पूर्वीय दर्शनमा शुभमुहूर्त किन खोजिन्छ ? सफलताको सूत्र रहेको विश्वास

पुस २१, २०७५
  • सच्चिदानन्द शर्मा

अहिलेको समय धेरै मानिसहरू छोटो समयमा आफ्ना लक्ष्यमा ठूलो उपलब्धी हासिल गर्न भौतारिइरहेको समय हो । हाम्रा धर्मशास्त्रलाई गहिरिएर अध्ययन गर्ने हो भने प्राचीन समयमा पनि यस्तो आकांक्षा राखेको र कसरी छोटो समयमा प्रभावकारी रुपमा धेरैभन्दा धेरै उपलब्धी हासिल गर्न सकिन्छ भनेर धेरै अध्ययन, अनुसन्धान र परीक्षण भएका थिए ।


ADVERTISEMENT

त्यतिखेरका ती अध्ययन, अनुसन्धान र परीक्षणबाट प्राप्त भएका परिणाम अहिलेको समयमा पनि धेरै उपयोगी र आवश्यक रहेको प्रमाणित भइसकेको छ । यस विधिलाई पुनः उपयोगमा ल्याउन सकियो भने अहिलेको समयमा पनि मानिसले ठूलो उपलब्धी हासिल गर्न सक्ने त छँदैछन्, अझ आम जनतामा बढ्दो रुपमा यसै कारणले उत्पन्न भइरहेका हजारौं विभिन्न खाले शारीरिक तथा मानसिक रोगहरू पनि नियन्त्रणमा ल्याउन सकिन्छ । 

यो कुरा सामान्यजस्तो लाग्ला । तर यसको प्रभावकारिता बहुतै ठूलो छ । अतः जीवनका हरेक क्रियाकलापलाई शुरू र अन्त्यमा पानी अचाएर १ मुहूर्तभन्दा बढी लगातार अगाडि नबढाई सञ्चालन गर्ने अभ्यास आजदेखि नै शुरू गर्ने हो भने अवश्य पनि हामीले ठूलो उपलब्धी हासिल गर्न सक्छौं ।   

मुहूर्त साधना भनेको के हो ?

यो प्राचीन कालमा नै ऋषि–महर्षिले प्रतिपादन गरी प्रयोगमा ल्याएको विधि भएपनि कालक्रममा यसलाई महत्त्व दिन छोड्दै जानाले यस समयमा आइपुग्दा यो विधि करीब–करीब निष्क्रिय रहेको छ । यो यस्तो एउटा विधि हो, जुन विधिको अभ्यासका कारण मानिसहरूलाई कुनै पनि कामबाट थकाई लाग्न पाउँदैन र कुनै पनि शरीरका अंगहरू बढी सञ्चालनका कारण वा बढी निष्क्रियताका कारण पनि थोत्रिन वा रोगी हुन पाउँदैन ।

अहिलेको वैज्ञानिक युगमा पनि विभिन्न अनुसन्धानबाट मानिसहरू स्वस्थ रहन समयको उचित सदुपयोग गरी प्रभावकारी काम गर्न यस विधिको महत्त्व र आवश्यकता रहेको प्रमाणित भइसकेको छ । संक्षेपमा भन्ने हो भने एक मुहूर्त अर्थात् ४८ मिनेटको समयावधिको साधनालाई नै मुहूर्त साधना भनिएको हो ।

हरेक मानिसले आफ्ना दैनिक रुपमा गरिने हरेक क्रियाकलाप एकै आसनमा बसेर ४८ मिनेटको समयावधिभित्र गरिसक्नुपर्छ वा नसकेमा पनि १२ मिनेट विश्राम गरेर मात्र पुनः शुरू गर्नु वा अर्को काम गर्नुपर्छ । यसको मतलब हामीले कुनै पनि काम जस्तै पढ्ने, लेख्ने, दूरदर्शन हेर्ने, चलचित्र–सिनेमा आदि हेर्ने, फोन–मोबाइल वा कम्प्यूटरमा हेर्ने वा इन्टरनेटको काम गर्ने, जोत्ने, खन्ने, घाँस काट्ने, भकारो सोर्ने, लिपपोत गर्ने, भात पकाउने, आरनको काम गर्ने, सिलाइबुनाई काम गर्ने, खेतबारीको काम गर्ने, कार्यालयको काम गर्ने, पसलमा बस्ने, सोच विचार गर्ने, बाली उठाउने, हिँड्ने, खेल्ने, भाषण गर्ने, यन्त्र वा सवारी हाक्ने, उडान गर्ने, पौडी खेल्ने, नुहाउने, वार्तालाप गर्ने, हाँस्ने, रुने, ठट्टा गर्ने, योग गर्ने, कुनै पनि शारीरिक व्यायाम गर्ने, खाने र दिउँसोको समयमा विश्राम गर्ने (सुत्ने) समेत आदि सबै काम एउटै आसनमा रहेर गर्दा ४८ मिनेटभित्र नै गरिसक्नुपर्छ । तर ४८ मिनेटको समयावधिभन्दा लामो समय लगाएर लगातार गर्नु भने कदापि हुँदैन । यदि सोही काम पुनः नगरी नहुने भयो भने लगभग १२ मिनेट विश्राम गरेर मात्र गर्नुपर्छ । यसरी गरिने हरेक कामको शुरू र अन्त्यमा कम्तिमा पनि ३–३ घुट्का पानी पिउने गर्नुपर्छ ।

यसैकारण पूर्वीय दर्शनको मतानुसार हरेक कामको साइत जुराउँदा यस मुहूर्तमा गर्ने भनेर ज्योतिषिले मुहूर्त निर्धारण गर्ने परम्परा छ । यसै आधारमा चुडा, उपनयन, वेदारम्भ, समावर्तन, विवाहका वरणी, वाक्दान, कन्यादान, स्वयंवर आदि सबै संस्कारहरू मुहूर्तभरमा सम्पन्न गर्न शुभमुहूर्त जुराउने चलन अहिलेसम्म कायम नै छ । यस प्रकारको नियम पालना गरेर जति काम गरिन्छ, त्यसलाई नै मुहूर्त साधना भनिन्छ ।

मुहूर्त साधना किन आवश्यक छ ?

यस संसारमा जति–जती नयाँ नयाँ विकास हुँदै गएको छ, त्यति– त्यती मानिसहरू अती व्यस्त हुँदै पनि गएका छन् । सबै आफ्ना आफ्ना जिम्मेवारीका काम र रुचीका काम गर्ने क्रममा अती व्यस्त छन् । कामकै व्यस्तताको कारण प्रायः सबैले आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्न सकेको देखिंदैन । यसको परिणाम स्वरुप विश्वमा लगभग ९९% मानिसहरू कुनै न कुनै रोगको शिकार भएर बाँच्नु परेको छ ।

अझ सबै जसो अकालमा नै मर्नु परेको छ । हामीले मानिसको रुपमा जन्मन पाउनु ठूलो शौभाग्य हो । ठूलो शौभाग्यले जन्मन पाएको यस मनुष्यको जुनीमा आयुसम्म निरोगी भई सक्रिय जीवन बाँचिरहन पाउनु पर्नेमा, आयुसम्म बाँच्नै नपाई अकालमा नै मर्नु भनेको धेरै दुःखको कुरा हो ।

बारम्बार पानी नपिउने वा बढी पानी पिउने र एउटै आसनमा बस्ने तथा निहुरिएर लगातार लामो समय गर्ने कामकै कारण प्राय जसो सबैले ढाडकम्मर दुख्ने पीडा भोग्दैबाट शुरु भएर हड्डी खिईने हुँदै मृगौला आदि अंग असफल तथा क्यान्सर आदि भयानक रोगहरूको शिकार भएर अकालमा नै मर्नु परेको हामी सबैका सामु छर्लङ्ग छ । यी सबै घटनालाई सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने यी सबै घटना हामीले हाम्रो शरीरले सञ्चालन गर्ने कामहरूलाई व्यवस्थित गरी सही बिधिले सञ्चालन गर्न नजान्नु कै परिणाम नै हुन् भन्ने प्रष्ट छ । सारमा भन्नु पर्दा यस साधना निम्न अनुसार बिषयमा उपलब्धि हासिल गर्न आवश्यक छ । – 

१. शरीरिक र मानिसिक स्वस्थ्य स्वस्थ राख्न ।
२. गरेका कामबाट थकाई नलाग्ने हुन । 
३. छोटो अवधिमा धेरै काम गर्न ।
४. स्मरण शक्ति बढाउन । 
५. लामो आयु बाँच्न ।
६. रचनात्मक शक्ति बढाउन । 
७. हरेक काममा सफलतासम्म सजिलै पुग्न । 
८. आफुमा मानवीय गुण विकास गर्न । 
९.जीवनमा धर्म, अर्थ, काम र मोक्षहरूको पुरुषार्थ प्राप्त गर्न ।
अतः जीवनका सबै क्रियाकलापलाई एक मुहूर्त साधनाको विधिमा सञ्चालन गर्न आवश्यक भएको हो । 

मुहूर्त साधना कहिलेदेखि कहिलेसम्म गर्नु आवश्यक छ ?

जन्मनासाथको शिशु पनि रुन्छ र उसले आफुलाई परेको पीडाको व्यक्त गर्दछ । उसको सो पीडालाई कम गराउन सर्वप्रथम हामीले उसको आसन ९उयकष्तष्यल० बदलि दिन्छौ । यति गर्नाले मात्र पनि उसलाई राहत महसुस भएर होला, सो शिशु केही बेर शान्त हुन्छ ।

कुनै अफिसमा काम गर्ने व्यक्ति लामो समयसम्म एउटै आसनमा बसेर लगातार लामो अवधी काम गर्छ भने सो व्यक्ति नै ढाड–कम्मर दुख्ने देखि डर लाग्दा रोगको शिकार हुन्छ र त्यस्तै कुनै एक बृद्ध जव हलचल गर्नै नसक्ने भए पछि सुतेको ठाउँमा ओल्टन पल्टन पनि नसक्ने हुन्छ, तव एक मुहूर्त अवधिभन्दा बढी समय थिचिएको शरीरको अंगमा घाउ पैदा हुन्छ । यदि घाउ हुन नदिने हो भने एक मुहूर्त अवधि भित्र पल्टाई उसको शरीरको एउटै अंग थिचिन दिनु हुन्न । यी तीन उदाहरण मात्र हुन् । यसैबाट सबैले संक्षेपमा बुझ्नु पर्छ कि मुहूर्त साधना जन्मनासाथदेखि नमरेसम्म व्यक्तिहरूका लागि अपनाउनु आवश्यक छ । 

मुहूर्त साधना कहाँ र कस्तो अवस्थामा अपनाउने ?

सार रुपमा मुख्य मुख्य बस्तुहरू अझ भन्ने हो भने संसार यस्तो नियमद्वारा संचालन भएको छ कि जुन कुनै समयमा कुनै कारणले पनि परिवर्तन हुने नियमहरू बदलिनु हुँदैन । जस्तै दिन रात हुने प्रक्रिया, ग्रहहरू र ताराहरूको गति आफ्नै नियममा चलि रहेका छन् । कथं कदाचित यिनको गति रोकियो भने के होला भनेर सोच्ने हो भने त्यस पछिको परिणाम संझँदा मात्र पनि अहिले नै हाम्रो आँग सिरिंग हुन्छ । हाम्रो शरीर पनि गतिमान छ ।

शरीरमा रहेका मुटु फोक्सो लगायत सबै अंगको विकासक्रम गतिमान नै हुन्छ । प्राचीन कालमा नै शरीरका भित्री अंग जस्तै गरी सिङ्गो शरीरलाई पनि कुन समयमा कसरी चलाउँनु राम्रो हो भन्ने बारेमा अध्ययन अनुसन्धान गरी निष्कर्षमा ऋषि महर्षिहरूले एक मुहूर्त साधना प्रतिपादन गरेका हुन् । यसको प्रयोग धर्मका रुपमा अर्थात मानिसले कसरी छोटो अवधिमा जीवनलाई सार्थक बनाई मोक्ष प्राप्त गर्न सक्छ भन्ने तर्फ केन्द्रित भएको थियो । अतः मानिसको  शरीरको बाहिरी सञ्चालन कहाँ–कहाँ कहिले–कहिले कस्तो हुनु पर्छ भन्ने बारेमा ऋषि महर्षिका पालादेखि एक मुहूर्त साधान जीवनका हरेक कालखण्डमा जुन सुकै ठाउँमा रहेको भए पनि अपनाउन पर्ने गरी महत्व दिएको देखिन्छ ।

प्रकृतिको विधिविधान अनुसार आवश्यक भएको निद्रामा मानिसले बेहोस नै हुने गरी सुतेर पूर्ण विश्रामका रुपमा रहँदा पनि प्रकृतिले नै चलमल गराई दिएर मुहूर्त साधना अवस्थाको सन्तुलनमा ल्याई रहेको हुन्छ । मानिस जव होसमा हुन्छ, तव बाहिरी रुपमा मानिसलाई पूर्णरुपमा आफ्नो मालिक आफैं हुने अधिकार रहन्छ । यो अधिकारलाई दुरुपयोग गरेर मानिसले प्रकृतिको विधीविधान विरोधी गतिविधिमा शरीरका क्रियापलापलाई सञ्चालन ग¥यो भने अवश्य पनि रोगको शिकार भई अन्तमा अकालमा नै मर्नु पर्ने हुन्छ । निष्कर्षमा भन्नु पर्दा त्यस्तो कुनै अवस्था छैन, जुन समय वा ठाउँमा मुहूर्त साधना नअपनाउँदा जीवनलाई सहज भएको होस् । 

मुहूर्त साधना कसरी उपयोगमा ल्याउन सकिन्छ ? 

अहिले मानिसहरू विच आफुलाई आफैं सर्वेसर्वा ठानेर प्रकृतिका विधिविधानलाई ख्यालै नगरी जीवन सञ्चालन गर्ने होड नै चलेको छ । हुन त यस्तो होड आजभन्दा पाँच– छ हजार वर्षभन्दा अघिदेखि नै चलेको देखिन्छ । यही प्रकृति विरोधी होड कै कारणले अहिले मानव जातिको आफ्नो शरीरले स्वभाविक गतिमा काम गर्न नजान्ने भै सकेको छ, जसरी माहुरी आदि किट तथा गाई, बाघ आदि जनावरहरू जन्मदै सामान्य जीवन जिउने ज्ञान र सीप लिएर आएका हुन्छन् उदाहरणका लागि माहुरीले समान चाका बनाउन कुनै ईञ्जिनीयरिङ कलेजमा गएर शिकिरहनु परेको छैन । अहिले हामी भने सामान्य जीवन जिउन पनि के गर्ने, के नगर्ने के खाने, के नखाने, कहिले गर्ने, कहिले नगर्ने कहाँ गर्ने, कहाँ नगर्ने आदि विषयमा प्रकृति विज्ञसंग तालिम लिनु पर्ने भयो । प्राकृतिक रुपमा सामान्य जीवन जिउने यस प्रकारका कलामा किट वा जनावरसंग तुलना गर्ने हो भने पनि यो हामी सर्वोत्कृष्ट भनाउँदा मानव जाति कै लागि बहुतै लाजमर्दो र दुःख लाग्दो कुरा हो ।


हामी माझ जव जीवनमा धेरै समस्याहरू खडा हुन्छन शारीरिक तथा मानसिक रोगहरू लाग्छन् र जीवन जिउन धैरै कठीन हुँदैजान्छ तव मात्र हामी के गर्दा जीवन जिउन सजिलो हुन्छ भनेर भौंतारिन्छौं । भन्न त यस्तो गर्नु हुँदैन, हामी सबैले जीवनका शुरुका दिनदेखि नै हाम्रा बानी व्यवहारलाई सुधार्नु पर्छ भनेर खुवै आदर्शका कुरा गरेर अरुलाई अर्ती उपदेश पनि दिई रहेका हुन्छौं तर आफु चाहिं यो सोच्दछौं कि आजसम्म मलाई ठीकै छँदैछ । अतः म एउटाले भोलीबाट मात्र शुरु गर्दा के फरक पर्ला र ? यस्ता सोचले अहिले हामी सबैको पूरा शरीर भित्र–भित्रै काम नलाग्ने अर्थात सुधार्नै नसक्ने गरी बिग्री सकेको हुन्छ । यो समस्या अहिलेको मात्र होईन ऋषि–महर्षिका पालादेखि कै हुनुपर्छ किनकी ऋषि–महर्षिहरूले सामान्य स्वस्थ रहन अपनाउनु पर्ने यी विधीहरू हुन्, भनिरहेका थिए । त्यतिखेरको अवस्थामा पनि विभन्नि बहाना गरेर यी विधि धेरै जसो व्यक्तिहरूले पालना नगरेकै कारणले नै यी विधिहरूलाई धार्मिक नियममा समावेश गरी धार्मिक विधीविधानमा राखेर प्रत्येक व्यक्तिले आफ्नो जीवनमा अनिवार्य रुपमा बानी–व्यवहार कै रुपमा आचरणमा उतार्नै पर्ने बनाईएको होला । अतः यो मुहूर्त साधना विधि सामान्य जस्तो देखिए पनि प्रत्येक व्यक्तिले यसलाई अनिवार्य रुपमा पालना गर्दै उपयोगमा ल्याउनु पर्छ ।


माथिका दुई दफामा प्रकृतिको विधि विधान अनुसार जीवनको अभिन्न अंगका रुपमा मुहूर्त साधनालाई उपयोगमा ल्याउनु पर्ने चर्चा गरियो । रुख विरुवा स्थिर रहेर मात्र राम्रो विकास हुन सक्ने तर किरा पशु, पँक्षी तथा मानिस आदि चलमलाए पछि मात्र राम्रो  विकास हुने वरदान पाएर आएका प्राणीहरू हुन् । अतः एउटै आसनमा कति समयसम्म सञ्चालन गर्न सकिन्छ भन्ने जान्नु पर्छ । अहिलेसम्मको अनुसन्धान र परिक्षणबाट कुनै पनि काम वा व्यवहार गर्नु पर्दा कम्तिमा पनि तीन घुट्का पानी पिएर शुरु गरी  अठ्चालिस मिनेटभन्दा लामो समय लगातार गर्न नहुने र अन्तमा पनि पुनः कम्तिमा तीन घुट्का पानी पिउनु पर्ने र बाह्र मिनेट विश्राम गरेर मात्र अर्को काम पहिलो काममा शुरु गर्दा जसरी नै शुरु गर्नु पर्छ ।

संक्षेपमा मुहुर्त साधनाको विधि यस प्रकार छन्  ः–


१. कुनै पनि कामको शुरुमा कम्तिमा तीन घुट्का पानी पिउनु पर्छ । 
२. कुनै पनि कामको शुरु गरे पछि लगातार एउटै आसनमा रहेर गरेको काम अठ्चालिस मिनेट (एक मुहूर्त) भित्र रोकिएर फर्कनु पर्छ ।
३. लगातार गरिरहेको कामबाट फर्किनु भनेको कम्तिमा तीन घुट्का पानी पिउनु  भनेको हो भन्ने सम्झेर पानी पिउनु पर्छ । 
४. कुनै पनि कामबाट फर्केको र अर्को कामको शुरु गर्नु अघिको विचको चल्मलाउने छोटो विश्राम समय लगभग बाह्र मिनेट हुनु पर्छ । 
५. पुनः अर्को कामको शुरु गर्नु अघि पनि कम्तिमा तीन घुट्का पानी पिउनै पर्छ । 

मुख्यतः मुहूर्त साधनाका विधि यति मात्र हुन् । मुहूर्त साधनाका विधिहरू जति सरल छन्, त्यति नै महत्वपूर्ण छन् । नमूनाका लागि यहाँ एक मुहूर्त शुभारम्भ साधना तल प्रस्तुत गरिएको छ । यसलाई अक्षरशः अपनाई उपयोगमा ल्याउने व्यक्तिहरू नै अवश्य पनि निरोगी र सफल जीवन जिउन सक्तछन् । 

मुहूर्त साधनाबारे 

एक दिन परमहंस शुकदेव स्वामीले राजा परीक्षितलाई यसै बारेमा संझाउँदै अर्थात एक मुहूर्त साधनाको बारेमा जानकारी गराउँदै थिए । यस क्रममा उनले राजा परीक्षिलाई राजा खट्वाङ्गले पनि उनको २–३ मुहूर्त आयुभित्र नै मानव जीवनलाई सार्थक र सफल पार्न सक्ने अचुक उपाय माग गरेको बताए । त्यतिखेर शुकदेव स्वामीले राजा खट्वाङ्गलाई एक मुहूत साधनाको उपयोगिता र महत्व बताउँदै विधिपूर्वक यसै साधना गराएर मुहूर्त भरमा नै जीवन सफल भएको अनुभूति गराउन सकेको चर्चा श्रीमद्भागवत महापुराणमा उल्लेख छ । 

तपाई अहिले कति वर्षको हुनु भयो ? ४० वर्षको पुगिसक्नु भएको छ भने तपाईंलाई  ढाड कम्मर दुख्ने समस्या शुरु भई सक्यो होला । अझ जिउ दुःख्ने, हात गोडा झमझमाउने, टाउको दुःख्ने, पेट दुःख्ने लगायत अनगिन्ती रोगले सताउन शुरु गरेकोे छ भने तपाईंले मुहूर्त साधना ठीक तरिकाले अपनाउनु भएन अर्थात यसको विधिहरू ठीक तरिकाले पालना गर्नु भएन र उपयोग गर्नु भएन भन्ने बुझे हुन्छ । प्राकृतिक चिकित्सक कहाँ गएर सल्लाह लिने हो भने तपाईंले कम्तिमा पनि प्रत्येक काम गर्दा ४५ देखि ४८ मिनेट अवधि भन्दा बढी समय एउटै आसनमा नबस्नुहोस् र एक एक घण्टाको अवधिमा एक – एक  गिलास पानी पिउनुहोस भन्ने सल्लाह दिएर पठाउँछन् ।

हामी सचेत अर्थात चेतनशील सर्वोत्कृष्ट प्राणी मानिस नै हौं भने यी न्यूनतम प्राकृतिक अनुशासन पनि पालना गर्न नसकेको हुनु लाजमर्दो कुरा हो, अझ आफैंलाई धोका दिनु हो । आफैंलाई धोका दिनेले अरुलाई त पक्का धोका दिन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । अतः यस अर्थले अब तपाईंलाई विश्वास गर्ने यो समाजमा कोही पनि हुने छैनन् । आफ्नै समाजमा अरु कसैले विश्वास नगर्ने अविश्वासी भए पछि यसै समाजमा टिकी रहन गाह्रो हुन्छ कठीन हुन्छ । अतः आजैदेखि आफ्ना बानी व्यवहारहरू सुधारौं । 

अहिलेको समयमा एक मुहूर्तको साधना अपनाउन आवश्यक पर्ने न्यूनतम के के चाहिन्छ भन्ने बारेमा धेरै जिज्ञासाहरू आएका छन् । यस विधिलाई अपनाउने व्यक्तिमा निम्न न्यूनतम योग्यता तथा आधारहरू भए पुग्छ –
१. समयको जानकारी राखेका हुनु पर्छ  । 
२. शुद्ध पिउने पानीको उपलब्धता हुनु पर्छ । 
३. काम प्रतिको जागर र प्रतिबद्धता हुनु पर्छ । 
  कमसे कम आफ्नो शरीरलाई यस विधि–विधानमा सञ्चालन गरौं । अतः कम्तिमा पनि आफैंले जानौं र योग्य बनौंैं, आफैं उपयोग गरौं र आफैंले आफुलाई धोका नदिऔं ।

पुस २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस