नेपालको कृषि शिक्षा : अध्ययन र अध्यापनमै सीमित, अनुसन्धानमा शून्य प्रगति !

पुस २४, २०७५

करीब आठ वर्ष अगाडि चितवनको रामपुरमा अवस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र हेटौंडाको वन क्याम्पसलाई समेटी देशकै पहिलो प्राविधिक विश्वविद्यालय, 'कृषि तथा वन विज्ञान विश्वविद्यालय' स्थापना भयो । त्यो भन्दा अगाडि दुवै क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गत थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय 'ल्याण्ड ग्रान्ट विश्वविद्यालय'को मापदण्ड अनुसार अगाडि बढाइएको छ । जुन आफैंमा सकारात्मक कुरा हो । विश्वविद्यालयले ल्याण्ड ग्रान्ट विश्वविद्यालयका तीन मिसन; प्रयोगात्मक सिकाइ, अनुसन्धान र प्रसारका कामलाई आत्मसाथ गरी लागू गर्न ढिलाइ गर्नु हुँदैन । ल्याण्ड ग्रान्ट विश्वविद्यालयको मूल मर्म नै यही हो ।

यस विश्वविद्यालय अन्तर्गत करीब १०७ प्राध्यापक, २५५ कर्मचारी छन् भने विद्यावारिधिका ४५, स्नातकोत्तरका ३६७ र स्नातकका १४ सय ७१ गरी जम्मा १८ सय ८३ जना विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । यो मानव स्रोतको सही सदुपयोग हुन सके कृषिमा सही अर्थमा ल्याण्ड ग्रान्टको उपलब्धि हासिल गर्न सकिन्छ ।


ADVERTISEMENT

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एउटा राम्रो पक्ष यहाँ लिइने प्रवेश परीक्षा हो, जुन अत्यन्त पारदर्शी र निष्पक्ष हुने गर्दछ । प्रत्येक वर्ष प्रवेश परीक्षामा सहभागिता बढ्नुले कृषि विषयप्रति विद्यार्थीको आकर्षण बढेको संकेत गर्छ ।
रोजगारीको सुनिश्चिता र युरोप, अमेरिका, क्यानडा तथा अष्ट्रेलियाजस्ता देशमा प्रवेश पाउन सहज हुने मान्यताले कृषि शिक्षाप्रति आकर्षण बढेको बुझ्न सकिन्छ । अध्ययनपश्चात अधिकांश विद्यार्थीको पहिलो रोजाइ विदेश जाने देखिन्छ । कृषि शिक्षा पढिसकेपछि कृषि  व्यवसायमा लाग्ने जनशक्ति अत्यन्त कम छ । यो देश र विश्वविद्यालयका लागि पनि ठूलो चुनौतिको विषय हो ।

विश्वविद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्ने, आम किसानले कृषिमा भोग्दै आएका समस्याको खोज तथा अनुसन्धान मार्फत् समाधान खोज्ने र देशको समग्र कृषि तथा वन क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने अनुमान गरिएको थियो । कृषि शिक्षामा देखिएका तमाम विकृति तथा विसंगतिलाई हटाउन सक्नुपर्दथ्यो । विश्वविद्यालयले देशको कृषि तथा वनको खाका कोर्ने सम्भावनाहरू थिए । तर विश्वविद्यालय त्यो दिशातर्फ अग्रसर भएको देखिएन । नियुक्तिमा भएका राजनीतिक हस्तक्षेप तथा कृषि शिक्षाको निजीकरण लगायत यसका पछिल्ला उदाहरण हुन् । छिटफुट बाहेक अनुसन्धानको योजनाबद्ध काम हुन सकेन वा लगानी गर्न सकेन । 

क्याम्पस बन्द हुने, खुल्ने, झगडा हुने, वार्ता हुने कुरा त सामान्य भइसक्यो । कैयौंपटक क्याम्पसका पूर्वाधार जले, तोडफोड भए, कुर्ची जले, क्याम्पस बाहिरका मानिस आएर विद्यार्थीलाई कुटे, विद्यार्थी प्रहरी चौकी पुगे, कयौं विद्यार्थी अंगभंग भए र हस्पिटलको बेडमा पुगे । 

शैक्षिक संस्था वर्षमा तीनचार महिनासम्म बन्द हुनु सामान्य मान्न सकिँदैन । अहिले पनि विश्वविद्यालय लामो समयदेखि बन्द छ । प्रत्येक पटकको बन्दमा लाखौंको क्षति हुनेगरी भवन तथा भौतिक पूर्वाधार क्षति गराइन्छ । अधिकांश प्राध्यापक, कर्मचारी तथा विद्यार्थीमा विश्वविद्यालयको लापरवाहीप्रति चरम असन्तुष्टि देखिन्छ । धेरैको चिन्ता विगतमा भन्दा अहिले क्याम्पसको शैक्षिक गुणस्तर झनै खस्केकोमा छ । यसको प्रमुख कारण क्याम्पसभित्र व्याप्त राजनीति हो भन्नेमा धेरैको विमति छैन । 

क्याम्पस बन्द हुने, खुल्ने, झगडा हुने, वार्ता हुने कुरा त सामान्य भइसक्यो । कैयौंपटक क्याम्पसका पूर्वाधार जले, तोडफोड भए, कुर्ची जले, क्याम्पस बाहिरका मानिस आएर विद्यार्थीलाई कुटे, विद्यार्थी प्रहरी चौकी पुगे, कयौं विद्यार्थी अंगभंग भए र हस्पिटलको बेडमा पुगे । 

शैक्षिक संस्थाहरू बन्द गरेर शैक्षिक गुणस्तर सुध्रँदैन । अमेरिका, चीन वा युरोपका कुनै पनि विश्वविद्यालय यति लामो समयसम्म बन्द हुन्थ्यो भने कति नोक्सानी बेहोर्नुपर्थ्यो होला, त्यो हाम्रो कल्पनाभन्दा पनि बाहिरको कुरा हो । 
विद्यार्थी तथा कर्मचारीका राजनीतिक संगठनहरू अत्यन्त बलिया भए, त्यसको अगाडि विश्वविद्यालय प्रशासन कमजोर देखियो । कहाँसम्म भने, प्रशासनले परीक्षाको मिति तोक्नसम्म पनि विद्यार्थी संगठनको आदेश पर्खेर बस्नुपर्ने अवस्था सिर्जना भयो । फलस्वरूप कुनै पनि परीक्षा समयमा हुने गरेको पाइँदैन ।

उपकुलपतिको कार्यालय बाहेक सबै कार्यालय, विद्यार्थीका होस्टेल, पढाई हुने कक्षाहरू तथा ल्याबका भवनहरू जीर्ण अवस्थामा छन् । सेमेष्टर प्रणालीमा सञ्चालित शैक्षिक संस्था कहिले वर्षमा एउटा सेमेष्टर त कहिले वर्षमा तिनवटा सेमेष्टर सकिने अवस्थामा पुग्यो । विश्वविद्यालयसँग रहेको अथाह कृषियोग्य जमिनको सही सदुपयोग गरी कृषि प्रविधि विस्तारको स्रोतकेन्द्र बन्न सक्नुपर्दथ्यो, त्यो हुन सकेन । ल्याबहरू उपकरणविहीन छन् ।

विश्वविद्यालय कृषकले भौग्दै आएका जल्दाबल्दा समस्याका बारेमा छलफल तथा अनुसन्धान हुने ठाउँ बन्न सक्नुपर्दछ । विद्यार्थीले पढेर त्यहाँबाट निस्केपछि के गर्ने हो विश्वविद्यालयको चिन्ताको विषय बन्नु पर्दछ । विश्वविद्यालयको शैक्षिक क्यालेन्डर नै छैन । परीक्षा प्रणाली परापूर्वकालको छ र सिकाइका पद्धति उही पुरानो ढर्राको छ । नेपालीको व्याकरण पढाए जसरी प्राविधिक शिक्षा पढाएर पढाइ त सकिएला तर सही अर्थमा प्राविधिक उत्पादन हुन सक्दैन । प्रयोगात्मक सिकाइ, अनुसन्धान र प्रसारलाई प्रमुख लक्ष्य राखी  विश्वविद्यालय सुधारका अल्पकालीन तथा दीर्घकालीन योजना बनाई अगाडि बढे मात्र विश्वविद्यालयलाई सुधान गर्न सकिन्छ ।

शैक्षिक क्षेत्रको सुधारको प्रस्थान बिन्दु नै त्यहाँ राजनैतिक गतिविधिको अन्त्य हो । विश्वविद्यालयमा रहेका राजनीतिक संगठनहरूलाई निरुत्साहित गर्ने र निष्क्रिय बनाउँदै लानु पर्दछ । विद्यार्थीलाई कसरी अध्ययन तथा अनुसन्धानमा व्यस्त बनाउने भन्नेतर्फ सोच्न ढिला भइसक्यो । यसका लागि हाम्रो पाठ्यक्रम र परीक्षा प्रणालीमा व्यापक सुधार ल्याउनु जरुरी छ । विद्यार्थी संगठनहरूले विश्वविद्यालयका संरचनाहरू हडप्ने तथा कब्जा गर्ने कार्यलाई निरुत्साहित गर्नु पर्दछ ।

हाम्रा विश्वविद्यालयका प्राध्यापक वा विद्यार्थीलाई तपाईं के गर्नुहुन्छ भनेर सोध्यो भने उसको सहज जवाफ आउँछ, पढ्ने वा पढाउने । तर त्यही प्रश्न युरोप वा अमेरिकाका प्राध्यापक वा विद्यार्थीलाई सोध्नुभयो भने म यो प्रोजेक्टमा यो प्रोफेसरसँग अनुसन्धान गर्दैछु, भन्दछन् । समस्या यसैमा छ । यसमा, हाम्रा प्राध्यापक वा विद्यार्थीको भन्दा उनीहरूलाई अनुसन्धानका कार्यक्रम दिन नसक्ने राज्य तथा विश्वविद्यालयको कमजोरी देखिन्छ । कम्तिमा आगामी १० वर्षमा कृषिमा गरिने अनुसन्धानको रूपरेखा तयार गर्ने र प्रत्येक प्राध्यापकलाई वार्षिक अनुसन्धानका कार्यक्रमहरू बनाई आवश्यक सहयोग गर्ने गर्नुपर्दछ । प्रत्येक प्राध्यापकले विद्यार्थीलाई अनुसन्धानको काममा व्यस्त राख्नु पर्दछ । हामीले के कुरा बुझ्नु जरुरी छ भने विश्वविद्यालयको काम पढाउने मात्र होइन, अनुसन्धान गर्ने पनि हो । 

कम्तिमा आगामी १० वर्षमा कृषिमा गरिने अनुसन्धानको रूपरेखा तयार गर्ने र प्रत्येक प्राध्यापकलाई वार्षिक अनुसन्धानका कार्यक्रमहरू बनाई आवश्यक सहयोग गर्ने गर्नुपर्दछ ।

अनुसन्धानबाट निस्किएका तथ्यहरूलाई किसानसम्म पुर्‍याउने तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गराई प्राध्यापक तथा विद्यार्थीलाई प्रोत्साहन गर्नुपर्दछ । अहिले लाइब्रेरीमा रहेका कैयौं अनुसन्धानका थेसिसहरू प्रयोगविहीन अवस्थामा छन् । अनुसन्धानको सामान्य मर्मलाई आत्मसाथ गर्न सक्नु पर्दछ । अनुसन्धानबाट आएका नतिजाहरूलाई बङ्ग्याएर आफ्नो चाहना अनुसारको नतिजा दिनुलाई अपराध ठानिन्छ । साथै अनुसन्धानकर्ताको काम कुनै प्रविधिलाई राम्रो देखाउने होइन, बरु जे नतिजा आएको छ त्यसको अवस्था र समस्याको समाधान खोज्ने हो । विश्वविद्यालयभित्र अनलाइन जर्नलहरूमा विद्यार्थीलाई सहज पहुँचको व्यवस्था गर्न सक्नु पर्दछ । 

विश्वविद्यालयको प्रवेश परीक्षा तथा सेमेष्टरका बीच र अन्त्यमा गरिने परीक्षाहरू निश्चित समयमा गर्ने गरी स्पष्ट शैक्षिक क्यालेण्डर बनाई लागू गर्न सक्नुपर्दछ । पाठ्यक्रमलाई समय सापेक्ष बनाउने र प्रयोगात्मक सिकाई पद्धतिलाई प्राथमिकता दिने गर्नु पर्दछ । नियमित विश्वविद्यालय र किसानबीच सहकार्य र समन्वय गरी कृषि प्रसारका कार्यलाई अगाडि बढाउन सक्यौं भने मात्र किसानका समस्या समाधान हुन सक्दछन् ।

अनुसन्धानका ल्याबलाई आवश्यक उपकरणको व्यवस्था गरी अन्तर्राष्ट्रिय मापदण्डका बनाउँदै लैजाने काम गर्नुपर्दछ । हिजोका दिनमा सामान्य माटो परिक्षण गर्नसम्म विद्यार्थीहरू काठमाण्डौं लगायतका ठाउँमा धाउनुपर्ने अवस्था थियो र अहिले पनि अवस्था त्यही छ । 

हालमा रहेको प्राध्यापकको न्युनतम योग्यता स्नातकोत्तर भएकोमा यसलाई सच्चाई कम्तिमा विद्यावारिधि गर्ने र नियुक्तिमा हुँदै आएको राजनैतिक हस्तक्षेपको अन्त्य गर्न सक्नु पर्दछ । विद्यार्थीलाई पनि आफूलाई पढाउने प्राध्यापकको मुल्याङ्कन गर्न पाउने व्यवस्थाको शुरूवात गर्नुपर्दछ । यो प्रावधान विश्वका अधिकांश विश्वविद्यालयहरूमा रहेको पाइन्छ । भौतिक पूर्वाधारहरू; विद्यार्थीका होस्टेल, कक्षाकोठा, ल्याब तथा विश्वविद्यालयका कार्यालयहरू क्रमशः मर्मत तथा निर्माण गर्दै जानुपर्दछ ।

अन्त्यमा, कृषि तथा वन विज्ञान विश्वविद्यालय सामान्य विश्वविद्यालय होइन । यो दक्ष प्राविधिक उत्पादन गर्ने ठाउँ हो । करीब ६६ प्रतिशत किसान र उनीहरूका समस्यासँग विश्वविद्यालय जोडिन सक्नु पर्दछ । विश्वविद्यालयले समग्र देशको कृषिको खाका कोर्नमा मद्दत गर्न सके मात्र खास अर्थमा यसको उद्देश्य पूरा हुन सक्दछ । विद्यार्थीलाई जागिरमुखी भन्दा व्यवसायिक मानसिकता विकास गर्न प्रोत्साहन गर्न सक्नु पर्दछ । अहिलेको आवश्यकता कृषि शिक्षाको निजीकरणमा देखिएको स्वार्थलाई रोक्ने, विकृति तथा विसंगतिलाई हटाउने, सञ्चालनमा रहेका क्याम्पसहरूको न्युनतम शैक्षिक मापदण्ड पूरा गर्ने र विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सक्नु पर्दछ ।
 

पुस २४, २०७५ मा प्रकाशित

माधव पराजुली

पराजुली कृषि तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस