प्रधानमन्त्रीज्यू, कलंकी–नागढुंगा सडकमा अझै भेटिएन सरकार !

पुस १९, २०७५

काठमाडौं – ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रम घोषणा गरिरहँदा गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘सरकार खोज्न केही समयपछि कलंकी–नागढुंगा सडक खण्डमा जानुहोला ।’

‘सरकार कहाँ छ ?’ भन्नेहरूप्रति लक्षित थियो प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ।


ADVERTISEMENT

प्रधानमन्त्री ओलीले सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेको करीब एक महिनापछि उक्त स्थानमा पुग्दा सरकार भेटिनु त परको कुरा सरकारको छायासम्म पनि देखिएन ।

सडक धूलोले ढाकिएको थियो । सवारी साधनहरू दिउँसै इमर्जेन्सी लाइट बालेर गुडिरहेका थिए ।

सडक आसपासका बासिन्दा र पैदल यात्रीले पाएको सास्तीको त कुनै लेखाजोखा नै छैन ।

धूलोधूवाँका कारण दिनहुँजस्तो आफ्ना बालबच्चा बिरामी पर्ने गरेको नैकापमा पसल सञ्चालन गर्दै आएका श्याम लम्सालले बताए ।

‘धूलोले बच्चाहरू बिरामी भइराख्छन् । रुवाखोकीले सताइरहन्छ । बाटो कहिले बन्ला र खै !’ लोकान्तरसँग उनले निराशा व्यक्त गरे ।

सडक विस्तारका लागि भन्दै महिनौंअघि खनिएका खाल्डाखुल्डीका कारण दिनहुँजसो दुर्घटना पर्ने गरेको उनले सुनाए ।

कलंकीदेखि केही परसम्म, बीचमा अलिकति र नागढुंगा क्षेत्रमा थोरै सडक पीच भए पनि अधिकांश भाग दयनीय अवस्थामा छ । 

यो राजधानी प्रवेश गर्ने मुख्य सडक हो । यो सडक भएर यात्रा गर्ने यात्रुहरूले कहिलेसम्म यस्तो सास्ती बेहोर्नुपर्ने हो, निधो छैन । 

नागरिकहरू कलंकी–नागढुंगा खण्डमा सरकार खोजिरहेका छन्, तर भेटिने कुनै छाँटकाँट छैन ।

हेर्नुहोस्, फोटो भिडयो :

 

 

 

 

 

 


 

पुस १९, २०७५ मा प्रकाशित

गगन अर्याल

लोकान्तर मल्टीमिडिया संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस