्झौता भएको भएता पनि हालको नेपाल-भारत सम्बन्धको मुख्य आयाम आर्थिक सम्बन्ध हो । त्यसका लागि विभिन्न क्षेत्रमा ‘इन्टर कनेक्टिभिटी’ बढाउनुपर्छ भन्ने उक्त सम्झौताको आशय थियो ।
प्रधानमन्त्री ओली बोलेर ‘हिट’ हुने स्थानमा छैनन् । करोडौं मतदाताले भोट दिएको गफ सुन्नका लागि होइन, काम गर्नका लागि हो । यद्यपि असारमा प्रधानमन्त्रीले पहिलोपटक पानीजहाजको कुरा गरेका होइनन् । पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ जेठ ४ मा एक कार्यक्रममा पनि ओलीले पानीजहाजको कुरा गरेका थिए ।
समस्या प्रधानमन्त्रीले पानीजहाज आउँछ भन्दै हिँड्नुमा छैन, बरु तोकेरै फलानो मितिमा पानीजहाज चढ्न आउनुस् भन्ने अभिव्यक्तिमा समस्या छ । पटक-पटक एउटै कुरा गर्ने तर भनेको समयमा पूरा नहुने परिस्थितिले प्रधानमन्त्री ओलीको राजनीतिक करियर ध्वस्त हुन सक्ने विषयमा उनी स्वयं जानकार हुनुपर्छ ।
माओको त्यो सपना
सबैलाई थाहा छ, काम रातारात हुँदैन । केही वर्ष लाग्न सक्छ । आधुनिक चीनका परिकल्पनाकार तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले सन् १९५० मा यस्तै सपना देखेका थिए । चीनको ‘येल्लो रिभर’मा बाँध बाँधेर करीब १४ सय किलोमिटर परका ३० करोड जनतालाई पानीको आपूर्ति गर्ने माओको सपना सन् २०१४ मा पूरा भएको थियो ।
त्यो नहर विश्वकै ठूलो मानवनिर्मित नहर बनेको छ । माओत्सेतुङले देखेको त्यो सपना पूरा भएसँगै चीनको अर्थतन्त्र एक तिहाइले बढ्ने अर्थशास्त्रीहरूको धारणा रहेको छ । चीनजस्तो शक्तिशाली देशमा पनि गौरबका आयोजना पूरा हुन आधा शतकभन्दा बढी लाग्न सक्ने रहेछ ।
के ओलीको आलोचना गर्ने सबै विकासविरोधी हुन् ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पानीजहाज सम्बन्धी विषयमा प्रतिप्रश्न गर्छन्, ‘के सपना देख्न पनि नपाइने हो ?’
सपना देख्न पाउने हरेक नागरिकको अधिकार हो, स्वयं प्रधानमन्त्रीको पनि अधिकार हो । प्रधानमन्त्री ओलीले देखाएको सपनालाई नै समृद्धिको मुहान भनेर प्रचार गर्नेहरूको पनि कमी छैन । तर सपना र यथार्थमा आकाश जमिनको फरक हुन्छ । एकपटक देखिने ‘सपना’ हो भने बारम्बार एकै कुरा देखिने चाहिँ समस्या हो ।
मेडिकल भाषामा एउटा शब्दावली छ ‘डेल्युजनल प्रोजेक्सन’ । यो एउटा समस्या हो र यसको निराकरण गर्नका लागि औषधिकै सहारा पनि लिनुपर्ने हुनसक्छ । डेल्युजनल प्रोजेक्सनलाई नेपालीमा भ्रान्तिपूर्ण प्रक्षेपण भनिन्छ । धेरै मानिस यो समस्याबाट गुज्रिरहेका हुन सक्छन् ।
विकास या समृद्धिका बारेमा प्रधानमन्त्री ओलीले बहस गरेको विषयमा कसैले नकारात्मक चर्चा गर्यो या आलोचना गर्यो भने आलोचना गर्ने जति सबैलाई विकास विरोधीको बिल्ला भिराउने एउटा जमात हरदम तयार भएर बसेको हामी सबैले देखेका छौं । त्यही जमात भ्रान्तिपूर्ण प्रक्षेपणको शिकार भएको छ । विकास र समृद्धि रातारात र एकजनाको कामले मात्र आउने कुरा होइनन् ।
विकासका लागि राष्ट्रिय महत्त्वका परियोजनाहरूको पहिला अध्ययन हुनुपर्छ, त्यसपछि प्रारम्भको चरण आउँछ । प्रारम्भमा परियोजनालाई योजनाबद्ध ढंगबाट अघि बढाउनुपर्छ । त्यसको लागि खर्च, प्रविधि, विज्ञ आदि सबैको एकमुष्ट प्रयास चाहिन्छ । त्यसपछि परियोजनाको कार्यान्वयन हुनुपर्छ र निरन्तर सञ्चालन हुनुपर्छ ।
विकास र समृद्धिको विषयमा हुने बहस सधैँ महत्त्वपूर्ण हुने गर्दछ । नागरिकको समृद्धि प्राप्त गर्ने अभिलाषा न भूतमा न भविष्यमा कमजोर हुने गर्दछ । समृद्धिको बहस आदिमकालदेखि अनन्तसम्म हुनसक्छ, तर सपना देखेको भोलिपल्ट पानीजहाज चढ्ने निम्तो बाँड्न प्रधानमन्त्रीलाई हतार हुनु चाहिँ राम्रो संकेत होइन ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...