×

NMB BANK
NIC ASIA

रोमाञ्चकारी फिल्मको कथा जस्तो : 'खाटमा लुकेर तालिबानको गोलीबाट बाँचें म'

माघ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एक वर्षअघि ग्रीसका पाइलट भासिलीयोस भासिलीऊ अफगानिस्तानको राजधानी काबुलमा रहेको विलासी होटलमा थिए । इन्टरकन्टिनेन्टल होटल विदेशीहरूमाझ लोकप्रिय छ । सन् २०१८ को जनवरी २० मा तालिबानी बन्दूकधारीहरूले होटलमा प्रवेश गरेर ४० जनाको हत्या गरेका थिए । आफू कसरी बाँचें भनी भासिलीऊले वर्णन गरेका छन् । 

Muktinath Bank

मैले छिट्टै डिनर खाने निर्णय गरें । बेलुका ६ बजे नै डिनर खानका लागि मैले अर्का पाइलट माइकल पूलिकाकोसलाई बोलाएँ । म इन्टरकन्टिनेन्टल आउन थालेको तीनदेखि चार महिनामा यसो गरेको पहिलोपटक थियो । नत्र म सधैं साढे ८ बजेतिर रात्रिभोजन गर्थें । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले साढे ७ बजे डिनर सक्यौं र म आफ्नो कोठा नम्बर ५२२ तर्फ गएँ । त्यो सबभन्दा माथिल्लो तल्लाको कोठा हो । त्यहाँ गएर फोन गर्दैथिएँ । एथेन्समा फोन गरिरहँदा मैले तल लब्बीमा ठूलो विस्फोटको आवाज सुनें । 


Advertisment
Nabil box
Kumari

म बाल्कोनीमा निस्किएँ । मैले भुइँमा एक मानिस रगतमा लत्पतिएको देखें अनि होटल भित्र र बाहिर गोली चलेको आवाज सुनें । म सौभाग्यवश त्यतिखेर तल रेस्टुराँमा थिइनँ भन्ने थाहा पाएर मैले आफैंलाई भनें, ‘लौ, भासिलीओस, बाँच्नका लागि अब तिमीले केही त गर्नैपर्ने भयो ।’

Vianet communication
Laxmi Bank

मैले बाल्कोनीको ढोका खुलै छाडें र आफ्नो कोठाको ढोका बन्द गरें । मेरो सुइटमा दुईवटा खाट थिए त्यसैले मैले आफूलाई ग्रिनेडबाट बचाउन एउटा बिछ्यौना ढोकामा राखें र तन्ना, रुमाल र कपडाहरू जम्मा गरें अनि त्यसको डोरी बनाएँ । आवश्यक परेमा त्यही डोरीको सहायताले म चौथो तल्लामा जान सक्थें । 

म विमानचालक र प्रशिक्षक भएकाले मैले वर्षौंदेखि संकट व्यवस्थापन र निर्णय लिने कामको अध्ययन गरेको छु । त्यसैले म रेस्टुराँ र थिएटर गएँ भने पनि ढोकानजिक वा इमर्जेन्सी एक्जिटनजिक बस्ने गरेको छु । यो मेरो बानी नै हो । 

अब के गर्ने हो भनी मैले सोच्न थालें । कतिजना आक्रमणकारी छन् अनि उनीहरू होटलको कुन कुनाकन्तरामा छन् मलाई केही थाहा थिएन । अनि पाँच तल्लामाथिबाट हाम्फाल्नु पनि बुद्धिमत्तापूर्ण हुने थिएन । त्यसैले मैले आफैंलाई भनें, ‘भासिलीओस, भित्रै बस अनि आफूलाई जोगाउने भरमग्दूर कोशिश गर ।’

म कारणको व्याख्या गर्न त सक्दिनँ तर म अनपेक्षित रूपमा शान्त थिएँ । 

मैले बिछ्यौना भएको खाटलाई अलिक अस्तव्यस्त जस्तो बनाएँ अनि बिछ्यौना हटाएको खाटलाई चाहिँ चिरिच्याट्ट पारें । त्यसपछि मैले बत्ती निभाएँ र भारी पर्दाका पछाडि अनि अँध्यारोमा फर्निचरको पछाडि लुक्ने निर्णय लिएँ । 

आधी घन्टा बितेपछि आक्रमणकारीहरूले लब्बी, रेस्टुराँ अनि होटलका पहिलो र दोस्रो तल्लामा भएका लगभग सबैजनालाई मारिसकेका थिए । उनीहरू तेस्रो र चौथो तल्ला हुँदै पाँचौं तल्लामा आइसकेका थिए र माथि छतमा दौडिरहेको आवाज पनि मैले सुनें । अन्तर्राष्ट्रिय सुरक्षा बलका हेलिकप्टरलाई उनीहरू छतमा बसेर त्यहाँ आइपुग्न नदिने प्रयास गरिरहेका थिए ।

मैले नजिकैको कोरिडोरमा गोली चलेको आवाज सुनें र अचानक होटलको सबै बत्ती निभ्यो । 

आक्रमणकारीले पाँचौं तल्लाको पहिलो कोठामा छिरेको भनेको ५२१ मा हो । त्यो मेरोसँगैको कोठा थियो । त्यही कोठामा बसेर उनीहरूले रातभरिको आक्रमणको कारवाही चलाए ।

मेरो कोठाको ढोकामा गोली चलेको आवाज सुनेपछि मैले सोचें, ‘यो लुक्नका लागि राम्रो ठाउँ त हैन ।’

म भुइँमा लम्पसार परें अनि बिछ्यौना राखिरहेको खाटमुनि पसें । आफूलाई बचाउनका लागि मैले यो सिंगल बेडलाई मुट्ठीले अनि गोडाका औंलाले उचालेको थिएँ । 

मैले धेरै त देख्न पाइनँ तर खाट हावामा लगभग १० सेन्टिमिटर उचालिएको थियो । उनीहरूले ढोकाको ताल्चामा गोली हाने, ढोकामा भारी ह्याम्मरले हिर्काए अनि चारजना मानिस मेरो कोठामा छिरे । ढोका खुला देखेर एकजना तत्कालै बाल्कोनीतिर दौडिए । 

मैले पिस्तोलबाट गोली चलेको आवाज सुनें र अबको केही सेकेन्डमा म मर्छु कि क्या हो भन्ठानें । मैले आफ्नो परिवारलाई याद गरें, मेरा सन्तानको अनुहार सम्झिएँ अनि मेरा जीवनका राम्रा र नराम्रा क्षणहरू पनि याद गरें । 

ढोका खुला छाडियो अनि बन्दूकधारीहरू आउनेजाने गरिरहे । अनि उनीहरूले पाँचौं तल्लाका अन्य ढोका खोल्न थाले । कोरिडोरको अर्कोपट्टि एकजना विमान कर्मचारी र मैले सँगै काम गरेका केही अन्य पाइलटहरू बसेका थिए । उनीहरू मारिनुअघिको चिच्याहट मैले सुनें । अरूबेला केही पनि सुनिएन ।

उनीहरूले पाँचौं तल्लाका सबै ढोका खोले अनि भेटेजति सबैजनालाई मारे जस्तो लाग्छ । मैले चिच्याएको आवाज सुनें, गोलीको आवाज सुनें । जम्मा एउटा गोली चलाउने अनि अर्को ढोकामा पुग्ने गर्थे उनीहरू । गोली चलाएपिच्छे उनीहरू हाँस्थे मानौं उनीहरू रमाइलो गरिरहेका छन् वा यो कुनै ठूलो पार्टी हो ।

बिहान लगभग ३ बजे उनीहरूले पाँचौं तल्लामा ठूलो आगो लगाए र धूवाँको मुस्लो उठेपछि त्यहाँबाट हिँडे । लगभग २५ मिनेटसम्म गोलीको आवाज आएन अनि मैले खाटमुनिबाट बाहिर आउने निर्णय लिएँ । 

बाहिर आएपछि मैले थाहा पाएँ, म एउटा खाटमुनि लुकेको थिएँ तर उनीहरूले अर्को खाटमा गोली प्रहार गरेछन् अनि त्यसको पिँध उचालेर कोही लुकिरहेको छ कि छैन भनी हेरेछन् । 

मैले सोचें, ‘म मृत्युबाट जोगिएको आज यो दोस्रो अवसर हो ।’

केही समयपछि मेरो कोठामा धूवाँ पस्यो । मैले केही त गनैपर्ने थियो त्यसैले म बाल्कोनीतिर गएँ । मैले देब्रेतिर आगो बलेको देखें । आगो दनदनी दन्किरहेको थियो र मेरो कोठमा आगो आइपुगेमा म बाँच्दिनँ भनी मैले थाहा पाएँ । 

मैले टीभीका तारहरू छतबाट झुण्डिरहेको देखें । ती तार सीधै जमीनसम्म पुगेका थिए । म तार समात्नलाई शरीर तन्काएँ । तिनले मेरो भार थाम्छन् कि अनि तिनलाई समातेर म तल जान सक्छु कि भनी मैले जाँच्नुपर्ने थियो । तर

त्यतिखेरै मैले आफूनजिकैबाट गोली चलेको सुनें । एउटा गोली त मेरो देब्रे काँधको २० सेन्टिमिटर टाढाबाट गयो र अर्को चाहिँ लगभग आधा मिटर परबाट गयो । दुई गोलीले ठ्याक्कै मपछाडिको झ्यालको शीशामा दुईवटा प्वाल पारे । 

अन्तर्राष्ट्रिय सुरक्षाबलका एक स्नाइपरले त्यो गोली चलाएको हुनुपर्छ । उनले ५२२ नम्बरको कोठाभित्र मलाई नाइट भिजन क्यामराबाट देखेको हुनुपर्छ र म पनि आतंकवादी नै होला भनी सोचेको हुनुपर्छ । स्नाइपरहरूले त्यत्तिको दूरीबाट प्रायः निशाना चुकाउँदैनन् तर उनीहरूले गोली चलाएको आधी सेकेन्डमा मैले टीभीको तार समात्नका लागि शरीर तन्काउँदा गोलीले मेरो शरीरलाई नछोएको हुन सक्छ । 

मैले भित्र जाने निर्णय लिएँ । म आवाज ननिस्कोस् भनेर एकदमै बिस्तारै बाथरूम गएँ । मसँग नङकट पनि थियो र म त्यो लिएर फेरि खाटमुनि पसें अनि सानो नङकट लिएर खाटको काठे पिँधभित्र रहेको प्लास्टिकमा प्वाल पारें । त्यति गरेपछि मलाई खाटभित्रको ढ्वाङमा लुक्न सहज भयो । 

मैले मेरो कोठामा रहेको सानो फ्रिजबाट पानीका दुई बोतल र अलिकति दूध लिएँ र एउटा टीशर्ट पनि लिएँ । मैले टीशर्टलाई ससाना टुक्रा पारें र धूवाँ छेक्नका लागि केही टुक्रा नाकमा कोचें । टीशर्टको अर्को टुक्रा मैले मुखमा हालें र त्यसमा टन्नै दूध र पानी हालें । त्यसले डबल फिल्टरको काम गरिदियो । यो कुरा मैले एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलमा अग्निनियन्त्रण विभागमा तालिम लिने क्रममा सिकेको थिएँ । 

म खाटमा छिर्नेबित्तिकै तालिबानीहरू फर्किए । तीमध्ये एकजना आएर म लुकेकै खाटमाथि बस्यो । मैले उसको गोडा देखें । ऊ लगातार भुइँमा थुकिरहेको थियो । ऊ अरू व्यक्तिहरूलाई आदेश दिएर यसो गर्, उसो गर् भनिरहेको थियो र म उसको आवाज अझै सम्झन्छु । अनि ऊ बाथरूम गयो र त्यसपछि बाल्कोनी गयो र एके ४७ बाट गोली बर्सायो । मैले आवाज निकाल्नै मिल्दैनथियो किनकि गोलीबारी सकिएपछि पूर्ण मौन छायो । 

त्यस क्षणमा मेरो मस्तिष्कमा रहेको केही कुराले म त्यो दिन मर्दिनँ भन्यो । मैले सधैं जाने समयमा डिनर नगरेर बाँचेको हुँ । ती मानिसहरू मेरो कोठामा छिरेर म लुकेको खाटमा नभई अर्को खाटमा गोली हान्दा म बाँचेको हुँ । अनि स्नाइपरको गोलीले मलाई नछुँदा पनि म बाँचेको हुँ । अनि अहिले त म राम्रैगरी लुकेको छु । 

अन्तर्राष्ट्रिय सैन्य बलहरूले कुनै पनि बेलामा नियन्त्रण लिन सक्छन् भन्ने सोचेर मैले जहाँ थिएँ त्यहीँ बस्ने निर्णय लिएँ र केही नगरी बस्दा ठीक हुन्छ भन्ठानें । 

तर बिहान सबेरै अन्तर्राष्ट्रिय बलहरूले होटलका कोठामा ट्यांकबाट गोलाबारुद हान्न थाले । उनीहरूले मेरोसँगैको कोठा ५२१ मा केन्द्रित गरेर प्रहार गरिरहेका थिए तर अन्य कोठामा पनि प्रहार गरे किनकि बन्दूकधारी यताउता हिँडिरहेका थिए र उनीहरूमाथि गोली चलाइरहेका थिए । 

ट्यांकका भारी बन्दूकहरूले गोली हानेपिच्छे पूरै होटल नै थर्किन्थ्यो । पछि मैले ती बन्दूकले गरेको क्षति देखें । काठका सबै सामान धूलो भएका थिए अनि कोठाका छतमा प्वालै प्वाल थिए । म अझै जीवित रहनु भाग्यकै कुरा हो भन्ठानें । 

उनीहरूले बिहान ६ बजेतिर ठ्याक्कै मेरो कोठाबाहिर दोस्रोपटक गोलीबारी गर्न थाले । मेरो लुगा राख्ने दराजबाट उनीहरूले केही कपडा लिएको मैले सुनेको थिएँ । अनि उनीहरूले कार्पेट लिए र त्यसमा टन्नै डीजेल खन्याए । उनीहरूले आफू बसेको कोठा ५२१ पनि डढाए । 

आगो मनजिकै आयो र भारी धूवाँ र तापका कारण म बढीमा ३० मिनेटसम्म बाँच्छु भन्ने मलाई थाहा थियो । बाल्कोनीको खुला ढोकाबाट आइरहेको भारी चिसो हावाबाट अन्तिम अक्सिजन पाउनका लागि म भुइँमा पल्टेर सास फेरिरहेको थिएँ । 

काठ वा कार्पेट डढाउँदा आउने सामान्य गन्ध जस्तो थिएन यो धूवाँको गन्ध । यो राम्रो गन्ध थिएन । यो मान्छेको लाश डढेको गन्ध थियो । 

मैले वरिपरि कसैको आवाज नसुनेपछि बाहिर आउने निर्णय लिएँ । तर म बाहिर आएपछि अचानक झ्यालको शीशा फुटेको आवाज आयो । यस्तो आवाज ५२१ नम्बरको कोठाबाट आइरहेको थियो तर त्यही कुरा मेरो कोठामा पनि भइरहेको थियो र मैले आफूलाई जोगाउनका लागि तत्काल प्रयास गर्नुपर्ने थियो । 

अन्तर्राष्ट्रिय सैनिकहरूले कोठाहरूमा आगो निभाउनका लागि पानीका मुस्ला फ्याँकिरहेका थिए र तिनैले झ्याल फुटाइरहेका थिए । आगो त छिट्टै निभ्यो र म झ्याल र ढोका नभएको कोठामा निथ्रुक्कै भिजें । काबुलको चिसो रातमा बाहिरको तापक्रम माइनस ३ डिग्री थियो । म केही क्षणपछि नै चिसोले कठ्यांग्रिने स्थितिमा थिएँ । 

बिहान ९ बजेर २५ मिनेट जाँदा मैले लिफ्टनेर तलको कोरिडोरबाट गोली चलेको आवाज सुनें । त्यो आवाज अलिक फरक सुनिन्थ्यो त्यसैले अन्तर्राष्ट्रिय बलको गोलीको आवाज हो भनी अनुमान गरें । कोठा नम्बर ५२१ बाट एक बन्दूकधारीले कालाश्निकोभ राइफल चलाएर त्यो गोलीको जवाफ फर्काइरहेका थिए । 

बिहान साढे ९ र सबा ११ बजेको बीचमा अन्तर्राष्ट्रिय बलहरूले थुप्रै ग्रिनेड फालिरहेका थिए । मैले भुइँमा ग्रिनेड गुडिरहेको सुनें । ती ग्रिनेड कोठा नम्बर ५२१ मा पनि आइपुगे र कहिलेकाहीँ ती मेरो कोठाबाहिर ड्याम्म पड्किन्थे । तीमध्ये एक ग्रिनेडले कुच्याएको एक फ्लाइट केसलाई मैले त्यो घटनाको चिनोका रूपमा राखेको छु । 

बिहान लगभग साढे ११ बजे एउटा मात्र बन्दूकधारी बचेको जस्तो लाग्यो । त्यो मान्छे ५२१ नम्बरको कोठामा थियो । उसले कालाश्निकोभ छोडेर पिस्तोलबाट गोली हान्यो । उसको गोलीगट्ठा सकिएछ । अनि उसले ब्लोटर्च प्रयोग गरेर फेरि आगो लगाउन खोज्यो तर त्यसको ग्यास सकियो । 

म एकदमै उत्साहित भएँ र पूरा जोशमा आएँ । अनि मैले हाँसो रोक्नका लागि मुखलाई हातले छोपें । त्यो मान्छे केही मिनेटपछि गायब भयो । 

म असाध्यै थाकेको थिएँ । यो सबै शुरू हुनुअघि राति ढिलो मैले विमान उडाउनुपर्ने थियो अनि म अघिल्लो दिन र रात सुतेको थिइनँ । त्यसैले म ३५ देखि ४० घन्टा जागै थिएँ । 

त्यसको केही समयपछि मैले अरू आवाज सुन्न थालें । मानिसहरू मेरो कोठातिर आए तर राम्रा मान्छे आए कि खराब आए भन्ने मैले देखिनँ । बिहान लगभग ११ बजेर ४० मिनेट जाँदा कसैले अफगानी लवजमा 'पुलिस, पुलिस' भनी चिच्यायो । तर खराब मान्छे पो हो कि भनी मैले बाहिर नआउने निर्णय लिएँ । त्यसको १० देखि २० सेकेन्डपछि मैले केही मानिसले अंग्रेजी लवजमा फेरि पुलिस भनी चिच्याएको सुनें । म एकदमै खुशी भएर चिच्याउन थालें र खाटबाट घस्रिँदै बाहिर आएँ । बाहिर आउन गाह्रो थियो र मलाई सास फेर्न नै हम्मेहम्मे परिरहेको थियो । खाटभित्र एउटै पोजिसनमा कुचुक्क परेर बस्नुपर्दा मेरो छाती एकदमै दुखिरहेको थियो । 

म धूवाँले कालो भएको थिएँ त्यसैले उनीहरूले मेरो अनुहार देख्न पाएनन् र चारजना कमान्डोले चिच्याए, ‘तलै बस । तलै बस ।’ यसो भनिरहँदा उनीहरूले मतिर बन्दूक तेर्स्याइरहेका थिए । 
एकजनाले सुस्तरी भन्यो, ‘यो भूत हुनुपर्छ ।’

म चिसोले कठ्यांग्रिएको थिएँ तर मैले भनें, ‘म काम एयरको क्याप्टेन हुँ । गोली नहान्नुस् ।’

उनीहरूले विश्वासै गर्न सकेनन् । म कति घन्टादेखि त्यहाँ थिएँ भनेर उनीहरूले सोधे । मैले यो घटना भइरहुन्जेल यहीँ छु भनें । उनीहरूले खाटमा हेरे र म कसरी बाँच्न सफल भएँ भनी सोधे ।

उनीहरूमध्ये एकजनाले मलाई भने, ‘ठीक छ, म तपाईंलाई तल लग्छु तर सुन्नुस् हामी जानुअघि तपाईंसँग एउटा फोटो खिचाउन चाहन्छु ।’ मैले पनि त्यो क्षण सम्झने फोटो राख्न चाहेको बताएँ । 

होटलबाट निस्कने म अन्तिम व्यक्ति थिएँ । उनीहरूले बाँचेका सबैलाई काबुलमा रहेको ब्रिटिश सैन्य अड्डा पु-याए । मैले त्यहाँ सहकर्मी माइकललाई देख्नेबित्तिकै यत्ति खुशी भएँ कि विश्वासै लागेन । मैले हासूँ कि रोऊँ भनेर खुट्ट्याउनै सकिनँ । हामीमाझ मिश्रित भाव आए । हामीले धेरै साथी गुमायौं । सँगै काम गर्ने पाइलट, अपरेसनमा खटिने कर्मचारी, इन्जिनीयर लगायत धेरै मानिससँग हामीले काम गरेका थियौं र उनीहरूलाई गुमायौं । 

परराष्ट्र मन्त्रालयले मेरो परिवारलाई होटलमा बाँचेका सबै व्यक्तिलाई निकालिएको तर उनीहरूले मलाई फेला नपारेको बताएपछि मेरो परिवारले म नबाँचेको ठान्यो । तीनचार घन्टापछि मैले परिवारलाई फोन गरेर म ठीक छु भन्दा उनीहरू यति खुशी भए कि त्यसको कल्पना तपाईंले गर्न सक्नुहुन्न ।   

म पहिलेदेखि नै सकारात्मक मानिस हुँ तर आजकल म झनै सकारात्मक सोच राख्छु । म जीवनको हरेक क्षणको आनन्द उठाउँछु र आफूसँग भएको कुराप्रति कृतज्ञ छु । जीवन एक उपहार हो र हामीले बाँचुन्जेल यसको आनन्द लिनुपर्छ । 

तपाईंलाई थाहा छ, कहिलेकाहीँ ग्रीसमा समुद्र किनारमा साथीहरूसँग बस्दा मैले मानिसहरूको गुनासो सुन्छु । आर्थिक संकटका कारण पहिले भएका केही सुविधालाई अहिले भोग्न नपाइएको उनीहरू बताउँछन् । तर म भन्छु, ‘हत्तेरिका । आफ्नो जिन्दगी र स्वास्थ्यको आनन्द उठाउनुस् । तपाईं समुद्र किनारमा बसेर माछा र रक्सी खानुहुँदैछ । हामीहरू स्वतन्त्र छौं, हाम्रा गतिला साथी छन् र हामी हाँसिरहेका छौं । मानिसहरूले गर्नुपर्ने नै यही हो ।’
काम अनि तनावपूर्ण र खराब चीजमा मात्र ध्यान केन्द्रित नगर्नुस् । जीवनमा राम्रा क्षण बनाउने अनि राम्रा मानिसको वरिपरि हुने कुरामा जोड दिनुस् किनकि जीवन बहुत सुन्दर छ । 

काबुलको त्यो घटनापछि मैले वास्तवमै बुझें – जीवन अत्यन्तै सुन्दर छ । अनि मलाई विश्वास गर्नुस्, म प्रत्येक क्षणको आनन्द लिइरहेको छु । 

बीबीसीमा प्रकाशित भासिलीयोस भासिलीऊको अनुभवको भावानुवाद
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x