पर्दाको आफ्नै भूमिका जस्तो ‘दाह्री बा’को जीवन : भन्छन्- 'आफैंप्रति गर्व गर्न सकिनँ'

माघ २६, २०७५

काठमाडौं – फराकिलो निधार, चुच्चो नाक, साधारण पहिरन, मिजासिलो बोलिचाली, सबैलाई सम्मान गर्ने स्वभाव, बाटोमा कोही चिनेको भेटे ‘नमस्कार हजुर’ भनिहाल्ने मिजासिलो व्यक्तित्व ..... । यति भनिसकेपछि दर्शकले उनलाई चिनिहाल्छन्, वा चिन्ने धेरै आधार पाउँछन् । तर माथिका कुराभन्दा उनलाई पहिचान दिलाउने अर्को मुख्य कुरा छ, त्यो हो उनको झुस्स परेको बाक्लो दाह्री । 

कलाकार सुरवीर पण्डिताई धेरैले ‘दाह्री बा’ भनेरै चिन्छन्, सम्बोधन गर्छन् । हास्य टेलिसिरियल ‘मेरीबास्सै’मा सुरवीरले निर्वाह गरेको ‘दाह्री बा’को भूमिकालाई दर्शकले औधी रुचाए । त्यसैले त सुरवीर ‘दाह्री बा’को उपनामबाटै दर्शकमाझ परिचित बन्न पुगे । 


ADVERTISEMENT

सुरवीरको अभिनय साँच्चिकै जीवन्त लाग्छ । ‘मेरीबास्सै’मा ‘दाह्री बा’को भूमिका होस् वा फिल्ममा निम्न मध्यमवर्गीय परिवारको भूमिका किन नहोस्, जुनसुकै भूमिकामा उनको अभिनय खास्सा लाग्छ । 

उनले अभिनय गरेका गरीब, लोभीपापी, सोच, मनकामना, सोल्टीनी, निर्मोही, चण्डाल, सुकुम्बासी, मेरी आमा आदि फिल्म चर्चित छन् । यीसँगै सुरवीरले झण्डै तीन दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । 

त्यस्तै आधा दर्जन बढी टेलिसिरियलमा अभिनय गरेका सुरवीर बेलाबेलामा म्युजिक भिडियोमा पनि देखिइरहन्छन् । उनले अभिनय गरेका म्यूजिक भिडियोको संख्या पनि तीन दर्जन बढी पुगिसकेका छन् । उनी अभिनित पछिल्ला फिल्म आरुषी र प्रेमनाथ प्रदर्शनको तयारीमा छन् । त्यस्तै ‘मेरी बास्सै’ र ‘रिसानी माफ होस्’ टेलिसिरियलमा पनि सुरवीरलाई दर्शकले निरन्तर हेर्दै आइरहेका छन् । 

प्रायः पर्दामा सामान्य पहिरनमा गरीब, निमुखा, समाजलाई मार्गनिर्देश गर्ने खालका भूमिकामा प्रस्तुत हुने सुरवीरको वास्तविक जीवनचाहिँ कस्तो होला ? जिज्ञासा स्वभाविक छ ।  

कलाकारितामा तीन दशक बढी समय बिताएका सुरवीर लोकान्तरसँगको कुराकानीमा चिन्तित बढी, हर्षित् कम देखिए । 

कृषकको छोरोलाई जब अभिनयको भूत चढ्यो

सुरवीरको जन्म आजभन्दा ५० वर्षअघि काठमाडौं शिवपुरीको फेदीमा बस्ने एक निम्न मध्यम वर्गीय परिवारमा भयो । बुवाआमा खेतीकिसानी गर्थे । अहिले पनि सुरवीरको परिवार कलाकारिता कम, खेतीकिसानीमै बढी आश्रित छ । 

आमाबुवाको चाहना थियो– छोरो ठूलो भएर सरकारी जागिरे बनोस् । तर सुरवीर एकाएक अभिनयतिर आकर्षित भए । 

कुरा २०३५/३६ साल तिरको हो । ११/१२ वर्षको उमेरमा सुरवीरले एक आफन्तसँग ‘सिन्दुर’ फिल्म हेर्ने अवसर पाएका थिए, त्यसपछि पर्दामा आफैंलाई कल्पिन थाले । 

सुरवीर एकाएक फिल्मको अम्बली बन्दै गए । अभिनयको भोक बढ्दै गयो । सुरवीर प्रदर्शनमा आएका प्रत्येक फिल्म हेर्न सिनेमा हल पुग्न थाले, कहिले साथीभाइसँग त कहिले एक्लै । फिल्म हेर्न सुरवीरले कयौंपटक स्कूल छाडे भने कयौं पटक बुवाको खल्तिबाट पैसा चोर्न समेत पछि परेनन् ।

‘एक त परिवारको आर्थिक स्रोत नै कम, अर्को फिल्म हेर्न भनेर घरबाट पैसा पाउने आशै थिएन्,’ उनी सुनाउँछन्, ‘त्यसैले धेरैपटक बुवाको खल्तिबाट पैसा चोरेर फिल्म हेर्न पुगेको छु ।’
सिन्दुरपछि उनले माइतीघर, जीवनरेखा, जुनी लगायतका फिल्म हेरेको बताउँछन् । 

सुरवीर फिल्म हेरेर नक्कल गर्ने, साथीभाइलाई सुनाउने, देखाउने गर्थे । मलाई पनि खेलाउनुपर्‍यो भन्दै निर्माता निर्देशकसँग पुग्थे । तर लामो समयसम्म उनले अभिनयको भोक मेट्ने अवसर पाउन सकेनन् । केही वर्षपछि कलाकार बन्न दौडिने क्रममा सुरवीरले रमेश बुढाथोकी र कृष्ण मल्लसँग भेट्ने अवसर पाए । उनिहरूसँग काम गर्ने अवसर पनि मिल्यो । 

सुरवीरले २०४३ सालमा टेलिनाटक ‘कोसँग जुधौं’मार्फत् अभिनय यात्रा शुरू गरे । अभिनय यात्रा शुरू गरेको झण्डै ७/८ वर्षपछि सुरवीरले फिल्ममा नोटिस हुने भूमिका गर्ने अवसर पाए । 

अशोक शर्माको ‘गरीब’ चलचित्र हिट भयो । त्यससँगै सुरवीर पनि एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै गए । ‘त्यसयता वर्षमा एक/दुईवटा चलचित्रमा ब्यस्त बन्दै गएँ,’ उनी भन्छन् ।

हालसम्म सुरवीरले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । २०६२ सालबाट नेपाल टेलिभिजनमा टेलिसिरियल ‘मेरिबास्सै’ प्रशारण शुरू भयो । ‘मेरीबास्सै’मा पहिलो श्रृंखलाबाटै देखिएका सुरवीरलाई हालसम्म पनि दर्शकले निरन्तर टेलिभिजनको पर्दामा देख्दै आएका छन् ।

‘आजभोलि अफर नै आउँदैन’

सुरवीर हिजोआज भने अलि फुर्सदिला बनेका छन् । ‘कामहरू नै आएको छैन । घाम लाग्यो भने घाम तापेर बस्ने, नत्र त्यत्तिकै समय बिताउने काम भइरहेको छ,’ उनी भन्छन् ।

त्यसो त अक्कलझुक्कल ‘मेरी बास्सै’ र ‘रिसानी माफ होस्’ टेलिसिरियलको सुटिङमा पुग्छन् । त्यो बाहेक उनको हातमा कुनै फिल्म छैन, न त म्यूजिक भिडियो नै । ‘अहिले काम पनि छैन, कमाई पनि छैन्,’ सुरवीर भन्छन्– ‘हुन त मलाई सुहाउने रोल नै नभएर हो कि !’ 

सुरवीरलाई कहिलेकहिँ पछुतो पनि लाग्छ रे, कलाकारितामा लागेकोमा । ‘जागिर खाएको भए यतिबेलासम्म पेन्सन भइसक्थ्यो कि ? जीवन चलाउन त गाह्रो हुँदैनथ्यो । म जस्तो निम्न मध्यमवर्गीय मान्छेलाई धेरै गाह्रो रहेछ,’ आफ्नो दुःख सुनाउँदै उनी भन्छन् । आजभोलि उनलाई लाग्छ, कलाकारितामा लाग्ने व्यक्ति अलिकलि सम्पन्न पनि हुनुपर्ने रहेछ ।

‘कलाकारितामा लाग्न अलिकति धनीमानी हुनुपर्दो रहेछ । जसलाई पाँच/छ महिना काम नगरे पनि खान पुगोस् । एकवर्ष काम नगरेपनि खान पुगोस् । शैक्षिक वातावरण पनि राम्रो होस्, त्यस्तो व्यक्तिले भने सजिलै प्रगति गर्न सक्छ,’ सुरवीर भन्छन्, ‘मेरो त निम्न वर्गीय परिवार, एक महिना बिरामी भए, काम भएन भने नुन/तेलको खर्च जुटाउन पनि गाह्रो पर्छ ।’ 

कलाकारितामा तीन दशक बढी बिताएका सुरवीर कुराकानीकै क्रममा आफूले कलाकारितामा लागेर गर्व गर्ने वातावरण बनाउन नसकेको बताउँदै केही चिन्तित देखिए । 

‘म ५० वर्ष पुग्दा समेत बुवा आमाप्रति आश्रित भइरहेको छु । बाआमाले नै बनाएको घरमा बसेर, बाआमाले नै दुःख गरेको खाइरहेको छु,’ उनी थप्छन्, ‘सगर्व मैले यति कमाएँ, यति जग्गा किनेँ, मेरो कमाईले बच्चाहरू पढाएँ भन्ने गर्व गर्ने कामहरू केही गर्न सकेको छैन । हेर्दै जाउँ, काम गर्दै जाँदा भोलिका दिनमा केही गर्न सक्छु कि !’ 

यद्यपि आफूलाई दर्शकले कलाकारका रूपमा चिन्दा भने आनन्द मिल्ने सुरवीर बताउँछन् । ‘बाटोमा हिँडदा तपाईं ‘मेरीबास्सै’को ‘दाह्री बा’ होइन ? भन्नुहुन्छ । गाउँतिर जाँदा कतिले आज मेरो घरमा खाना खाऔं, भन्नुहुन्छ । कलाकारितामा लागेर पैसा कमाउन नसके पनि साथीभाइ त कमाएको छु नि !’ उनले सन्तोष मान्ने ठाउँ यहीँ भेटेका छन् ।

सुरवीरलाई पर्दामा आदर्शवान, चरित्रवान, सुधारवादी भूमिकाहरू गर्न मन पर्छ । कलाकारितामा जोशजाँगर अहिले पनि उत्तिकै छ, र वास्तविक जीवन पनि पर्दाको आफ्नै भूमिकाजस्तो ।

माघ २६, २०७५ मा प्रकाशित

सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार