गोपाल खड्काविरुद्ध साढे १८ करोडको भ्रष्टाचार मुद्दा दायर

पुस २३, २०७५

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

खड्काले पदमा रहँदा अवैध रुपमा १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ आर्जन गरेको भन्दै अख्तियारले सोमवार विशेष  अदालतमा मुद्दा दर्ता गरेको हो । 


ADVERTISEMENT

अख्तियारले खड्कासँग १८ करोड १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो तथा जरिवाना असुल र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को (२) अनुसार २ वर्ष कैद माग गरेको विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।   

अख्तियारद्वारा विशेष अदालतमा दायर भएको अभियोगपत्रमा खड्काले गैरकानूनी रुपमा सम्पत्ति गरी अमिल्दो र अस्वभाविक रुपमा जीवनयापन गरेको दावी पनि गरेको छ । 

आयल निगमको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुँदादेखि नै विवादित बनेका खड्का पछि देशका विभिन्न ठाउँमा इन्धन भन्डारण निर्माण गर्ने नाममा जग्गा खरिद गरेर अनियमितता गरेको भन्दै चर्चामा आएका थिए । संसदीय समितिले आयल निगमको जग्गा खरिदमा आर्थिक चलखेल भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले उक्त प्रकरणको छानबिन थालेकाे थियो । 

जग्गा खरिद प्रकरणमा संलग्नता देखिएपछि खड्कालाई सरकारले जिम्मेवारीविहीन बनाएर मन्त्रालय तानेको थियो । मन्त्रालयमा हाजिर मात्रै लगाउँदै आएका खड्काले गत जेठ २४ गते पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।  

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस