नेपालमा भइरहेको भूराजनीतिक दाउपेचको नालीबेली वर्णन गर्ने पुस्तक–साउथ एसिया चाइना जिओइकोनोमिक्स

पुस २१, २०७५

विद्वान् लेखक तथा स्तम्भकार, वरिष्ठ कानून व्यवसायी, न्याय शिक्षाका एक उदाहरणीय  व्यक्तित्व तथा समाजका धेरै क्षेत्रमा अनुकरणीय  लगाव र सफलता प्राप्त अब्बल बौद्धिकता भएका प्राध्यापक डाक्टर युवराज संग्रौलाबाट लेखिएको नयाँ पुस्तक  साउथ एसिया चाइना जिओइकोनोमिक्स प्रकाशित भएको छ । 

यस पुस्तकमा चीन र भारतको आर्थिक विकास खासगरी चीनको उदयले सिर्जना गरेको नयाँ विश्व राजनीतिक रङ्गमञ्चको प्रतिकारमा पश्चिमी जगतमा निर्माण भएका प्रतिक्रियाहरू एवं रणनीतिका अतिरिक्त नेपालको संक्रमणकालीन राजनीतिमा त्यसको प्रभाव अनि नेपाल–चीन, नेपाल–भारतको कूटनीतिक इतिहास र चीनको ‘बेल्ट एन्ड रोड’ परियोजना बारेमा बृहत् अनुसन्धानात्मक विमर्श निहित रहेको छ । 


ADVERTISEMENT

साथै, भारत र चीनको विकासले नेपालको भूराजनीतिक अवस्थामा सिर्जना गरेको जटिलता र त्यससँग आबद्ध कारणहरूले नेपालभित्र बढेका चलखेललाई प्रामाणिक ढंगबाट प्रस्तुत गरेको छ ।  प्राचीन  सकारात्मक शास्त्रार्थ गर्न उत्सुक पाठकहरूका लागि एउटा बृहत् अध्ययन सामग्रीको रूपमा आएको यो पुस्तकमा समसामयिक विषयवस्तुहरू जस्तै अन्तर्राष्ट्रिय राजनीतिदेखि अर्थव्यवस्था अनि पूर्वीय दर्शनदेखि पश्चिमा दम्भसम्मको गहन चिरफार गरिएको छ । 

लेखकले अमेरिकाको वर्तमान अन्तर्राष्ट्रिय राजनीतिका बारेमा विराट चर्चा गरेका छन् । ह्वाइटहाउस प्रशासनको स्वउद्घोष र अमेरिकी सञ्चारगृहको आत्मरति जस्तो सादा र सकारात्मक टिप्पणी नभई लेखकको विश्लेषणले अमेरिकी राजनीतिलाई द्वन्द्व तथा युद्ध विस्तार, खराबीको वृद्धि र विभेद तथा हस्तक्षेपकारी दिशामा हिंस्रक रूपले अगाडी आइरहेको देखाउँछ । पुस्तकले शान्ति तथा अमनचयनको निर्माणभन्दा विनिर्माण, विनाश, बेथिति र अधोगतिको पर्यायवाची हुनेमा अमेरिकी अन्तर्राष्ट्रिय नीति अग्रसर रहेको अनि संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरू  यसैका शिकार भएको उजागर गर्दछ । 

लेखक संयुक्त राष्ट्रसंघ स्थापनाकालदेखि अहिलेसम्म पनि शान्ति स्थापनामा इच्छुक अनि अभ्यासरत दुवै नभएको तर्क गर्छन् । उत्तर अमेरिकी र पश्चिमा देशहरूको दबदबा रहनेगरी विश्व गोलार्ध तथा जनसंख्या केहीमा पनि समानुपातिक प्रतिनिधित्व नभई निर्माण भएको संयुक्त राष्ट्रसंघ खालि तिनै नेटो देशहरूको अभीष्ट पूरा गर्नमात्र दुरुपयोग भएको भन्दै इराक, अफगानिस्तान अनि सिरियाको अवस्था पनि वर्णन गरिएको छ । 

देशहरूलाई एकअर्काको शत्रुको रूपमा चित्रित गरेर द्वन्द्वको स्थिति सृजना गर्ने अनि युद्ध जन्माउँदै हतियार बेचेर व्यापार पनि गर्ने अमेरिकी दोहोरो चरित्रलाई पनि पुस्तकले बाहिर ल्याएको छ । विश्वको सन्दर्भमा संयुक्त राष्ट्रसंघ र दक्षिण एसियाको सवालमा सार्क दुवै निष्क्रिय र असफलप्रायः भइसकेको प्रमाण दिँदै लेखकले तिनीहरूको सामयिक पुनःसंरचना गर्न सकिने विविध उपायहरू पनि सुझाएका छन् ।   

लेखकले अमेरिकी राजनीति बिस्तारै नाफाखोर व्यापारीहरूको कब्जामा पर्दै गएको, अमेरिका आफैं देशहरूबीच विभाजन ल्याउनेमा उत्साहित भएका कारण उसले प्रतिगामी लक्ष्य र ख्याति कमाएको तर्क गर्छन् । एउटा देशसँग मित्रताको नाटकमा अर्को देशलाई घेराबन्दी गर्ने पश्चिमी गतिविधिको जालो लेखकले पस्केका छन् । भारत र चीन यसको पछिल्ला श्रृंखला बन्दैछन् । 

लेखकको विश्लेषणको आधारमा अमेरिकालाई सोच तथा व्यवहार कुनै पनि हिसाबले प्रजातान्त्रिक देश मान्न सकिने आधार देखिँदैन । अमेरिकी नीति र स्थितिलाई लेखकले ‘क्रिप्टो कोलोनियलिजम’ र ‘क्रोनी क्यापिटलिजम’को संज्ञा दिएका छन् । 

पुस्तकमा सम्पत्ति तथा आयको असमान वितरण लगायत बढ्दो गरीबी  अनि अभावग्रसित मानिसको चुलिँदो संख्याले अमेरिका विगतभन्दा झन् अन्यायपूर्ण, असमतामूलक र अप्रजातान्त्रिक समाज बन्दै गएको कुरा अमेरिकी अनुसन्धानकर्ताहरू एवं राजनीतिक नेताहरूको अनुभव र विश्लेषणमा आधारित तथ्यहरूलाई प्रस्तुत गरेको छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय नीतिप्रति आशावादी नरहेका लेखकमा चीनको अन्तर्राष्ट्रिय नीति र घरेलु अभ्यास दुवैले सकारात्मक उत्पे्ररणा भरेको देखिन्छ । साझा गन्तव्य र सम्पन्नताको हिस्सेदारीले अभिप्रेरित चिनियाँ महत्त्वाकांक्षी योजना बीआरआईप्रति लक्षित गर्दै  लेखकले नेपाल लगायत अन्य एसियाली देशहरूले यसबाट लिनसक्ने अधिकतम सम्भावनाको बारेमा चर्चा पनि गरेका छन् । 

पश्चिमाहरू विशेषगरी बेलायतले कुनै बेला विश्व व्यापारको ढालमा सामराज्य बनाएको कुरा निकाल्दै चीनको उद्देश्य केवल सञ्जाल निर्माण गरी अरूलाई पनि समृद्धि र समुन्नतिको सहयात्रामा सँगै लैजानु मात्र रहेको तर्क गरेका छन् । हस्तक्षेपकारी पश्चिमा नीतिभन्दा विशुद्ध पृथक् रहँदै चिनियाँ नीति सबैको सत्प्रयासलाई टेवा पु¥याउने र गोलार्धकै समुन्नतिका लागि ल्याइएको शुभ अभिलाषाका रूपमा व्याख्या गरिएको छ । 

प्राचीन सभ्यताहरूको तात्त्विक फरक जस्तै युरोपेलीहरूको सामराज्य बनाउने शैली, अफ्रिकीहरूको प्रतिवाद चाहिँ गर्ने तर अरूलाई कब्जा नगर्ने परम्परा अनि एसियालीहरूको जसलाई पनि स्वीकार्ने र शरण परिदिने परम्पराको विश्लेषण पुस्तकको अर्को रमाइलो र नयाँ पक्ष रहेको छ । 

यससँगै लेखकले  नेपाल, भारत, चीन अनि दक्षिण एसियाका अन्य देशहरूबीचको सम्बन्धमा समेत गहन छलफल गरेका छन् । चीनले आधुनिक नेपालको शुरूआती समयमा जानीनजानी नेपालप्रति गरेका केही अन्याय र असहयोगको परिणामस्वरूप आज नेपाल अस्थिर अनि कमजोर भएको भन्दै चीनले यस्ता पक्षलाई सुधार्नुपर्नेमा लेखक जोड दिन्छन् । 

दुवै छिमेकीको गम्भीर ध्यानाकर्षण गराउँदै लेखकले नेपालमा भइरहेको कुनै शंकास्पद अथवा अन्यथा प्रभाव प्रवाह गर्ने गतिविधिलाई नेपालको अहितमा अथवा नेपालको आन्तरिक मामिलालाई निशाना बनाई बुझाई गल्ती नगर्न भन्छन् । नेपालमा हुने कुनै पनि पश्चिमा गतिविधि कि त भारत कि त चीनको क्षयीकरणमा केन्द्रित हुने पूर्वतयारी भएको मान्छन् । 

पश्चिमाहरूको उद्देश्य समेत कि भारत कि चीनलाई कमजोर बनाउने अनि त्यसका लागि नेपालको भूभाग तथा अस्थिर राजनीति अनि गरीबीको दुरुपयोग गर्ने भएकाले समुन्नत, स्थिर, समृद्ध अनि सबल नेपाल छिमेकीका सुरक्षा सवालका लागि पनि उत्तिकै प्रमुख आवश्यकता रहको बताउँछन् । दुवै छिमेकीले नेपाललाई उक्त लक्ष्यमा सहयोगी र सद्भावपूर्ण बनी सघाएमा उनीहरूको पनि हित हुने भनी  आग्रह समेत गरेका छन् ।

पुस्तकमा केही एनजीओ र आईएनजीओहरूले कुन प्रकारले देशको अस्थिरता र अविकासलाई झन् मलजल गरिरहेका छन् भन्ने कुराको पनि चर्चा गरिएको छ । सेवा र सहयोगको नाममा कसरी पश्चिमाहरू आफ्नो स्वार्थपूर्ति गर्दै नेपाली समाज, संस्कृति र विकासलाई झन जीर्ण बनाउँदै छन् भन्ने देखाउँदै विकासको नारामा विनाशको प्रवर्धन उनीहरूको ध्येय भएको तर्कलाई तथ्यसहित प्रमाणित गरेका छन् ।

पुस्तकमा लेखकले प्रजातन्त्र, समृद्धि, कानूनी शासन जस्ता अवधारणाको कुनै विश्वव्यापी उदाहरण नहुने र एकठाउँमा प्रयोग भएको अभ्यास नै अर्को स्थानमा पैठारी गर्न नमिल्ने भन्दै उक्त अवधारणा वस्तु अथवा जिन्सी नरहेको बताउँछन् । एउटै सर्वमान्य प्रारूप नभइकन देशको भौगोलिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अवस्था अनुसार स्वनिर्मित विशिष्ट र मौलिक  अभ्यास हुनसक्ने र सबै देशहरूले यस्तै अभ्यासको खोजी गर्नुपर्ने भन्छन् । 

तर पश्चिमाहरूले त्यस्ता स्वनिर्मित अभ्यासलाई अनावश्यक खण्डन गर्ने, नकारात्मक र असहिष्णु खालका विचार प्रवाह गर्ने अनि उनीहरू आफैंमा असफल भएका अभ्यासलाई जबर्जस्ती प्रयोग गर्न बाध्य बनाएर बाँकी देश पनि असफल बनाउने रणनीतिको सशक्त आलोचना गरेका छन् । 

लेखकले विकसित हुनु भनेको पश्चिमाको नक्कल गर्नु होइन बरू आफूलाई वैज्ञानिक र प्रयोगपरक बनाउँदै सकारात्मक हिसाबले परिष्कृत गर्नु हो भन्ने ज्ञान वितरण गरेका छन् । पूर्वीय दर्शन तथा चिन्तनहरूले नै तुलनात्मक रूपमा विकास, मानवीयता, सहयोग, सदभाव, समुन्नति र समृद्धिको लक्ष्यलाई शिरोपर गरेको भन्दै चीनले अभ्यास गरेको समाजवादी प्रजातन्त्रलाई पश्चिमाहरूको अहंकारी अभ्यासभन्दा फरक भएपनि आम नागरिकमा उनीहरूले सोचे र देखेभन्दा बढी हित र भलाइ पुगेको सत्यतालाई पाठकसामु पस्केका छन् । तसर्थ प्रजातन्त्र अनि विकास केवल पश्चिमाहरूको सोच र लिखत जस्तो मात्र हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन भन्ने सत्यलाई स्थापित गराएका छन् । 

चीनको प्रगतिका कारण शुरू भएको नयाँ विश्व संरचना र शक्तिको परिवर्तित समीकरण समेतलाई पुस्तकमा  सविस्तार वर्णन गरिएको छ । लेखकले हरेक गतिविधिको रूपभन्दा सार र प्रक्रियाभन्दा त्यसको परिणाम अनि उद्देश्य महत्त्वपूर्ण हुने कुरा व्याख्या गरेका छन् । पूर्वीय, त्यसमाथि पनि एसियाली संस्कृति र व्यवहारमा आधुनिक राजनीतिले वकालत गर्ने कानूनी राज्य, समता, विकास लगायतका अधिकांश धारणाहरूको सघन आत्मसात रहेको कुरा लेखकले व्याख्या गरेका छन् । त्यसैले संस्कृति ओसारपसार वा निकासी पैठारी गर्ने विषय नभई मौलिक र वैज्ञानिक हुनुपर्छ भन्ने उनको मान्यता स्वीकार्य छ । 

केही वर्ष अघिसम्म पश्चिमाहरूले क्रूर सामराज्य बनाएर पूर्वीय देशहरूको स्रोतसाधनको दोहन मात्र गरेनन् यहाँको संस्कार, संस्कृति, विकास अनि सम्पन्नताको विखण्डन पनि गरे । आज पूर्वका अधिकांश देशको गरीबी र अभावमा उनीहरूको उक्त हिंस्रक विगतको ठूलो भूमिका छ । त्यसैले पूर्वको विकास र समृद्धिका लागि काम गर्नु पश्चिमाहरूको सोख वा आत्मरति नभई कानूनी र नैतिक बाध्यता समेत हो ।

त्यसैले उनीहरू हिजोको अपराधको सही अनि यथोचित क्षतिपूर्ति र विनाशको भरणपूरण गर्नुपर्छ भन्ने तर्क गर्छन् । विदेशी लेखकहरूले नेपाल र नेपाली नागरिक अनि यहाँका सभ्यतामाथि तोडमोड गरी अपमानजनक, आपत्तिमूलक अनि नकारात्मक चित्रण गरेको तथ्यहरू केलाउँदै त्यस्ता गतिविधिको सबल खण्डन गर्छन् । 

लेखकले ज्ञानको हिंसा पैmलाउने र बाँकी विश्वलाई अभैm वास्तविक  र आधारभूत अधिकारबाट पर राख्न प्रयत्न गर्ने दुष्प्रयासले अमेरिकाद्वारा प्रतिपादित मानवअधिकारको जेनेरेसन सिद्धान्तको कडा प्रतिवाद गरेका छन् । कानूनी राज्यको स्थापना अहिले देखिएका सबै समस्याको एकीकृत समधान हुनेभन्दै एसिया महादेशको प्राचीन इतिहास र सभ्यताको पुनःस्थापना यसको अचुक उपाय हुनसक्ने बताउँछन् । चीनको प्राचीन संस्कृतिहरूकोे उदाहरण दिँदै संयुक्त राष्ट्रसंघलाई आम विश्व शान्ति तथा मानवकल्याणको लागि काम गर्ने पहिलो संस्था हो भन्ने सम्झनु भूल हुने कुरा समेत उजागर गरेका छन् । 

विविध विषयका अतिरिक्त, नेपालमा बढ्दै गरेको राजनीतिक, सांस्कृतिक, शैक्षिक, व्यावहारिक अनि नैतिक अपचलनहरूको बारेमा पनि लेखकले व्यापक वर्णन गरेका छन् । नेपाललाई सुखी र समृद्ध बनाउन सकिन्छ र बनाउनुपर्छ भन्नेमा अडिग रहेका लेखक यो जिम्मेवारी चािहँ विशुद्ध सरकारको मात्र हो भन्ने मान्न अनि बाँकी सबैले केवल प्रतिक्रियात्मक वा नकारात्मक मात्र बन्नुपर्छ भन्ने सम्झन चाहँदैनन् । 

समाजका सबै नागरिक र सरोकारवालाको बराबरी हिस्सा हुने भन्दै सबैले नैतिक र इमानदारितापूर्वक आप्mनो कार्यसम्पादन गर्नुपर्नेमा जोड दिन्छन् । समस्याको पहाड नै भएपनि समाधानका प्रशस्त उपायहरू देखेका र लेखेका लेखक वर्तमान अवस्थामा भएको हाम्रो देश समुन्नत हुने र बनाउन सकिने आत्मविश्वास राख्दछन् । सकारात्मक र क्रियात्मक अभ्यास गर्न उनले सबैलाई उत्प्रेरणा समेत दिएका छन् । समग्रमा संग्रौलाले एउटा गहन र बहुआयामिक पुस्तक पस्केका छन् । 

पुस २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस