बन्यो अनुहारको हाउभाउमार्फत नियन्त्रण गर्न सकिने ह्वीलचेयर

पुस २६, २०७५

काठमाडौं — अमेरिकाको लास भेगासमा चलिरहेको कन्ज्युमर इलेक्ट्रोनिक शोमा एउटा किट प्रस्तुत गरिएको छ । त्यसको सहायताले कुनै पनि मोटराइज्ड ह्वीलचेयरलाई अनुहारको हाउभाउमार्फत नियन्त्रित गर्न सकिनेछ । 

यो किट ब्राजिलको रोबोटिक्स कम्पनी हुबक्सले इन्टेलसँग मिलेर बनाएको हो । यसमा इन्टेलको कृत्रिम बौद्धिकतामा आधारित फेसियल रिकगिनसन प्रविधिको प्रयोग गरिएको छ । 

किटको नाम ह्वीली ७ राखिएको छ । यसलाई अनुहारका १० फरक फरक अभिव्यक्तिमार्फत नियन्त्रित गर्न सकिन्छ । 

कम्पनीका अनुसार, ह्वीलचेयरमा भएको मोटरलाई आफ्नो हातले नियन्त्रित गर्न नसक्ने मानिसलाई यसले सहायता गर्नेछ । जिभ्रो निकालेर वा अन्य फेसियल एक्सप्रेसनबाट ह्वीलचेयरलाई नियन्त्रण गर्न सकिनेछ । 

यो किटको प्रोटोटाइप मात्र प्रस्तुत गरिएकाले यसको मूल्यका बारेमा हाल कम्पनीले कुनै जानकारी दिएको छैन ।

इन्टेलका अनुसार, यो पूरा सिस्टम एपबाट सञ्चालित हुनेछ । यसबाट ह्वीलचेयरको गति निश्चित हुन्छ । ह्वीलचेयरमा फरक फरक दिशामा लैजानका लागि अनुहारका फरक फरक हाउभाउलाई रेकर्ड गर्न सकिन्छ । 

हाँसेर, जिभ्रो निकालेर, अनुहार हल्लाएर अनि आँखा सन्काएर ह्वीलचेयरलाई चलाउन, रोक्न र मोड्न सकिन्छ ।

एजेन्सी
 


ADVERTISEMENT

पुस २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस