‘साइनो’ निर्माणको संघारमा नायिका भुवन, पहिलो फिल्ममै राजा महेन्द्रको तारिफले मख्ख !

पुस २८, २०७५

काठमाडौं – त्यो समय कलाकारितालाई समाजले घृणा गर्थ्यो । कलाकारलाई गर्ने व्यवहार त्यस्तै निम्न थियो ।

सकेसम्म कोही पनि आमाबुवाले आफ्नो छोराछोरीलाई कला क्षेत्रमा लिएर जाँदैनथ्यो । कलाकारितामा लाग्न सहज स्वीकृत दिँदैन्थें ।


ADVERTISEMENT

अभिनेत्री भुवन चन्द त्यसको अपवाद बनिन् । उनका बुवा स्व. भैरवबहादुर थापा आफैं कला क्षेत्रमा थिए । उनले नै भुवनलाई कला क्षेत्रमा लाग्न प्रेरित गरे ।

विक्रम सम्वत् २००६ सालमा काठमाडौंमै जन्मेकी भुवनले २०१० सालमा नाटकमा अभिनय गर्ने मौका पाइन् । ४–५ वर्षको उमेरमै भुवनले बालकृष्ण समको नाटक ‘अन्धवेग’मा पहिलो पटक बालकलाकार बनेर काम गरिन् ।

‘बालकृष्ण सम र बुवाको चिनजान थियो । नाटक मञ्चन गर्ने तयारीका क्रममा अरु सबै भूमिकामा अभिनय गर्ने कलाकारहरू तयार भएपनि छोरीको भूमिकामा अभिनय गर्ने बालकलाकार भेटिएनछ,’ भुवनले लोकान्तरसँगको कुराकानीमा आफ्नो कलाकारिता यात्रा सम्झिन्छिन्, ‘बुवाले बालकृष्ण समसँग मेरै छोरी लिएर आउँछु  भन्नुभएछ । बुवाले नै मलाई नाटकमा लिएर जानुभयो ।’

त्यसयता उनको अभिनय यात्रा अविरल अघि बढ्यो । २०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना पनि उनी त्यही जागिरे भइन् । त्यहाँ नृत्य, नाटक गर्न थालिन् । राष्ट्रिय नाचघरबाटै देश तथा विदेशसम्म पुगिन् ।

यसरी बनिन् पहिलो नायिका

भुवन रंगमञ्चमा व्यस्त थिइन् । समय मिलाएर उनी विदेशी चलचित्र हेर्न हल पुग्थिन् । ‘चलचित्र हेर्दा पर्दामा आफूलाई कल्पिन्थें । म पनि खेल्न पाए त भन्ने मोह जाग्थ्यो,’ उनी सम्झिन्छिन् । 

सोही समय भुवनले नेपालमा पनि चलचित्र बन्दैछ भन्ने सुनिन् । सरकारी स्तरबाट चलचित्र ‘आमा’ बन्दै थियो । कलाकार पाउन निकै कठिन त्यो समयमा रंगमञ्चमा काम गरेका कलाकारलाई अन्तर्वाताका लागि बोलाइयो । अन्तर्वाताका लागि गएका सबै कलाकार अनुबन्धित भए । अनुबन्धित भएको केही समयपछि छायांकन शुरू गरियो ।

विदेशी चलचित्र हेर्दा गीतमा नाच्ने कलाकारलाई नायकनायिका सोच्थिन् भुवन । चोभार डाँडामा गीतको छायांकन गरियो । ‘गरौंला हामी सिर्जना’ बोलको गीतमा हिरो शिवशंकरसँग भुवनले नृत्य गरिन् । जो भुवनको बुवाको साथी थिए । 

‘उहाँ गायक भएर पनि कलाकार पाउन गाह्रो हुँदा हिरोमा अभिनय गर्नुभएको थियो,’ भुवन सम्झिन्छिन्, ‘उहाँसँग त्यो गीतमा नाचेपछि थाहा पाए म त चलचित्रको मुख्य नायिका रहेछु ।’

२०२१ सालमा बनेको यही ‘आमा’ चलचित्रकी नायिका भुवन नेपालकै प्रथम नायिका बनिन् । चलचित्र प्रदर्शनको समयमा भने भुवन चीन पुगेकी थिइन् । उताबाट फर्केपछि जय नेपाल हलमा चलचित्र हेरिन् । पर्दामा आफूलाई पाउँदा उनमा खुशीको सीमा नै रहेन् ।

‘राजाले चिन्नुहुन्थ्यो, आमा हेरेर तारिफ गर्नुभयो’

तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह कलाप्रेमी थिए । उनी बेलाबेलामा नाटक तथा नृत्य हेर्न नाँचघरमा पुगिरहन्थे । ‘हामी सीमित कलाकारले नाटक, नृत्य गर्नुपर्ने अवस्था थियो,’ भुवन सम्झिन्छिन्, ‘म, कमला श्रेष्ठ, चैत्य देवी लगायतका कलाकारलाई महेन्द्र सरकारले चिन्नुहुन्थ्यो ।’

भुवन केही नाटकमा नदेखिएपछि महेन्द्रले चासो दिएको सम्झना उनको स्मरणमा ताजै छ । स्मरण गर्दै भनिन्, ‘मलाई २–३ वटा नाटक, नृत्यमा प्रस्तुतिका लागि अवसर दिइएन । अनि महेन्द्र सरकारले भन्नुभएछ मैले त भुवनलाई देखिनँ नि ! भुवन कहाँ गइछ ? त्यसको भोलिपल्ट मलाई निर्देशकले बोलाएर एउटा नाटकको हिरोइन बनाउनुभयो ।’

चलचित्र ‘आमा’ प्रदर्शनपश्चात् पनि राजाले आफ्नो तारिफ गरेको भुवन सम्झिन्छिन् । ‘उहाँले चलचित्र हेरेपछि हाम्री भुवन पनि भारतीय कलाकारभन्दा कम रहिनछ भन्नुभयो,’ भुवनले भनिन्, ‘राजाबाट तारिफ सुन्न पाउनु ठूलो कुरा थियो । उहाँको तारिफले म निकै हर्षित भए ।’

सालिन प्रेम पाएपछि बिहे

भुवन राष्ट्रिय नाचघरमा व्यस्त थिइन् । समय मिलाएर चलचित्रमा पनि काम गर्थिन् । रेडियो नेपालमा अंग्रेजी समाचारवाचक थिए माइकल चन्द । उनी राष्ट्रिय नाचघरमा अंगे्रजी उद्घोषको रुपमा पनि काम गर्थे । राष्ट्रिय नाचघरमै भुवन र माइकलको चिनजान भयो र प्रेममा परे ।

३ वर्षको  प्रेमपश्चात् उनीहरूले २०३३ सालमा बिहे गरे । भुवन आफूलाई माइकलको सालिनताले प्रभावित पारेको बताउँछिन् ।

‘बिहेपछि कलाकारितामा लाग्न उहाँको साथ र सहयोग सधै रहिरह्यो,’ उनले भनिन् । कलाकारलाई सपोर्ट गर्ने पति पाएकोमा आफूलाई माग्यमानी सम्झिन्छिन् । पतिको साथ र सहयोगले आफू सफल भएको भुवन बताउँछिन् ।

उहिले र अहिले

अहिले नेपाली चलचित्रले धेरै कुरामा फड्को मारेको भुवन बताउँछिन् । जतिबेला भुवन कलाकर्ममा लागिन्, त्यो बेला कलाकारको संख्या न्यून थियो ।

कलाकारितामा लाग्न पनि उत्तिकै गाह्रो । समाजको धारणा पनि राम्रो थिएन । अहिले कलाकारितामा लाग्नेको संख्या बाक्लो छ । लाग्न सजिलो छ । समाजको नजर पनि परिवर्तन भएको छ । पहिले चलचित्र निकै कम बन्थे । अहिले वर्षमा सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आउँछन् ।

‘पैसा तिरेर अभिनय सिक्छु भन्नेले पनि सिक्न पाउने थिएनन् । किनकि सिक्नका लागि कुनै इन्स्ट्रिच्यूट थिएनन्,’ उनी भन्छिन्, ‘अहिले चलचित्र पनि धेरै बन्छन् । अभिनय सिक्नका लागि प्रशस्त माध्यम छन् ।’ त्यसकारण अहिले राम्रा–राम्रा कलाकार उत्पादन भएको भुवनको तर्क छ । ‘पहिले आफूले गरेको अभिनय हेर्न पाइँदैन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले टेक्नोलोजीको विकाससँगै अहिले गरेको काम अहिले नै हेर्न मिल्छ ।’

भुवन चलचित्रले अन्य कुरामा फड्को मारेपनि कथामा फड्को मार्न नसकेको तर्क गर्छिन् । त्यसकारण त्यो बेलाका चलचित्रलाई दर्शकले सम्झिरहने भुवन बताउँछिन् ।

नमज्जा लागेको क्षण

भुवनलाई ८–९ वर्ष अगाडि यस्तो पनि लाग्यो – म किन चलचित्र क्षेत्रमा आएछु ? कारणबारे भुवन भन्छिन्, ‘त्यो बेला केही स्तरहीन चलचित्र बनेका थिए । केही व्यक्तिले चलचित्र क्षेत्रलाई ऐयासी गर्ने भाँडो बनाएका थिए ।’ त्यो बेला उनको मन दुःखेको थियो ।

सम्झिँदै अगाडि थप्छिन्, ‘हिरो हिरोइन पनि पैसा हालेर खेले । निर्माता–निर्देशक जसरी हुन्छ ग्ल्यामर चलचित्र बनाउने सोंचका आए र केही त्यस्तै चलचित्रहरू बने ।’ त्यस्ता चलचित्रले समाजमा विकृति भित्र्याउने भुवन बताउँछिन् । चलचित्र परिवारका साथ हेर्न मिल्ने हुनुपर्ने उनी बताउँछिन् ।

चलचित्र निर्माणमा जुरेको संयोग

२ दर्जन बढी चलचित्रमा अभिनय गरेकी भुवन निर्मात्री पनि बनेकी छिन् । उनको निर्माणमा चलचित्र ‘साइनो’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

‘चलचित्रको ९५ प्रतिशत काम सकिएको छ । २ वटा गीत मात्र बाँकी छ,’ उनले भनिन् । भुवन आफ्नो चलचित्र निर्माणको यात्रालाई जुरेको संयोग बताउँछिन् । ‘योजना त केही पनि थिएन् । तर सल्लाह हुँदै जाँदा यहाँसम्म आइपुगें,’ उनले भनिन् ।

चलचित्र निर्माण धेरै गाह्रो विषय रहेको भुवनले अनुभव संगालेकी छिन् । ‘चलचित्रमा साइन गर्यो, अभिनय गर्यो, डबिङ गर्यो, कहिलेकाहीँ प्रचारप्रचारमा हिँड्यो, कलाकारको भूमिका सकियो,’ निर्मात्री हुँदाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘निर्माता हुँदा त कति धेरै जिम्मेवारी हुँदो रहेछ ।’ उनले कलाकारदेखि प्राविधिक र सञ्चारमाध्यमको राम्रो साथ पाएको बताइन् ।

सामाजिक कथामा राम्रो चलचित्र बनेको भुवन बताउँछिन् । ‘चलचित्र राम्रो बनाएका छौं । दर्शकले रुचाउनुहुनेछ भन्नेमा आशावादी छौं,’ उनी भन्छिन्, ‘तर अहिले दर्शकको टेस्ट बुझ्नै गाह्रो छ । कहिलेकाहीँ यो चलचित्र चल्छ भनेर पनि नचलिरहेको अवस्था छ । चल्दैन होला भनेको चलचित्र चलिरहेको छ ।’ 

अझ उनले सुनेकी छिन् – चलचित्र बनाउन जति सजिलो छ, चलाउन अझ गाह्रो छ । ‘चलचित्र प्रदर्शनमा पनि राजनीति हुन्छ रे ! मेरो चलचित्रमा हेर्दै जाउँ के हुन्छ ?’ उनले भनिन् ।

पुस २८, २०७५ मा प्रकाशित

सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस