नकाबधारी मान्छे (कविता)

माघ २५, २०७५

रमेश भट्टराई ‘सहृदयी’

तिमीले मलाई सोचे जति..... 
भगवानको सुमीरन ग-या भए
तिम्रो मोक्षको ढोका खुल्थ्यो शायद
म तिम्रो शुभचिन्तक
तिमी मनभित्र कुँडिन्छौ
पोखिएका क्रोधी नजर
नकाव र मान्छेमा अलमल्ल भयो
छरपस्ट बजारमा बेसहारे हुँदा
म नै सम्हाल्दै छु, थाहा छ ।
आफ्नो खायौ
मलाई सोच्यौ
मनमा कपटको खोल भिरेर 
अर्काले मलाई के भन्दामा बित्यो जीवन
कुरा काटेर गफ चुट्दामा फुल्यो केस
काँचो त न रह्यो जीवन– न मन ।


ADVERTISEMENT

तिमी दैलाको ठेलामा अल्झिएर
कोठाको बन्द संसारमा
दुई मुखको चार कान पाएपछि 
बरु गुंगो, बेश्रवण भए उत्तम सोच हुन्थ्यो
मान्छे, मान्छे बनेनौ– नकावधारी 
अर्काको पीडा आफ्नो भनेनौ
मरेर जाँदा गुणगान गायौ
बाँचुन्जेल दोषै भिरायौ
के आदत हो मान्छे, कति कप्टी, स्वार्थी 
कमायौ कि पोको पा-यौ कतिन्जेल ?
के लान्छौ तिमी ?
धुर्त, चुक्लीको दौडाहा भिरेर
तनाव र दौडधुपको रवाफमा 
के मान्छे, तिमी यन्त्र या तिम्रो यन्त्र ?
समय तिम्रो या समयमा तिमी छौ ?

हो, आरोपित ऐँझेरुहरू
दूधले धोइयून् या जे हुन्
तिमी आफ्नो पौरख बेच्न जान्दैनौ
कर्ममा पाइनको रङ भर्न मान्दैनौ
भ्रष्ट, कुकर्म, ठगाहा टाइफिटिङ
ढोङी आडम्बरी कालो चरित्र
के तिम्रो महानता, ढोङमा हो ?
तिम्रो जागिर, सम्मानका दुई चारवटा प्रमाणमा ?
या तिम्रो सद्चरित्रमा, मान्छे ?
खलामा मेहेमा बाँधिएका गोरुहरू
झगडा गर्छन्, बन्धन बिर्सन्छन्
मानवताका पर्खाल धमिराको पोकोमा ग्रसित छन्
आँसुको मूल्यमा समवेदना पैसा बन्यो
म तिमी मान्छे हौ भन्दा कुकुरको करुणा हेर्छु
म मान्छेमा मान्छे नदेख्दा, 
अल्मलिन्छु, के तिमी मान्छेको नकावधारी हौ ?

माघ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस