दार्जिलिङमा जन्मिएर नेपालमा जमेकी गायिका कुन्ती, संगीत प्रेममै भेट्टाइन् प्रेमी

पुस २१, २०७५

काठमाडौं–खुट्टा तान्दै गर, माथि–माथि सैलुङ्गेमा, निष्ठुरी मायालु, चोली राम्रो पाल्पाली ढाकाको लगायतका गीत नसुन्ने स्रोता कमै होलान् ।

झण्डै ३ दशक अगाडि यी गीत रेडियो र टेलिभिजनमा खुबै बजे । संगीतप्रेमीले खुबै सुने अनि रुचाए । 


ADVERTISEMENT

त्यतिबेला मात्र होइन, अहिलेको पुस्तामाझ पनि यी गीत लोकप्रिय छन्, कर्णप्रिय लाग्छन् । यी सदाबहार कालजयी गीतकी गायिका हुन् कुन्ती मोक्तान । 

‘मैले नेपालीपन बोकेका गीतहरू मन पराउँछु । गाउँमा जन्मेको हुनाले मैले गाएका गीतहरू पनि गाउँले पाराका छन्, जुन हाम्रो भाषा, संस्कृति, रहनसहन, सुखदुःखसँग गाँसिएका छन्,’ आफ्ना गीतबारे लोकान्तरसँगको कुराकानीमा कुन्तीले भनिन्, ‘नेपालीपन बोकेकै कारणले होला स्रोतालाई मेरा गीत आफ्नोजस्तो लागेको र स्रोताले रुचाएको ।’

१४ वर्षको उमेरमै ‘भ्वाइस टेस्ट’

कुन्तीको जन्म भारतको दार्जिलिङमा भएको हो । परिवारकी जेठी छोरी उनी सानैदेखि संगीतमा रुचि राख्थिन् । ‘म जन्मेको दार्जिलिङ संगीतको खानी नै थियो, त्यहाँका प्रायः परिवार संगीतमा रुचि राख्थे,’ कुन्ती भन्छिन्, ‘गाउँको त्यही माहोलले संगीतप्रति झुकाव बढ्दै गयो ।’ 

उनी टोल छिमेक, विद्यालयमा हुने प्रतियोगितामा गीत गाउँन थालिन् । भन्छिन्, ‘त्यसपछि मेरो प्रतिभा देखेर साथीभाइ, आफन्त र छिमेकीले नै गायनमा अग्रसर गराउनुभयो ।’

उनको गायनप्रतिको लगाव तीव्र थियो । त्यो लगाव लगाउने प्रतिभा पनि अब्बल थियो । त्यसैले त उनले ८ कक्षामा पढ्दै गर्दा १४ वर्षको उमेरमा नै ‘अल इन्डिया’ रेडियोमा भ्वाइस टेस्ट पास गरिन् । ‘सन् १९७७ मा मैले रेडियोबाट भ्वाइस टेस्ट पास गरेकी थिए,ँ’ उनी सम्झिन्छिन् । 

त्यसपछि दार्जिलिङमा कुन्तीको गायन प्रतिभाको चर्चा चुलिन थाल्यो । सानो उमेरमै उनी दार्जिलिङमा चल्तीकी गायिकामा कहलिन पुगिन् । उनले दार्जिलिङमै स्कूल पढ्दै गर्दा शास्त्रीय संगीतको शिक्षा पनि लिन थालिन् । उनले जेसी राईसँग शास्त्रीय संगीत सिकेकी हुन् ।

संगीत क्षेत्रकै व्यक्तिसँग प्रेम र बिहे

दार्जिलिङमा उनीसँगै शास्त्रीय संगीतको क्लास लिन्थे –शिलाबहादुर मोक्तान । संगीत कक्षाकै क्रममा उनीहरूबीच चिनजान भयो । उनीहरू नजिक हुँदै गए, अनि सम्बन्ध बढ्दै गयो । उनीहरू केही वर्ष प्रेम सम्बन्धमा रहे ।
काठमाडौं आएर गीत गाउने कुन्तीको रहर थियो । त्यसैले उनीहरूले सन् १९८० मा काठमाडौं आएर गीत रेकर्ड गराए । संगीतकार शिलाबहादुरकै संगीतमा कुन्तीले श्वर भरिन् ।

‘कहिलेकाहीँ मलाई पनि हेरिदेउन फर्किएर ...’ बोलको गीतले नै कुन्तीलाई स्रोतामाझ परिचित बनायो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले अन्नतः सन् १९८३ मा विवाह गरे । त्यसपश्चात् दुवै काठमाडौं आएर संगीतमै संघर्ष गर्न थाले ।

‘विवाहको ३ वर्षअघि हामीले काठमाडौं आएर गीत रेकर्ड गरिसकेको हुनाले पछि काठमाडौं बसाई त्यति गाह्रो भएन,’ उनी सम्झिन्छिन्, ‘हामीले संगीत नै पढेको हुनाले पनि हामीलाई धेरैले विश्वास गर्नुहुन्थ्यो ।’

काठमाडौं आएसँगै यो जोडीको व्यस्तता बढ्दै गयो । कुन्तीले गीतसंगीतबाट नाम कमाउँदै गइन् र सँगै दाम पनि । ‘गीतसंगीतबाटै शुरूवाती दिनदेखि नै हाम्रो जीवन राम्रै चलेको थियो । अहिलेसम्म पनि राम्रै चलेको छ,’ कुन्ती भन्छिन् ।

पतिको साथमा कुन्ती एकपछि अर्को गीत गाउँदै गइन् । खुट्टा तान्दै गर, माथि–माथि सैलुङ्गेमा, निष्ठुरी मायालु, चोली राम्रो पाल्पाली ढाकाको लगायतका गीत लोकप्रिय बन्दै गए । सँगै लोकप्रिय बन्दै गइन् कुन्ती । 

कुन्तीका लोक र शास्त्रीय संगीतको फ्यूजनका सयौं गीत लोकप्रिय छन् । हालसम्म कुन्तीले झण्डै ६ सय गीतमा आफ्नो सुमधुर श्वर भरिसकेकी छिन् ।

संगीतमय परिवार

विवाहपश्चात् कुन्तीको परिवार नै संगीतमय बन्न पुग्यो । मोक्तान दम्पतीका २ छोरी पनि संगीत क्षेत्रमै होमिए । शितल र सुवानी मोक्तान दुवै संगीत क्षेत्रमा उदाए ।

यसै वर्ष दुवै छोरीको विवाह गरिदिएकी कुन्ती भन्छिन्, ‘पारिवारिक वातावरणले छोरीहरू पनि संगीततिर आकर्षित भए जस्तो लाग्छ ।’ उनका अनुसार आमाबुवाको गुण त छँदैछ, आफ्ना साथीसंगी पनि संगीत क्षेत्रकै बढी भएका कारण छोरीहरूलाई संगीततर्फ लाग्न सहज भएको छ । 

‘उनीहरूमा प्रतिभा पनि छ । म विश्वस्त छु, छोरीहरूले संगीतको क्षेत्रमा आउँदा दिनमा राम्रो–राम्रो काम गर्नेछन्,’ उनले भनिन् । छोरीहरूको विवाहअघि परिवार नै संगीतमा भएको हुनाले घरमा संगीतकै कुरा बढी हुन्थ्यो । ‘नयाँ गीतको तयारी हुँदा पहिले घरमै परिवारबीच सरसल्लाह हुन्थ्यो, अहिले श्रीमान–श्रीमतीबीच हुन्छ,’ उनले भनिन् ।

केही एल्वम सार्वजनिक गरिसकेका छोरीहरूले विवाहपछि पनि गीतसंगीतलाई निरन्तरता दिने सोच बनाएको आमा कुन्ती बताउँछिन् ।

‘कलाकार राष्ट्रका गहना होइनन्, राज्यको संरक्षण छैन’

कलाकारलाई राष्ट्रको गहना भनिँदै आएको छ । विभिन्न कार्यक्रममा त्यो कुरा सुनिन्छ पनि । तर कुन्ती यो भनाईको विरोध गर्छिन् । ‘मलाई यो भनाई नै ठीक लाग्दैन । हामीहरू गहना एकछिन लगाउँछौं, कतै विशेष काममा जाँदा लगाउँछौं, राम्रो देखिनका लागि लगाउँछौं । अरु बेला थन्काएर राख्छौं,’ उनी अगाडि भन्छिन्, ‘राज्यले पनि कलाकारलाई त्यति रुपमा प्रयोग गरेको छ । काम परेको खण्डमा प्रयोग गर्ने अरु बेला वास्तै नगर्ने ।’

कलाकारलाई राज्यले संरक्षण गर्न नसकेको उनी बताउँछिन् । ‘कला, संस्कृति, भाषा वास्तवमा देशको पहिचान हो । कलाकारले यिनै माध्यमबाट देशलाई चिनाइरहेको हुन्छ । कलाकारले यो पहिचान दिलाउन जुन सहयोग देशलाई गरेको हुन्छ, सरकारबाट कलाकारका लागि कुनै काम भएको लाग्दैन,’ उनी भन्छिन् ।

‘कलाकारले आफ्नो सम्पूर्ण जीवन एउटै क्षेत्रमा लगाउँछन् । एउटा कलाकार केही समय हिट हुन्छ, पछि हराउँछ । चर्चामा रहँदा त कमाउँछन्, जीवन चलाउँछन् । तर जब चर्चा परिचर्चा सेलाउँछ, त्यो बेला आम्दानी पनि हुँदैन । राज्यको सहयोग पनि हुँदैन । ‘देशलाई केही गर्छु भनेका कलाकार किन पलायन भइरहेका छन् त ?’ कुन्ती थप्छिन्, ‘कारण राज्यको संरक्षण नहुनु नै हो ।’

पुस २१, २०७५ मा प्रकाशित

सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस