एनआईसी एशिया बैंक लिमिटेड र वर्ल्ड रेमिटबीच रेमिट्यान्स सम्झौता

पुस २६, २०७५

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिट लिमिटेडसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको शुरूवात गरेको छ ।

बैंकले वर्ल्ड रेमिट लिमिटेड यूकेसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट मंसिर २३ गते स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्स शुरू गरेको हो । 


ADVERTISEMENT

सम्झौताअनुसार वर्ल्ड रेमिट लिमिटेडमार्फत् कतार, साउटी अरेयिबा, यूएई, कुबेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, यूके, यूएसए र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीले नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको २ सय ७० वटा शाखा कार्यालय तथा ६ हजार ७ सयभन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

वर्ल्ड रेमिटका ग्राहकले एजेन्टमार्फत् विप्रेषण सेवा नलिकन आफैं आफ्नो मोबाइलमार्फत् परिवार तथा साथीलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन् । यो सेवाले ग्राहकको समय तथा पैसाको बचत हुनेछ । वर्ल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वर्ल्डमार्फत् कारोबार वार्षिक १६०% ले वृद्घि भइरहेको छ । वर्ल्ड रेमिटले आफ्ना ग्राहकलाई आफ्नो परिवार तथा साथीलाई विभिन्न माध्यमजस्तै क्यास पिकअप तथा बैंक ट्रान्सफरद्वारा पैसा पठाउने सेवा दिइरहेको छ ।

एनआईसी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७० शाखा कार्यालय, २ सय ८९ एटीएम, ३७ वटा एक्स्टेन्सन काउन्टर एवं २२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय १५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ६९ अर्ब पुगेर निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करीब १ सय ४७ अर्बसहित निजी क्षेत्रका बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार