जागिर ‘लोक सेवा’ कसरी भयो ? अंग्रेजीमा स्नातकोत्तर साधु बेवारिसे शिशुको सेवामा

पुस २१, २०७५

जनकपुरधाम – अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका महोत्तरी बिजलपुराका सत्यनारायण महतो कुशवाहाले आफ्नो जीवन बेवारिसे फालिएका नवजात शिशुको लागि समर्पित गरेका छन् ।
आलोकको उमेर अहिले ४६ बर्षको छ । उनले बिहे गरेका छैनन् र बिहे नगर्ने बताउँछन् ।

बुवा रामदेव महतोको निधन भएपनि आमा देवकीदेवी र ३ दाजुभाइ गाउँमै बस्छन् । आमाको रेखदेख गर्छन् । तर आफ्नो घरपरिवार सबैलाई त्यागेर उनले आफ्नो जीवन नै सेवामा सुम्पिएका छन् ।


ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित कलेजबाट २०५८ सालमा अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण  गर्दैगर्दा काठमाडौंमै निजी ‘प्लस टू’ क्याम्पसमा उनले पढाउने गर्थे । त्यसपछि उनी जनकपुर फर्किए ।

जनकपुरमा पनि केही ‘प्लस टू’ र निजी विद्यालयमा अध्यापन गर्न थाले । १ वर्ष काम गरेर २०५९ सालमा आफ्नै कमाइले उनले जनकपुरधाम उपमहानगरपालिका–८ मा १ कट्ठा जमिन किने । त्यतिबेला  ५ लाख रुपैयाँ जमिन किन्दा लागेको उनले बताए । 

त्यसपछि उनी परालको सानो झुपडी बनाएर बस्न थाले र अध्यापनलाई पनि निरन्तरता दिए । त्यसैक्रममा उनले आफ्नो घरमा उच्च शिक्षा लिन आउने अत्यन्तै विपन्न परिवारका १३ जनालाई निःशुल्क पढाए । सँगै बस्ने, सँगै खाने र निःशुल्क ट्युसन पढाइ दिने गर्थे । कलेजमा लाग्ने शुल्क पनि उनले तिरिदिने गर्थे ।

गाउँमा परिवार शुरूदेखि नै शुद्ध शाकाहारी र कबिर विचारधाराबाट प्रभावित भएकाले उनी पनि कबिरका अनुयायी थिए । कबिरको विचारले प्रेरित भएकाले उनको सत्संगमा जाने बानी थियो । उनका गुरू एक दिन उनको घर आए । सत्यनारायण त्यतिबेला लोकसेवाको जाँच दिनका लागि घरमा किताब पढिरहेका थिए । गुरुले सोधेछन्, ‘के पढ्दैछौ ?’ उनले लोकसेवाको तयारीका लागि किताब पढिरहेको जवाफ दिए ।

लोकसेवाको किताब पढेर सरकारी जागिर हुन्छ भनेर बताएपछि गुरुले उनलाई फेरि भनेछन्, ‘त्यो त व्यक्तिको आफ्नो निजी सेवा हो, लोक सेवा कसरी भयो ?’ त्यसपछि ‘लोक सेवा’ भनेको मानिसको कल्याणका लागि काम गर्नु हो भन्ने कुरा सत्यनारायणले गहिरिएर बुझे ।

२०६१ सालमा उनको गुरूको निधन भएपछि उनलाई कबिरपन्थीको गुरू बनाइयो । त्यसपछि उनले कलेजमा पढाउने काम छाड्नुपर्यो । २०६२ सालमा उनले आफ्नो घर नजिकै रहेको ज्ञानकुप विद्यालयमा अन्तर्राष्ट्रिय सन्त सम्मेलन गराए । त्यसपछि उनलाई साधुको रूपमा मान्छेले चिन्न थाले । गुरुको समेत पगरी पाएकाले भारतको इलाहावाद, अहमदावाद, वनारस लगायतका स्थानमा हुने सत्संग, सम्मेलन र विभिन्न शिविरमा उनी सहभागी हुन थाले । सत्संग गराउने लक्ष्यले उनले आफ्नो घरलाई आश्रममा परिणत गरे । घरमा सद्गुरू कबिर आश्रमको बोर्ड झुण्ड्याए ।

२०६६ सालमा उनको आश्रम नजिकै रहेको ज्ञानकुप विद्यालयको झाडीमा एउटा बेवारिसे नवजात शिशु फालिएको कुरा उनी कहाँ पुग्यो । उनले बच्चालाई जनकपुर अञ्चल अस्पताल लगेर उपचार गराए । शिशु बालिका थिइन् ।
केही साताको उपचारपछि ती बालिकालाई उनले आश्रममा ल्याएर पालनपोषण गर्न थाले । बालिकालाई घरमा ल्याएपछि अब आफ्नो जीवन यस्तै नवजात शिशुको लागि अर्पण गर्ने सोच बनाए उनले । 

२०६७ सालमा जनकपुरधामको बारहबिघामा पनि बेवारिशे अबस्थामा रहेको नवजात शिशु फेला पर्यो । उनले ती बालिकाको पनि उद्दार गराएर उपचार गराउँदै आश्रममा ल्याए । अब एउटा संस्था नै दर्ता गर्नुपर्छ भन्दै उनले २०६७ सालमा सद्गुरू कबिर अनाथ बाल वात्सल्य आश्रम जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराए । समाज कल्याण परिषद्मा समेत दर्ता गराए ।

अनाथ बाल बालिकाको संरक्षण, सम्वद्र्धन, पालनपोषण, शिक्षादीक्षा गर्ने उद्देश्यसहित विधान बनाएर विधिवत् रूपमा उनले संस्था दर्ता गराए । अनाथ हुन गएका नवजात शिशुको हकमा मात्रै काम गर्ने भन्ने कुरा पनि विधानमा उनले स्पष्ट रुपमा किटानी गरे । जग्गाको स्वामित्व पनि आश्रमको नाउँमा उनले गरिदिए ।

त्यसपछि धनुषा, महोत्तरी जहाँ पनि बेवारिसे अवस्थामा फालिएको नवजात शिशुको उद्दार गरेर ल्याउने र पालनपोषणदेखि सबै कुरा आश्रमले गर्दै आएको छ । हालसम्म आश्रममा १३ जना बच्चा छन्, जसमध्ये ११ जना बालिका र २ जना बालक छन् । सबै बच्चा नवजात शिशुको अवस्थामा हुँदा नै आश्रममा ल्याइएको हो । 

आश्रममा बच्चा ल्याउँदा विधिवत् रूपमा ‘छठिहार’ गरेर बच्चाको नामाकरण गर्ने गरेका छन् । मिथिलामा बच्चा जन्मिएको छैठौं दिनमा उत्सव मनाएर छठिहार मनाउने गरिन्छ । विधि विधानका साथ पूजा गरेपछि बच्चाको नामाकरण गर्ने गरिन्छ । 

बच्चा ल्याउँदा पत्रकार सम्मेलन गर्ने, छठिहार गर्दा समाजका अगुवा, प्रशासनिक निकाय, पत्रकार समेतलाई बोलाएर नामाकरण गर्ने गरिएको छ । कतिपय बालिकाको नाम धनुषाका प्रमुख जिल्ला अधिकारीले नै राखिदिएका छन् ।

सत्यनारायणको थर महतो कुशवाहा भएपनि उनले आफ्नो नाममा ‘आलोक’ लेख्ने गरेका छन् । त्यसैले बच्चाको जन्मदर्ता बनाउँदा बुवाको नाममा सत्यनारायण आलोक र आमाको नाममा माता मीरा लेखाउने गर्छन् । भोलि नागरिकता लिन अप्ठ्यारो नहोस्, पढ्न विद्यालयमा नामांकन गराउँदा समस्या नहोस् भन्ने बुझेर नै उनले सबै बालबालिकाको जन्मदर्ता बनाइदिने गरेका छन् ।

आश्रममा सबैभन्दा जेठी छोरी आराधना आलोक छिन् । १० वर्षको उमेर उनको पुगेको छ । उनलाई जन्म भएको अवस्थादेखि नै संक्रमण भएको थियो । छाला कुहिसकेको थियो । जन्मिएपछि घारीमा फालेका कारण संक्रमण भएको थियो । पछि क्षयरोग लाग्यो । जसोतसो उपचार गराएर क्षयरोग त निको भयो । तर उनको मानसिक सन्तुलन बिग्रियो । अहिले पनि उनको मानसिक सन्तुलन ठीक नरहेको सत्यनारायणले बताए ।

९ वर्षकी देशना आलोक, ८ वर्षकी साधना आलोक, ७ वर्षकी बन्दना आलोक र ६ वर्षको चिराग आलोकलाई पढ्नका लागि काठमाडौंको छात्रावासमा राखिएको छ । पालनपोषण गरिरहेकी आमा मीराले भनिन्, ‘शुरूमा जनकपुरमै निजी विद्यालयमा भर्ना गरिएको थियो । तर त्यहाँ उनका साथीहरूले तिमीहरू त अनाथ हौ । तिम्रो आमाले तिमीलाई फालेको थियो लगायतका कुरा भन्न थालेपछि बाध्य भएर काठमाडौं पठाएको हो ।’

मासिक ६ हजार रुपैयाँ प्रतिविद्यार्थी गरेर २४ हजार रुपैयाँ महिनामा काठमाडौंको सत्यसाई स्कूलमा आश्रमले पढाउने गरेको छ । बिदामा उनीहरू आश्रम आउने गर्छन् । अहिले पनि काठमाडौंमा जाडो बिदा भएका कारण चारैजना आश्रममा छुट्टी मनाउन आएका छन् ।

आश्रममा रहेका साढे ३ वर्षकी प्रविना, ३ वर्षकी करुणा, ५ वर्षका करण जनकपुरको निजी विद्यालयमा पढिरहेका छन् । उनीहरूलाई आवासीय विद्यालयमा भने पठाइएको छैन । डेढ महिनाकी रुपा, ५ महिनाकी हिरा, ९ महिनाकी सोना, २ वर्षकी सान्त्वना, १ वर्षकी मोना आश्रममा रहने गरेका छन् ।

बच्चा ल्याउँदा जोगाउन कठिन

आश्रममा ल्याइएका ५ बच्चालाई जोगाउन सकिएन । बेवारिसे फालिएका बच्चा विभिन्न रोगको संक्रमणका कारण आश्रमले अथक प्रयास गर्दा पनि बचाउन सकेनन् । गर्भमै हुँदा आमाले बच्चालाई मार्नका लागि विभिन्न औषधि खाएका हुन्छन्, गर्भपतन गराउने प्रयास गरेका हुन्छन् ।

नचाहँदा–नचाहँदै महिना नपुगेकै अवस्थामा बच्चाको जन्म भएको हुन्छ । त्यो बच्चालाई घारी, नाला, फोहोरको थुप्रो आदिमा फालेको हुन्छ । यसरी मृत्युको मुखमा पुगेको अवस्थामा बच्चालाई उद्दार गरेर अस्पतालमा उपचार गराउँदा पनि बचाउन नसकेकोमा सत्यनारायण आलोक अत्यन्तै दुःखी छन् ।

उनले भने, ‘गर्भको समय नपुगेको, अत्यन्तै कुपोषित, अपरिपक्व बालबालिकामा रोग लागिसकेको हुन्छ, त्यस्तो अवस्थामा १८ मध्ये १३ जनालाई बचाउन सकेको छु ।’

माता मीराको समर्पण 

आश्रममा सत्यनारायणको भूमिका व्यवस्थापन गर्ने हुन्छ । तर सबै बालबालिकाको पालनपोषण भने माता मीराले गरिरहेकी छन् । उनको पनि परिवार थियो । पतिसँग सम्बन्धविच्छेद भएपछि उनी सत्संगमा लागिन् । आश्रममै बस्न थालिन् ।

उनका छोरा र बुहारी काठमाडौंमा छन् भने छोरी र ज्वाइँ अमेरिकामा छन् । छोराबुहारीदेखि छोरीज्वाइँ मीराको कामबाट अत्यन्तै खुशी मात्र छैनन्, आश्रमका लागि समय–समयमा रुपैयाँ समेत पठाइदिने गरेका छन् ।

बिहानदेखि रातिसम्म बालबालिकालाई एकसाथ हेरचाह गरिरहेकी मीरा भन्छन्, ‘मैले आफ्नो अनुहार दर्पणमा हेरेको १ वर्षभन्दा पनि बढी भइसक्यो ।’ ४ देखि ५ वटा बच्चालाई एकसाथ दिसापिसाबदेखि नुहाउने, दूध खुवाउने, खाना खुवाउने, सुताउने काम गर्दा उनी दिनमा ४ घण्टा पनि सुत्न पाउँदैनन् । कहिलेकाहीँ एकैसाथ ४ वटा बच्चालाई आफ्नो जीउमै राखेर सुत्नुपर्ने हुन्छ । 

सत्यनारायण आलोक भन्छन्, ‘मैले मदर टेरेसालाई देखेको छैन । मेरो लागि वास्तविक मदर टेरेसा भनेको माता मीरा नै हो ।’ सत्यनारायणले मीरालाई दिदी भनेर बोलाउने गर्छन् ।

आश्रमलाई प्रदेश सरकारको बेवास्ता 

परालको आश्रमबाट अहिले पक्की आश्रम बनेको छ । तर त्यो सबै सत्यनारायण र मीराले आफ्नै प्रयासमा गरेको बताउँछन् । आश्रमको पश्चिम २ तले घरदेखि दक्षिण १ तले घर निजी लगानीमै बनेका छन् । अहिले आएर दक्षिणतर्फ २ तले घर जनकपुरधाम उपमहानगरपालिकाले बनाइरहेको छ ।

प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान नै सञ्चालन गरेका छन् । त्यसका लागि करोडौं बजेट पनि छुट्याएका छन् । तर बेटी बचाउने र बेटी पढाउने काम गरिरहेका आश्रमका लागि केही पनि सहयोग नहुँदा आलोक दुःखी छन् । भन्छन्, ‘बेटीको समस्या हामीभन्दा अरु कसले  बुझेका होलान् । मुख्यमन्त्री ज्यूले हालसम्म पनि आश्रमलाई मद्दत गर्नुभएको छैन ।’

आमाका विभिन्न रुप

आमाले अनेक कष्ट व्यहोर्दै ९ महिना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिञ्चिन गर्छिन् । कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन् । आफूले नखाइ–नखाई सन्तानको भोको पेट भर्छिन् । आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् र मानव संसारको जीवनचक्र चलाउँछिन् । यही कारण आमालाई ‘जगत् जननी’ पनि भनिन्छ ।

मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ । 

समाजमा पुज्य जननीलाई आमा, माता, मुमा, मुवाँ, मामु, माँ, अम्मी, माई, माय, मम्मीदेखि मदरसम्म भनेर पुकारिन्छ । जातीय र भाषिक विविधताले धनी नेपालमा आमालाई चिनाउने अनेक नाम छन, जसको उच्चारणले ममता, स्नेह, आनन्द र सुरक्षाको भावबोध गराउँछ । 

छोराछोरीलाई विष खुवाउने, इनारमा फालेर आफू पनि आत्महत्याको प्रयास गर्ने आमाका समाचार बेलाबेला आइरहेका हुन्छन् । गर्भ तुहाउने आमाका निर्दयी रुप पनि देखिन्छन् । करबलमा परेका कतिपय आमा बच्चा फालेर हिँडछन् । तर त्यस्ता शिशुलाई उठाएर वात्सल्य दिने अर्की ‘आमा’ पनि प्रकट हुन्छन् ।

बिचल्लीमा परेका बालबालिका र सन्तानको हेलामा परेका वृद्धवृद्धालाई आमाझैं सहारा दिने कर्मआमा पनि यहीँ छन् । 

सदगुरु कबीर अनाथ बाल बात्सल्यमा हाल ७ वटा बच्चालाई आमाको माया दिएर मिथिला समाजमा अनुपम उदाहरण प्रस्तुत गर्र्दैछन् आमा मीरा ।

केही महिनाअघि आश्रममा १ बालिकालाई ल्याइएको छ । मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत भएपछि रहेको गर्भबाट ती बालिका जन्मिइन् । ती बालिकाको संरक्षण आश्रमले गरिरहेको छ ।

पुस २१, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार