समृद्ध कर्णाली सपना : अर्धचेतन मनको हरुवा मनस्थितिबाट उठ्नुपर्छ कर्णालीवासी

पुस १९, २०७५

कर्णाली समृद्धिका लागि सर्वप्रथम त भ्रष्टाचारको जड तलदेखि नै निर्मूल पार्नु जरूरी देखिन्छ । उपभोक्ता समितिदेखि प्रशासनयन्त्र, राजनीतिक दल, निर्माण व्यवसायी एकाध बाहेक धेरैजसो भ्रष्टाचारमा डुबेको देखिन्छ ।

राजनीतिक दलहरूकै संरक्षणमा अधिकांश भ्रष्टाचार भएको देखिन्छ । मानिसहरूमा नैतिकता ह्रास हुनु, अनि मानिसका आवश्यकता, इच्छाहरू उचित व्यवस्थापन गर्न नसक्दा भ्रष्टाचारका क्रियाकलापले प्रश्रय पाएको देखिन्छ । शायद कर्णालीका चेकहरू काठमाडौं ल्याएर साट्ने, सामान्य जागिरे पनि अस्वाभाविक जीवनशैली बिताउन सक्ने हुनु त्यसैको परिणाम हुनुपर्छ । त्यस्तै, विकासे आयोजनाहरूमा अचाक्ली भ्रष्टाचार छ ।


ADVERTISEMENT

त्यस्तै, कर्णाली समृद्धि नहुनुको अर्को टड्कारो कारण भनेको मदिरा सेवन पनि हो । म कालिकोटमा रहँदा बजारछेउमा आयातित मदिराका बोतलहरू व्यवस्थापन गर्न गाह्रो भएको देखिन्थ्यो । शायद सनातन आस्था, पश्चिमा संस्कृति भित्रदै जाँदा मदिरा सेवनले सामाजिक, सांस्कृतिक असरहरू देखिन शुरू गरेको देखिन्छ । कालिकोट जिल्ला समन्वय समितिले हालै मदिरा निषेधित जिल्ला घोषणा गरेको खबर आयो । तर स्थानीय मदिरा निषेध गर्ने तर बाहिरबाट आयातित मदिरा के हुने भन्ने विषय स्पष्ट रूपमा नआएको पाइयो । 

त्यसले गर्दा स्थानीय मदिरालाई नियमनको साटो निषेध गर्ने अनि बाहिरबाट आयातित मदिरालाई बढावा दिनु कदापि उचित हुँदैन । त्यसको सट्टा बरू मदिरा विरूद्ध जनचेतना, भोजभतेरमा मदिरा निषेध, सामाजिक नेताहरूले मदिरा सेवन नगर्ने लगायत संस्कृतिको प्रवर्द्धन गर्दा उचित हुने थियो । 

हालै दाङमा दुःखद बस दुर्घटना भयो जसमा एक दर्जनभन्दा ज्यादा जुम्ला लगायतका कर्णालीका विद्यार्थीहरू मृत्युको शिकार हुन पुगे । नेपालमा सडक सुरक्षा एकदमै कमजोर अवस्थामा छ त्यसमा पनि ५, ६ र ७ नम्बर प्रदेशको अवस्था अन्य ठाउँभन्दा कमजोर अवस्थामा छ । सडक मात्र होइन शिक्षा, स्वास्थ्य लगायत अन्य पूर्वाधारहरूमा पनि कर्णाली पछाडि नै छ । केही अघि डडेलधुरामा पनि त्यस्तै घातक स्कूल बस दुर्घटना भएको थियो । 

कर्णालीका जिल्लाहरूमा उपलब्ध स्थानीय रोजगारीमा कर्णालीकै बेरोजगार युवालाई रोजगारी दिने संयन्त्र, कानून बनाउन र लागू गर्न जरूरी भइसकेको देखिन्छ ।

विद्यालयको बस लिएर शैक्षिक भ्रमणमा टाढा निस्कँदा सोच विचार गर्नु जरूरी देखिन्छ । शायद टाढाको यात्रामा निस्कँदा विद्यालयको बसका चालकलाई त्यति अनुभव नभएर पनि होला यस्ता दुर्घटना दोहोरिएको हुनुपर्छ । तैपनि यस्ता दुर्घटनाहरूको बारेमा जाँचबुझ गर्न जरूरी देखिन्छ । हवाई दुर्घटनामा मात्र जाँचबुझ गर्ने परिपाटी बन्द हुन जरूरी देखिन्छ । आखिर सबैको जीवनको मूल्य उस्तै नै हो चाहे सो नागरिक उड्ने होस् वा गुड्ने साथै त्यो कर्णालीको गरिब परिवारको होस् वा काठमाडौं वा बाहिरको सम्पन्न परिवारको । 

त्यस्तै, कर्णालीको हवाई सुरक्षामा पनि ध्यान दिन जरूरी देखिन्छ । छिमेकी भारतमा जुम्ला जस्ता क्षेत्र शिक्षाको लागि प्रख्यात छन् । तसर्थ गुणस्तरीय शिक्षाको प्राचीन साखलाई कर्णालीले फेरि पुर्नर्जीवित गर्नु जरूरी देखिन्छ ताकि कर्णालीका विद्यार्थीहरुले शिक्षा प्राप्त गर्न कर्णाली बाहिर जान नपरोस् । 

त्यस्तै हालै कालिकोटको पलाता क्षेत्रमा आगलागीको दुःखद् खबर आएको छ । शायद कर्णालीबाहेक अन्यत्र यस्ता आगलागीको घटना भएको भए राज्य, सञ्चारमाध्यम, विकास साझेदार लगायतको गतिलै प्रतिक्रिया हुन्थ्यो ।
त्यसैले त होला, दाङ दुर्घटनामा मृत्यु भएको एकजना डोल्पाली विद्यार्थीको शव जुम्लाबाट १० मिनेटको दूरीमा लान नेपाली सेनाको हेलिकप्टरले मानेन भनी एक अन्लाइनमा खबर पढ्न पाइयो । 

आखिर अहिलेको कल्याणकारी नयाँ नेपालमा सर्वहारा वर्गका नेताहरू महंगा हेलिकप्टर लगायत सवारी साधनहरू अगाडि पछाडि सुरक्षाकर्मीहरू, आसेपासे, जिल्लाका सरकारी लगायत सवारीसाधनहरू, माला, खादाले ढाकिने लगायत स्रोतको दुरुपयोग गर्दै हिँडेको साधारण दृश्य जस्तै भइसक्यो । शायद यसले रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ भन्ने कथालाई माथ दिन पुगेको देखिन्छ ।

प्रमुख नेताहरूको मासिक खर्च करोडौं होला त्यस्तै, जिल्ला स्तरका प्रभावशाली नेताहरूको जीवनशैली पनि विलासी छ, त्यो खर्च कहाँबाट आउँछ होला । शायद भूपी शेरचनले नयाँ लुगा लगाएर हिँडेको व्यक्तिलाई टाढै भनी लेखेको कविता नयाँ नेपालका नेताहरूलाई असान्दर्भिक भएको हो कि ? 

अर्को भनेको अर्धचेतन मनमा हरुवाको मनस्थितिबाट कर्णालीवासीहरू माथि उठ्न जरूरी देखिन्छ । 

कर्णालीमा बाहिरबाट गएका शासकहरूले सकभर भान्से लगायतका पदहरूमा पनि बाहिरबाट मानिसहरू लगेर भर्ना गरेको देखिन्छ । म कालिकोटमा रहँदा एकजना विकास साझेदारले त भान्से, सहयोगी पनि कर्णाली बाहिरको लगेको पाए ।

जुम्ला बजारमा आवश्यक सडकपेटीको अभावमा ज्यान जोगाउँदै हिँड्नुपर्ने अवस्था सृजना भएको छ । त्यस्तै, कर्णालीका अन्य जिल्ला सदरमुकामहरूको अवस्था पनि त्यस्तै छ । स्मार्ट सिटीको नारा दिने जनप्रतिनिधिहरू स्मार्ट ग्याजेटमै रुमल्लिरहेको अवस्था छ । सुर्खेत जुम्ला सडकको अवस्था पनि तन्नम् छ सो सुधार गर्नेतर्फ कसैको ध्यान गएको जस्तो देखिँदैन । 

त्यस्तै, सडकको स्तरोन्नति, हुम्ला सदरमुकामलाई सडक सञ्जालसँग जोडी नेपालका ७७ जिल्लाहरूलाई सडक सञ्जालसँग जोडी देशले प्रगति गर्न जरूरी देखिन्छ । नारामा मोनोरेल भन्दा आधारभूत आवश्यकताहरू पूर्ति गर्नतर्फ राज्य लाग्न जरूरी देखिन्छ । 

फरक सन्दर्भमा जुम्ला राज्यका ज्योतिषी बलभद्रको ज्योतिषशास्त्र सम्बन्धी अप्रकाशित पुस्तकको खोजबिन हुन जरूरी देखिन्छ जुन काठमाडौंमा एकजना अध्येतासँग भएको खबर छ । 

त्यस्तै, खस भाषामा बाइबल अनुवाद भएको खबर आएको छ । जुम्लामा स्वदेशी, विदेशी अध्येताहरूले खस, मतवाली क्षेत्रीको विभाजनका खाडल खन्ने, भाषा सिक्ने अनि पछि बाइबल ट्रान्सलेट गर्ने उनीहरूको विश्वव्यापी रणनीति नै हो । नेपालका हाल थुप्रै भाषामा बाइबल ट्रान्सलेट भइसकेको छ ।

हालै नेपाली कांग्रेसको महाधिवेशन, महासमितिमा हिन्दू राज्यको कुरा बलियो रूपमा उठेको पाइयो । नेपाली कांग्रेसले सो मुद्दालाई खालि उठाउनको लागि मात्र नउठाई आफू तङ्ग्रिन अनि देशलाई पनि धर्मपरिवर्तनको जालोबाट बाहिर निकाल्न जरूरी देखिन्छ जसले कर्णाली लगायत क्षेत्रमा भइरहेको व्यापक धर्मान्तरणलाई रोक्न सकियोस् र नेपालको सनातन संस्कृति जोगियोस् ।

कर्णालीका मानिसहरूले दुई छाक गतिलोसँग खान नपाइरहेको अवस्थामा अब सरकारी, गैरसरकारी हस्तक्षेपमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ । शायद त्यसको उपलब्धि नकारात्मकतातिर गएको हो कि ? 

कर्णालीका जिल्लाहरूमा उपलब्ध स्थानीय रोजगारीमा कर्णालीकै बेरोजगार युवालाई रोजगारी दिने संयन्त्र, कानून बनाउन र लागू गर्न जरूरी भइसकेको देखिन्छ ।

हालै जुम्ला बोहोरागाउँस्थित कुलो पहिरोले भत्काएको खबर आयो । यसले हाम्रो निजीमा लगानी, सार्वजनिक चिजहरूमा बेवास्ता गर्ने आधुनिक संस्कारलाई प्रतिबिम्ब गर्दछ । नरालो प्रथा मास्ने, स्थानीय श्रम, सीप, प्रविधि, सार्वजनिक चरन, जंगल, सिम प्रभावशालीहरूले व्यक्तिको नाममा गर्ने चलनले अचाक्लीपना पाएको छ । 

आखिर हाम्रा पूर्खाहरूले स्वदेशी पूँजी, सीप, प्रविधिमै कुलो, साँघु, विद्यालय, खेतीमा उत्कृष्ट योगदान गरेकै थिए । 

स्थानीय निकायका प्रतिनिधिहरूले चुनावमा खर्च गरेको हिसाब उठाएर ब्याज कमाउने, सामान्य कर्मचारीले काठमाडौं लगायत शहरमा महल ठड्याउने, अनि भ्रष्टाचारीलाई समाजमा जबसम्म सम्मानको स्थिति कायम रहन्छ तबसम्म कर्णाली लगायत नेपालले समृद्धिको गोरेटो कोर्न सक्दैन ।

जुम्ला चन्दननाथ मन्दिरस्थित गुरुकुलमा दीक्षित बलवीरसिंह थापा कालान्तरमा योगी नरहरिनाथका रूपमा प्रख्यात भए । त्यस्तै जुम्ला मालाभीडमा चौलागाई गुरुबाट शुरूमा दीक्षित सौभाग्य शाहले कालान्तरमा यो नेपाली राज्यलाई सही दिशा दिने भिजन दिन सफल भए । 

हालै एउटा खबर आयो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत वरिष्ठ डाक्टरहरू लगायतले सुर्खेतमा विशेषज्ञ सेवा दिएछन् । उदेकलाग्दो के छ भने कार्यकर्ता लगायतले भरिएको ती चिकित्साकर्मीहरू कर्णालीका दुर्गम भेगमा किन विशेषज्ञ सेवा दिँदैनन् ? मुगुमा सुत्केरी व्यथाले मुत्युवरण गर्नुपरेको खबर अझै किन आइरहेका छन् त उसो भए । हुम्लाबाट हेलिकोप्टर चार्टर गरेर शहरमा सुत्केरी महिलालाई झारेको भर्खरै खबर आयो । 

शायद स्थानीय निकायका प्रतिनिधिहरूले चुनावमा खर्च गरेको हिसाब उठाएर ब्याज कमाउने, सामान्य कर्मचारीले काठमाडौं लगायत शहरमा महल ठड्याउने, अनि भ्रष्टाचारीलाई समाजमा जबसम्म सम्मानको स्थिति कायम रहन्छ तबसम्म कर्णाली लगायत नेपालले समृद्धिको गोरेटो कोर्न सक्दैन । 

स्थानीय पत्रकारहरू जसलाई सहायक सीडीओ भनी हालै काठमाडौंको एउटा पत्रकारले लेखे किनकि जिल्लामा आफ्नो दुनो सोझ्याउनलाई एकाधबाहेक पत्रकारले लेख्ने अनि काठमाडौंमा पनि त्यही प्रवृत्ति भएर त यो देशको दुर्दशामा सञ्चारमाध्यमको राम्रै हात छ । 

एफएम रेडियोहरू त जिल्लामा पार्टी लाइनमा नै सञ्चालन भएका छन् नै । पत्रकार पनि निष्पक्ष भेटाउन गाह्रो भएको अवस्था छ । 

तसर्थ कर्णालीका नैतिकवान् व्यक्तिहरूले यसबारे बोल्ने लेख्ने नगरेमा सामाजिक सञ्जालमा फूलको मालाले ढाकेका तस्वीर हाल्नेहरूले कर्णालीलगायत देशलाई नै अधोगतिमा लग्ने निश्चित जस्तै छ । 

(यस लेखमा व्यक्त विचारहरू लेखकका व्यक्तिगत विचार हुन्, निज आबद्ध संस्थासँग यसको कुनै सरोकार छैन ।)

पुस १९, २०७५ मा प्रकाशित

कमल बहादुर महत

महत समसामयिक विषयमा कलम चलाउँछन्।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस