बुटवललाई राजधानी बनाउने पक्षमा कांग्रेस, माघ ३ गते जनप्रदर्शन

पुस २६, २०७५

बुटवल – प्रदेशको स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत् जनप्रर्दशन गर्ने भएको छ ।

कांग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ को बिहीवार बसेको बैठकले जनप्रदर्शन गर्ने निर्णय गर्दै जनप्रर्दशनलाई ऐतिहासिक बनाउन र व्यापक जनसहभागिता जुटाउनका लागि कांग्रेसका नगर, वडा तथा टोल समितिको परिचालन तथा प्रचारप्रसार तीव्र बनाउने निर्णय पनि गरिएको छ । 


ADVERTISEMENT

दुईतिहाई बहुमतको आडमा जनभावना विपरीत राजधानी सार्नेसम्मको षड्यन्त्रका विषयमा सचेत हुन सबै जिल्लावासीमा आग्रह गरेको क्षेत्रीय सभापति हरि लम्सासले जानकारी दिए । 

बैठकमा क्षेत्र नम्बर २ अन्तर्गतका २३ वटा वडाका सभापति बुटवल तिलोत्तमा तथा सैनामैनाका नगर समितिका पदाधिकारी तथा सदस्यले सबै कांग्रेसका क्रियाशील सदस्यलाई परिचालन गर्ने र प्रत्येक घरबाट माघ ३ गते बुटवलमा जनसहभागिता गराउने विषयमा निर्णय भएको छ ।

सो अवसरमा बोल्दै सभापति लम्सालले शेरबहादुर देउवा नेतृत्वको विगतको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेपनि राजनीतिक आग्रह पूर्वाग्रहमा बुटवलबाट अन्यत्र सार्ने कुरा बुटवलका सर्वसाधारणका लागि स्वीकार्य नहुने बताए । 

बुटवलका संघसंस्थाले आफ्ना कार्यालयदेखि सबै संरचना त्यागेर राजधानी राखेपनि अब यसलाई अन्यत्र लैजाने कुरा कदापी नहुने उनले बताए । माघ ३ गते प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएको १ वर्ष पुग्दैछ । तर प्रदेश सरकारले १ वर्षको अवधिमा पनि स्थायी राजधानीका लागि पहल नगरेको र अन्यत्र सार्ने षड्यन्त्र भइरहेको कांग्रेसको आरोप रहेको छ ।

षड्यन्त्रको भण्डाफोर गर्न ३ गते पार्टीका केन्द्रिय नेताको सहभागितामा जनप्रर्दशन तथा खबरदारी सभाको आयोजना गरिएको यसअघि नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

पुस २६, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार