सिरियाभित्र रहेको इरानी टार्गेटमा इजरायली सेनाको आक्रमण

माघ ७, २०७५

काठमाडौं – इजरायलको सेनाले सिरियाभित्र रहेको इरानी टार्गेटमा प्रहार गरेको छ । 

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले कुद्स फोर्सविरुद्ध कारवाही गरेको बताएको छ । कुद्स फोर्स इरानको रिभोल्युसनरी गार्ड्सको शीर्ष इकाइ हो । 


ADVERTISEMENT

इजरायलले यससम्बन्धी कुनै विवरण दिएन । तर सिरियाको राजधानी डमास्कसनजिक सोमवार बिहानै हवाई आक्रमण भएका छन् । 

सिरियाली सञ्चारमाध्यमले हवाई सुरक्षाले इजरायलको हवाई आक्रमणलाई निस्तेज बनाएको जनायो । आइतवार आईडीएफले गोलान हाइट्समा एउटा रकेटलाई रोकेको बतायो । 

सिरियाको सरकारी समाचार संस्था सना न्युजले एक सैन्य स्रोतलाई उद्धृत गर्दै देशको हवाई सुरक्षाले दुश्मनका अधिकांश क्षेप्यास्त्रलाई झारेको जनायो । 

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायली रकेटहरूले राजधानी डमास्कस नजिकको क्षेत्रलाई तारो बनाएको बतायो । 

डमास्कसमा प्रत्यक्षदर्शीहरूले राति चर्को विस्फोटको आवाज सुनिएको बताए । 

इजरायलले दुर्लभै रूपमा सिरियाभित्रको टार्गेटमा आक्रमण गरेको स्वीकार गर्छ । 

गोलान हाइट्समा रहेको लोकप्रिय शीतकालीन स्थल माउन्ट हेर्मोनलाई बन्द गरिएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार चाडको भ्रमणका क्रममा चेतावनी जारी गरे । आफूहरूलाई हानि गर्ने सबैलाई आफूहरूले पनि हानि गर्ने उनको भनाइ छ ।

बीबीसीबाट

माघ ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस