बालबालिकालाई जिम्मेवार बनाउने विधि : प्रशंसा, स्वतन्त्रतादेखि निगरानीसम्म

पुस २०, २०७५

व्यक्तिलाई जिम्मेवार बनाउनका लागि सहयोग, उत्प्रेरणा, र कामको जिम्मेवारी दिनुपर्छ । कामले व्यक्तिलाई उत्तरदायी र आत्मनिर्भर बनाउँछ । यसरी जिम्मेवारी आचरण वा दायित्व बहन गर्ने व्यक्ति जवाफ दिन सक्षम, भरोसायोग्य, सही र गलत आफैँ छुट्याई काम गर्न सक्षम बन्दछ । यसको विपरीत परनिर्भर व्यक्ति अरूको आदेशमा काम गर्ने, सधँै कमजोर महसूस गर्ने, आत्मविश्वासमा कमजोर र आफैँ नेतृत्व लिएर काम गर्ने असमर्थ हुन्छ ।

हाम्रो समाजमा बालबालिका तथा किशोर किशोरीहरू गृहकायका लागि अभिभावक/संरक्षक वा शिक्षकमा परनिर्भर भएको पाइन्छ । गृहकार्य गर्दा ठीक भए नभएकोमा उनीहरूमा आत्मविश्वास भएको पाइँदैन । सबै सन्दर्भ सामग्री शिक्षकले लेखिदिएको जस्ताको तस्तैे कण्ठस्त मात्र गर्ने गर्दछन् । उनीहरूमा आफैँ खोज्ने सिर्जनशीलतामा ह्रास आएको पाइन्छ । 


ADVERTISEMENT

घरमा लामो समयदेखि खाना पकाउँदै आएका बालबालिका पनि खाना वा चिया पकाउँदा चामल र पानी कति हाल्ने, चियापत्ती/चिनी कति राख्ने हरेक पटक पकाउँदा सोध्ने गर्दछन् । 

शिवपुरी बाबाले आफ्नो शिष्यलाई बालबालिकालाई कसरी सिकाउने भन्ने सन्दर्भमा चिया पकाउन उदाहरण प्रस्तुत गर्नुभएको छ :

हामीले उनीहरूलाई सिर्जनशील र जिम्मेवार बन्नबाट पछाडि घेकेलिरहेकाछौं, अनि भन्छौं- मेरा बालबालिका कहिल्यै जिम्मेवार भएनन् ।

‘उमेर अनुसार निगरानी राखी आगोबाट जोगिन सिकाउँदै चिया पकाउन स्वतन्त्र छाडिदिनुस् । उनीहरूले लामो समयदेखि अभिभावकले चिया पकाएको देखेका छन्, उनीहरूका लागि चिया पकाउनु नौलो होइन । उनीहरूलाई पानी, चिया, चिनी जति हाले पनि कुनै प्रतिक्रिया नदिनुस् । बालबालिकाले पकाएर दिएको चिया खुशी मान्दै खानुस्, पकाएर खुवाएकोमा धन्यवाद दिनुस् । बालबालिकाले आफूले खाँदा थाहा पाउँछन्, कस्तो भएछ भनेर । फेरि अर्कोदिन पनि पकाउन भन्नुस्, पहिलो दिनको कमजोरी दोस्रो दिन आफैँ सुधार्छन् । पुनः कमजोरी भएमा अर्काे दिनमा राम्रोसँग चिया पकाउन सफल हुनेछन् । यदि तपाईंले पहिलो दिन नै गाली र अपजस दिएमा उसमा आत्मविश्वास बन्न पाउँदैन । फेरि तपाईंले पानी यति कप, चिया यति, चिनी यति भन्ने गर्नुभएमा सधैँ तपाईंप्रति परनिर्भर हुनेछ । त्यसैले आफैँ परीक्षण गर्दै काम गर्न दिनुस्, ऊ राम्रो चिया बनाउन सफल हुनेछ ।’ 

हामी बालबालिकाले कापी, कलम, झोला, कपडा, लुगा, जुत्ता जहाँ छाडे पनि ठीक ठाउँमा राखिदिन्छौं । उसलाई चाहेको बेलामा आफैँ तयार गरिदिन्छौं । यतिसम्म कि उनीहरूले आफैं गर्नु पर्ने काम पनि हात समाएर गराउँछौं ।

यसरी हामीले उनीहरूलाई सिर्जनशील र जिम्मेवार बन्नबाट पछाडि घेकेलिरहेकाछौं, अनि भन्छौं- मेरा बालबालिका कहिल्यै जिम्मेवार भएनन् । सोच्दैनौं कि हामीले उनीहरूलाई स्वाबलम्वी र आत्मनिर्भर बन्नै दिएकै छैनौं, सधैँ हात समातेर हिँडाएका छौं । कहीँ जान पनि स्वतन्त्र छाडेका छैनौं, उनीहरूका सबै काम हामीले पूरा गरिदिएका छौं । 

बालबालिकालाई जिम्मेवार बनाउने विधिहरू 

१. आफ्ना छोराछोरीलाई दैनिक गर्नुपर्ने कार्यसूचीमा ध्यान दिन लगाउनुस् । पहिलो आफूले प्रयोग गर्ने सामग्रीको जतन र सही प्रयोग गर्न ध्यान दिनुस् । नयाँ–नयाँ सीप सिक्न उनीहरूलाई तयार गराउनु र गर्न सक्छौं भनेर विश्वास दिलाउनुस् । बालबालिका हरेक पटक नयाँ काम गर्न र जिम्मेवार हुन चाहन्छन् ।

२. बाल्यकालबाटै उत्तरदायी बनाउनु हामी सबैको दायित्व हो । बालबालिकालाई बिहान समयमै उठ्ने, दिसापिसाप गर्ने, दाँत माझ्ने, हातमुख धुने सामग्रीलाई उचित मात्रामा प्रयोग गरी सबै सामग्री ठीकठीक ठाउँमा राख्ने सीपको विकास गर्नु जिम्मेवारिताका चरणहरू हुन् । समयमा होमवर्क गर्ने, पार्क वा सार्वजनिक ठाउँमा खेल्दा साथीहरूसँग मिलेर आफूलाई चोटपटक नलगाई खेल्ने । खेलकुदका सामग्रीको सही प्रयोग गरी खेल्ने र खेलिसकेपछि ठीक ठाउँमा राख्ने । ठूलालाई आदर गर्ने सानालाई माया र सहयोग गर्न सधैँ तयार गराउने । 

३. बालबालिकाले आफैंले गरेका कार्यबाट सीकाइमा राम्रो परिणाम निस्कन्छ । उनीहरूलाई जिम्मेवारी दिँदा भरोसा गर्नु र स्वतन्त्र छाडिदिनु हरेक अभिभावक तथा संरक्षक र गुरुको दायित्व हो । यसरी बालबालिकाले आफ्नो कार्य पूरा गरिरहँदा ऊ संरक्षित छ भन्ने विषयमा सधैँ संरक्षकहरू चनाखो हुनुपर्दछ । उदाहरण– पार्कमा गएर खेलेर फर्कने समय ५ः३० हो । बालक निश्चित समयमा फर्किएमा उसले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्‍यो । यदि ऊ ६ः३० मा फर्किएमा अभिभावकले चिन्ता गर्नुपर्दछ । त्यसैले आउने दिनमा अब बालबालिकालाई एक्लै पार्कमा पठाउनु हुँदैन । तपाईंले बालबालिकालाई इन्टरनेटको प्रयोग गर्न दिने गर्नुभएको छ भने यो सह्रानीय काम हो । तर तपाईंको छोराछोरीले त्यसको सही प्रयोग गर्दै आफूलाई चाहिने मात्रमा ठीक ढंगबाट प्रयोग गरेका छन् कि छैन् त्यसमा ख्याल गर्ने दायित्व तपाईंको हो । यदि बालबालिकाले आफूलाई चाहिने सामग्री खोज्दैछन् । तोकिएको समय त्यसको प्रयोग गरिरहेका छन् भने उनीहरूलाई इन्टरनेट प्रयोग गर्न दिनुपर्छ । तर बालबालिकाले वयस्कहरूले हेर्ने साइट हेर्ने गरेको छन् । कुनै समय सीमा विना जतिबेला पनि हेर्ने र लोमा सयम खेल खेल्ने गरेका छन् भने तपाईंले अबका दिनमा इन्टरनेटको प्रयोगमा रोक लगाउनु पर्नेहुन्छ । वा तपाई अभिभावकको निगरानीमा मात्र उनीहरूलाई इन्टरनेट प्रयोग गराउनुपर्ने हुन्छ ।

४. जिम्मेवार बन्नु एउटा कार्य पूरा गर्नु होइन, यो व्यक्तिको व्यवहार हो । त्यसैले किशोरावस्थाबाटै जिम्मेवारी दिन थालौं । तपाईंको कक्षा ७ मा पढ्ने छोराछोरीलाई आफू कामबाट फर्कंदा भोकाएकोले खाजा बनाएर राख्न लगाउनुस् । उनीहरूबाट काममा सहयोग (क्षमता अनुसारको) लिगौं । खाजा बनाएर खुवाएकोमा प्रशंसा गरौं । उनीहरू गर्न सक्षम छन् भनेर विश्वस्त हौं ।

५. बालबालिकालाई तपाईंले गर्ने काममा उसको उमेर र क्षमता अनुसार सघाउन लगाउनुस् । सो काम तपाईं आफैँले गर्दा भन्दा केही समय बढी लाग्ने र तपाईंले गरेको जत्तिकै राम्रो नहुन पनि सक्दछ । उनीहरूको काममा गर्व गर्नुहोस्, प्रोत्साहित गर्दै स्याबासी दिनुहोस्, (Dr. Ruskin) । यसरी सहभागी भएर काम गर्न आफूलाई तयार राख्दै उत्साहित हुन्छन् र आप्mनो काममा गर्व महसूस गर्दछन् । हाम्रो संविधान देखि बालबालिका ऐन, २०७५ ले बालबालिकाको सरोकारका विषयमा उनीहरूको सहभागिताको सुनिश्चितता चाहेको छ । सहभागिता नै सिकाइ र जिम्मेवारिताको आधार स्तम्भ हो । 

६.समय बढी लागेता पनि बालबालिकाको काम उनीहरूलाई नै लगाऔं । हामीले उनीहरूलाई आफ्नो काम गर्न सहयोग गर्ने भनेको विधि सिकाउँदै उत्साह र प्रेरणा दिने हो । उमेर अनुसार कपडा आफैँ लगाउने, जुत्तामा पालिस लगाउने, कपडा धुने, खाजा पकाउने आदि । हामीले गरिदिएको भन्दा केही बढी समय लाग्नेछ । काम गर्न प्रेरित गरौं न कि निर्देशन दिइरहने र हात समाएर गराउने  । 

७. आफ्ना बालबालिकालाई यो जिम्मेवार छैन्, गर्न सक्दैन भनेर कहिल्यै पनि नभनौं । अभिभावकको अविश्वासले उनीहरूलाई सधैँ कमजोर बनाउँछ । उनीहरूमाथि विश्वास गर्नुस्, जिम्मेवार हुन प्रेरित गर्नुस्, विधि र सीपहरू सिकाउनुस्  । ऊ सँग जे गर्ने सीप छ, त्यसमा साहस थपिदिँदै काम गर्न सक्छौं भन्ने आत्मविश्वास दिलाऔं । क्षमता विकासमा सहयोग पुर्‍याऔं ।

८. दिदी वा दाजुले साना भाइबहिनीको भावनामा चोट पुर्‍याउन सक्छन् । त्यति नै बेला उनीहरूलाई माफी माग्न लगाएर लज्जित नबनाऔं । उनीहरूको मनलाई शान्ति बनाउन कथा सुनाउने वा रमाइलो गतिविधि गर्ने गरौं । उनीहरू बीचको सम्बन्ध राम्रो बनाउन सहयोग गरौं । एक अर्काले गरेका कमी कमजोरीमा आफैँ महसूस गर्ने र माफी माग्ने वातावरण तयार गरौं । 

९. कुनै सामग्री वा काम बिगार्दा गल्ती महसूस गरी आफैँ सुधार्ने भूमिका खोज्न प्रेरित गराऔं, जसले आगामी दिनमा गल्ती नदोहोर्‍याउन प्रेरणा मिलोस् । विद्यालयमा वा लाइब्रेरीबाट ल्याएको किताब हराए वा च्यातिएमा पैसा तिर्नुपर्छ भन्ने ज्ञान दिलाउनुस् । उनीहरूले कसैको सामग्री बिगार्दा त्यसको आफैँले पैसा तिर्न प्रेरित गर्नुस् । किशोरावस्थाबाटै पैसाको महत्त्व बुझाऔं । 

बालबालिकालाई विश्वासका साथ काम गर्ने अवसर सिर्जना गरौं । यसमा समय अवश्य लाग्नेछ, तपाईंको उनीहरूप्रतिको विश्वास र सहयोगबाटै बालबालिका जिम्मेवार र आत्मनिर्भर बन्नेछन् । 

१०. अभिभावकले सबै काम ठीक ढंगले गरौं र आफूले गरे जस्तै गर्न बालबालिकालाई प्रेरित गरौं । जस्तै: जुत्ता, कपडा, कपी कलम ठीक ठाउँमा छ/छैन बताउनुस् र तिनीहरूलाई ठीक ठाउँमा राख्ने जिम्मेवारी दिनुस् (Dr. Barzvi) ।

उदाहरणः खाना खाइसकेपछि खाएको थाल, कचौरा चम्चा सिंकमा राख्न भन्ने, आफूले पनि राख्ने र अरुले पनि राखेको देखाउने, साबुन पानीले हात धुने र सफा रुमालेले हात पुच्छ्ने आदि ।

११. प्रशंसा गर्नुस्, बालबालिका अरुलाई सहयोग गर्न मन पराउँछन् र सहयोग गर्दा खुसी हुन्छन् । उनीहरूले गरेको कामको जस दिऔं, प्रशंसा गरौं । स्कूलबाट फर्केपछि जुत्ता र्‍याकमा राखेकोमा र कोठाको फोहोर डसबिनमा हालेकोमा धन्यवाद दिँदै म आज ज्यादै खुसी छु भन्दै प्रशंसा गनुहोस् (Dr. Barzvi) । यसले उनीहरूलाई जिम्मेवार बनाउँदै लैजान्छ र आत्मविश्वास बढाउँछ ।

१२.बालबालिकाबाट तपाईंले अपेक्षा निर्धारण गर्नुहोस्, बालबालिका छिट्टै सिक्ने र छिट्टै बिर्सने हुन्छन् । उनीहरूले पहिले गरेका कार्यहरू बिर्सेको हुनसक्छ, पुनः सम्झाउनुस् । काम ठीक तरिकाबाट नभएकोमा आलोचना नगरौं । पुनः सही तरिका सिकाउँदै गर्न लगाऔं । राम्रो गर्नासाथ स्याबासी दिऔं । उनीहरूको अनुहारमा पुनः मुस्कानका साथ जिम्मेवार र आत्मविश्वास बढाऔं । 

१३. दैनिक कामको समय तालिका बनाएर काम गराऔंः साना बालबालिकाले दैनिक गरेका र गर्ने सबै काम आफ्नो जिम्मेवारीका रूपमा सम्झिरहेको हुँदैन त्यसैले उनीहरूकै सहमतिमा तालिका बनाइ प्रिन्ट गरेर सजिलै देख्ने ठाउँमा राखौं । तालिका अनुसार ठीक समयमा गर्न प्रेरित गरौं (Ruskin) । सबै काम ठीक गरेकोमा प्रोत्साहित र धन्यवाद दिन नबिर्सौं ।

१४. नियमित अनुगमन गरौंः बालबालिकाले आफ्नो गृहकार्य वा आर्ट गरिसकेपछि टेबल सफा गरी कैँची कागज र रंग ठीक ठाउँमा राख्न लगाऔं । यसो नगरेमा भोलि आफूलाई चाइँदा कैँची रंग नभेटिने र टेबल फोहोर हुने पुनः सम्झाऔं । बालबालिकाको स्वभाव नै हो, उनीहरू यो सबै गर्न नपरे हुने थियो भन्ने ठान्दछन् (Dr. Barzvi) ।

यसैगरी अभिभावकहरू बालबालिकाले दुःख नपाओस्, दुःखी नहोस्, नरिसाओस्, पीर नमानोस् भनेर उसका सबै काम र समस्याहरू समाधान गरिदिन्छौं । त्यसैले उनीहरूमा जिम्मेवार बन्नुपर्छ भनेर अनुभूति नै हुँदैन । 

विद्यालय जाँदा तपाईंको बालबालिकाले कलर बिर्सियो भने विद्यालयमा आर्ट गर्न पाउने छैन र भोलिदेखि कलर बोक्न आफैँ सम्झन्छ । घर, विद्यालय तथा अन्य ठाउँमा कुनै खेलौना वा खेल सामग्री खेलिसके पछि जतन नगर्दा आउने दिनमा कम्तिमा ३ देखि ५ दिन कुनैपनि खेल खेल्न नदिऔं ।

१५. तपाईंका छोराछोरीलाई व्यक्तिगत रूपमा आएका समस्या समाधानका लागि विकल्पहरू खोज्न र आप्ठ्याराहरूको समाना गर्न प्रेरित गरौं । समस्या समाधानका उपाय खोज्ने हो र समाधान निकाल्ने उसैको दायित्व हो, त्यसैले गर्न सक्छौ भनेर हौसला दिऔं  । हामीले बालबालिकामा डर र कमजोरी भावना आउन नदिनका लागि भरोसा/विश्वास दिलाउने मात्र हो । समस्याको समाधान खोज्न सीर्जनशील बनाओस् । माफी मागेर होस् वा प्रतिवाद गरेर भएपनि समस्याको समाधान गर्न प्रेरित गरौं (Eleanor Roosevelt) ।

बालबालिकालाई जिम्मेबार बनाउन सजिलो नहुन सक्छ जिम्मेवार बनाउने दायित्व अभिभावकको हो । यसका लागि निरन्तर उनीहरूलाई विश्वासका साथ काम गर्ने अवसर सिर्जना गरौं । यसमा समय अवश्य लाग्नेछ, तपाईंको उनीहरूप्रतिको विश्वास र सहयोगबाटै बालबालिका जिम्मेवार र आत्मनिर्भर बन्नेछन् । 
 

पुस २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस