विवादमा परेकी राजदूत शेर्पासँग सरकारले माग्यो राजीनामा

पुस २४, २०७५

काठमाडौं–मानव तस्करीको आरोप लागेर विबादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पासँग सरकारले राजीनामा माग गरेको छ । परराष्ट्र मन्त्रालयले गरेको छानविनका आधारमा सरकारले राजदूत शेर्पालाई हटाउने तयारी गरेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले राजदूत शेर्पालाई राजीनामा दिन आग्रह गरिएको बतायो । यसअघि सरकारले राजदूत शेर्पालाई बर्खास्त गरेको समाचार बाहिर आएको थियो । 


ADVERTISEMENT

‘बर्खास्त होइन राजीनामा मागिएको हो, राजीनामा नआए बर्खास्त गर्ने तयारी छ’ स्रोतले लोकान्तरसँग भन्यो । राजदूत शेर्पाले मंगलवार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाउने तयारी गरेको स्रोतले बतायो । 

मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो । उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समितिनै बनाएको थियो ।

शेर्पामाथि उनकै पूर्वसहयोगी तथा सवारी चालक वाङ्छु शेर्पाले श्रम शोषण गरेको र मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए ।  सोलुखुम्बुका वाङ्छुलाई शेर्पाले नै सहयोगीका रुपमा अस्ट्रेलिया लगेको भएपनि पछि शेर्पाको कर्तुत पर्दाफास गरिदिएका थिए । 

वाङ्छुले राजदूतको सहयोगी बन्न आफूले ३३ लाख रुपैयाँ बुझाएको दाबी समेत गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।

पुस २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस