पुनर्निर्माण प्राधिकरणको आगामी दुई वर्षको लक्ष्य र कार्ययोजना पारित

माघ ३, २०७५

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कार्यहरु दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो ।


ADVERTISEMENT

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गरेको गामी लक्ष्य र कार्ययोजना अनुसार आर्थिक वर्ष २०७४÷७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष ०७५÷७६ भित्र सम्पन्न गरिने छ । 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनर्निर्माण भएका घरहरुलाई एकमुष्ट तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउनका लागि प्रकृयालाई सहज बनाएर अघि बढने निर्णय भएको जानकारी दिए । 

यस्तै, आगामी लक्ष्य अनुसार गुनासो सुनुवाई, भूमिहिन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धीत लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गरिने छ । 

गुनासो सुनुवाई र पुनःसर्वेक्षणको कार्य आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक भित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आर्थिक वर्ष ०७५/७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराइने छ । 

यस्तै जोखिमयुक्त बस्ती तथा घरहरुको स्थानान्तरणको आगामी लक्ष्य एवं कार्ययोजना अनुसार सबै लाभग्राहीलाई सुरक्षित जग्गा व्यवस्था आर्थिक वर्ष २०७५ /७६ भित्रै गरिनेछ  भने आर्थिक वर्ष ०७५/७६ भित्र ५० प्रतिशत र ०७६/७७ भित्र शत प्रतिशत आवास पुनर्निर्माण सम्पन्न गरिनेछ ।

एकीकृत बस्ती विकास अन्तर्गत आर्थिक वर्ष ०७५/७६ भित्र ५० वटा र आर्थिक वर्ष ०७६/७७ भित्र थप २५ वटा योजना स्वीकृत गरिनेछ ।

जोखिम वर्ग लाभग्राहीलाई थप ५० हजार अनुदानसहित घर निर्माण कार्य आरम्भ आर्थिक वर्ष ०७५/७६ भित्र गरिनेछ भने आर्थिक वर्ष ०७५/७६ भित्र ४० प्रतिशत र आर्थिक वर्ष ०७६/७७ भित्र शत प्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

माघ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस